व्यवसायमुखी बन्दै सिलाई कटाई

व्यवसायमुखी बन्दै सिलाई कटाई

एच.एस.थापा
मसिर २४, २०७३, दैलेख बाँसी ४ का छवी दमाईको हरेक दैनिकी विहान ६ बजे देखि शुरु हुन्छ । विहानको गहिरो निद्राबाट नउठेकै कोही सिलाएको कपडा लिन त कोहि नया सिलाउनका लागि उनको आगन भरी ग्राहक भरीभराउ भईसकेका हुन्छन् । बेलुका अवेर सम्म कपडा नाप्न र सिलाउनैमा उनको दिन वित्ने गरेको छ । News chhabi Bansi
केहि वर्ष अगाडी सम्म एउटा मात्रै पुरानो मेशिन थियो । त्यहि पुरानो मेशिनले गुजारा गरेका थिए । गाउमा बालीघरे प्रथा भएको हुदाँ नयाँ ग्राहक आउदैनथे र उनी सँग काम गर्ने नयाँ साधन पनि थिएन । अन्न दिएर काम गराउनेलाई विष्ट भनिदोरहेछ । आधुनिक नयाँ डिजाइनका कपडा सिलाउनु परे विष्टहरु अलि ठुलो बजारमा जाने गर्दारहेछन् । छविले एक दिन सोचे यो बालीघरे प्रथालाई छोडेर नगदमा कारोवार गर्दा आम्दानी पनि बढ्ने र जिवन निर्वाह गर्न सजिलो हुने थियो कि ?
छविले व्यवसायलाई विस्तार गर्ने सोच त बनाए तर पैसाको जोहो गर्न मुश्किल थियो । उनले बनाए अनुसारको योजना पुरा गर्न झण्डै ५० हजार जति लाग्दो रहेछ । गाउको चलन चल्ति अनुसार सयकडा ५ प्रतिशतमा ऋण लिएर व्यवसाय शुरु गर्दा डुविन्छ कि भन्ने डर पनि लागिरहेको थियो ।
त्यतिखेरै गाउमा सामुदायीक संस्था गठन गर्दै सस्तोमा विपन्नलाई ऋण परिचालन गर्न शुरुवात गरिएको थियो । गरिवी निवारण कोषको साझेदारीमा सामाजिक सेवा केन्द्र (सोसेक) ले गठन गरेको मष्टा मन्दिर सामुदायीक संस्थामा छविको श्रीमती पट्टु दमाई जोडिन पुगिन् । गरिव तथा विपन्न भएकाले प्रथम चरणमै ऋण पाउनेमा पट्टु छनौट पनि भईन् । छवि दमाईले भने “सस्तो ब्याजमा २ वर्षका लागि ५० हजार ऋण पाउने कुरा सुन्दा मलाई जिन्दगीमा त्यो भन्दा खुसी अरु केही भएन् ।”
उनले उक्त रकम बाट नयाँ २ वटा सिलाई कटाई मेशिन किने । बालीघरे प्रथा छोडे र नगदमा कारोवार गर्न शुरु गरे । नजिकै बोर्डिङ्ग र उच्च माध्यामिक विद्यालय भएकाले कामको चाप पनि बढ्दै गयो । सानो तिनो काम पट्टुले गर्ने गर्छिन भने ठुलो काम छविले । कहिले काही उनको छोराले पनि काममा सघाउदै आएको छन् ।
सिलाईकटाई व्यवसायबाट वार्षिक १ लाख ५० हजार जति कमाई हुने छविले बताए । अहिले वर्ष भरी खाना पुग्छ । एक छोरालाई बोर्डिङ्ग पढाएका छन् भने अरु ४ सरकारी विद्यालयमै बढछन् । आफुले गरिवीका कारण पढन् नपाएकोमा दुख पाएको बताउने छविले “छोरा छोरीलाई उच्च शिक्षा सम्म पढाउने सोच बनाएका छन् ।”
एक किस्ता बाहेक अरु सबै सावा ब्याज संस्थामा बुझाईसकेको छविको भनाई थियो । उनले थपे, मैले त्यहि ऋण बाट व्यवसाय सञ्चालन गरी प्रगति गरे अरुले पनि राम्रै गरुन् । उनले थपे, गरिवी पैसाको अभावले भन्दा पनि नयाँ सोचाई र विचारको अभावले गर्दा हुदोरहेछ ।

प्रतिक्रिया