महिलाहरुको चेतना जगाउनु पर्नेमा जोड

महिलाहरुको चेतना जगाउनु पर्नेमा जोड

दैलेख २२ मंसिर , लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत दैलेखमा पनि विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । जिल्लामा क्रियाशिल सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले विभिन्न गाउँ विकास समितिहरुमा अभियान सञ्चालन गरिरहेका छन् ।
अभियानको अवसरमा दैलेखमा बुधवार जिल्लाका सरकारी तथा गैरसरकारी निकाय, सुरक्षा निकाय, महिला अधिकारकर्मी, नारायण नगरपालिका वडा नं. ६ मा रहेका वादी समुदायका महिलाहरुको उपस्थितिमा लैङ्गिक हिंसा न्यूनिकरणका लागि सरोकारवालाको भुमिका विषयक अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ ।
अभियानको अबसरमा गरिएको अन्तरसंवादका सहभागीहरुले हिंसा महिलामाथि मात्र नभई पुरुष माथि पनि हुने गरेको बताएका छन् । संख्यात्मक हिसावले महिला बढी हिंसामा पर्ने गरेकोले हिंसा न्यूनिकरणका लागि जिम्मेवार निकायहरुले अँझै धेरै सर्तकता अपनाउन सुझाव दिईएको छ । सानै उमेरमा विवाह गर्ने र थोरै सन्तान जन्माउनु पर्छ भन्ने चेतना नभएका कारण महिला हिंसा हुने गरेको सहभागिहरुले बताएका छन् ।
दलित महिला संघ दैलेखको आयोजना तथा संकल्पको आर्थिक सहयोगमा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको अवसरमा यस्तो अन्तरसंवाद गरिएको हो । महिलामाथि हुने दुव्र्यवहार तथा हिंसा न्यूनिकरण गर्नका लागि महिलाको क्षमता तथा चेतना विकासका कार्यक्रमहरु ल्याउनुपर्ने, महिलाहरुले अधिकार माग्ने मात्र होइन पाएका अधिकारहरु सहि रुपमा उपयोग गर्नु पर्ने, विकास निर्माणमा महिलालाई सहभागिको रुपमा मात्र राख्न नहुने जस्ता सुझावहरु सहभागिले दिएका छन् । “घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकासका लागि लैङ्गिक हिंसा रहित समाज” भन्ने मुल नाराका साथ दैलेखमा बिभिन्न गतिविधिहरु संचालन भएका छन् ।
जिल्लामा अहिलेपनि राष्ट्रिय अभियानको अवसरमा महिला हिंसा विरुद्धका कार्यक्रमहरुमा चर्को भाषण गर्ने गरिएको भएपनि अन्य समयमा महिला अधिकार मात्र हैन, बाल अधिकार लगायतका अधिकारका कुराहरु निस्क्रिय रहने गरेकाले पनि समस्या उत्पन्न हुने गरेको छ ।

प्रतिक्रिया