सामुदायीक सञ्जाल गठन

सामुदायीक सञ्जाल गठन

हस्तराज अधिकारी
२२ मंसिर, २०७३, दैलेख गरिवी निवारण कोषको साझेदारीमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल द्धारा सञ्चालित एकिकृत सामुदायीक विकास परियोजना अन्तर्गत बासी गाविसमा गठित सामुदायीक संस्थाहरुको गाविसस्तरीय सञ्जाल गठन गरिएको छ । सामुदायीक संस्थाहरुको संस्थागत विकास गर्नुका साथै समन्वय र सहकार्यमा सजिलो होस भन्ने उद्धेश्यले सञ्जाल गठन गरिएको हो ।

उक्त गाउ विकास समितिमा १७ वटा सामुदायीक संस्थाहरु रहेका छन् । जसमध्ये ९ पुराना र ८ नयाँ छन् । चालु आर्थिक वर्ष भित्र ३ थप सामुदायीक संस्था गठन गरिने सोसेकका जिल्ला संयोजक मानबहादुर थापाको भनाई थियो । उनले थपे, पुराना सामुदायीक सँस्थाहरुमा ऋण परिचालन, मासिक बचत, ऋण असुली लगायतका गतिविधिहरु नियमित भईरहेका छन् । अब गठन गरिने नयाँ सामुदायीक संस्थाले गाविसका सबै घरधुरी समेटिने थापाको भनाई थियो ।

सामाजिक परिचालन तथा संगठन निर्माणको माध्यमले गरिव घरधुरी पहिचान गरी कार्यक्रम सञ्चालन गरिने कार्यक्रम संयोजक निर्मल अधिकारीले बताए । लगानी गरिएको ऋण असुली तथा परिचालन गर्नु र किसानहरुलाई व्यवसायमुखी बनाउनु आफ्नो मुख्य लक्ष्य रहेको अधिकारीको भनाई थियो । उनले थपे, लक्षित समुदायको आवश्यकताका आधारमा योजना सञ्चालन गरे मात्रै उपलब्धि हासिल गर्न सकिन्छ । गाविसस्तरमा सामुदायीक संस्थाहरुलाई प्रभावकारी र गुणस्तरीय रुपमा सञ्चालन गर्न सञ्जालको महत्वपूर्ण भूमिका रहेको अधिकारीले बताए ।

चौतारी सामुदायीक संस्थाका अविसरा सुनारको अध्यक्षतामा १४ सदस्यीय सञ्जालको गठन गरिएको छ । उक्त सञ्जालको उपाध्यक्षमा नन्दा पोख्रेल, कोषाध्यक्षमा शुक्रा पोख्रेल र सचिवमा शान्ता सुनार रहेका छन् ।

सामुदायीक संस्थाहरुमा राज्यले गरेको लगानी उपलब्धिमुलक हुनुपर्नेमा गाविस सचिव प्रेम विष्टको भनाई थियो । अहिले गाउ विकास समितिमा आउने अनुदान भन्दा सामुदायीक संस्थाहरुको बजेट धेरै छ । उक्त बजेटलाई सहि रुपमा लगानी गर्न सके गरिवी हटाउन सम्भव देखिन्छ । सकारात्मक सोच र सिर्जनशिलताले मात्रै रकमको सहि सदुपयोग हुने सचिव विष्टले बताए ।

प्रतिक्रिया