अधिकार कार्यान्वयनको खाँचो छ ः प्रजिअ क्षेत्री

अधिकार कार्यान्वयनको खाँचो छ ः प्रजिअ क्षेत्री

दैलेख, मंसिर २५ – दैलेखका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले संविधानमा प्रदत्त अधिकार कार्यान्वयनको खाँचो रहेको बताउनुभएको छ । ६८ औं अन्तरराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा दैलेखमा आयोजित महिला हिंसा विरुद्धको १६ दिने अभियानको समापन कार्यक्रममा उहाँले भन्नुभयो नेपालको संविधान २०७२ जारी भएयता अधिकारको कमी छैन, कार्यान्वयनमा कमी रहेको हुनसक्छ । last JAV dlk (2)
प्रमुख जिल्ला अधिकारी क्षेत्रीले संविधान जारी भएपछि राज्यका हरेक निकायमा महिला, दलित, जनजाति तथा पिछडिएको क्षेत्रको प्रतिनिधित्व र सहभागिताको सुनिश्चितताका लागि समावेशीकरणलाई प्रभावकारी स्थान दिएको प्रष्ट पार्नुभयो । समावेशीकरणको अवसरलाई लक्षित वर्गमा पनि पछि पारिएकाहरुको प्रतिनिधित्व गर्न प्रतिस्पर्धात्मक क्षमता विकास गर्नुपर्ने जरुरी रहेको औल्याउनुभयो ।
कार्यक्रममा स्थानीय विकास अधिकारी डिलाराम पन्थीले महिला हिंसा र मानवअधिकार ज्यादतीका समस्या घरपरिवारमै रहेकोले घरघरमा सचेतना आवश्यकता दर्शाउनुभयो । उहाँले हिंसा वा विभेद भइरहेको इमान्दारिता पूर्वक स्वीकार गर्नुपर्ने बताउनुभयो । स्थानीय विकास अधिकारी पन्थीले ती गल्ती स्वीकारिएमा मात्र सुधारको सुरुवात हुने विश्वास व्यक्त गर्नुभयो ।
last JAV dlk (1)नेपाली काँग्रेसका जिल्ला सहसचिव रत्न शाहीले मानवअधिकार एकअर्काका परिपूरक भएकाले आफूले अधिकारको माग गर्दा कमजोर पक्षको हित र कल्याणलाई ध्यान दिनुपर्ने बताउनुभयो । नेकपा एमालेका सचिवालय सदस्य प्रेमबहादुर बुढाले २०६२÷०६३ को जनआन्दोलनको बलमा प्राप्त भएको संविधानको सार्वभौमतालाई जोगाउन नागरिकहरुलाई प्रदत्त अधिकारको प्रत्याभूतीमा राज्यका निकायहरुले संवेदनशील हुनुपर्ने सुझाव दिनुभयो ।
नेकपा माओवादी क्रान्तिकारीका संयोजक दिपक शाहीले मानवअधिकार सबैका लागि भएकोले पिछडिएको जाति, वर्ग क्षेत्रलाई त्यस्तो अधिकार उपभोग गर्न सक्ने बनाउनु टट्कारो आवश्यकता दर्शाउनुभयो । कार्यक्रममा नेपाल बार एशोसियनका अध्यक्ष यामराज थापा, नेपाल मानवअधिकार संगठनका अध्यक्ष दीर्घराज अधिकारीले पनि बोल्नुभएको थियो ।
त्यसबखत महिला विकास अधिकृत बिश्वमणी जोशी, महिला नेतृहरु सावित्री मल्ल, सीता राना, शारदा श्रेष्ठ लगायतले महिला हिंसा विरुद्धको १६ दिने अभियान र अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अन्तरसम्वन्ध तथा जिल्लाको अवस्था चर्चा गर्नुभएको थियो ।
यो वर्ष महिला हिंसा विरुद्धको १६ दिने अभियानको नारा ‘घर शान्ति नै विश्व शान्ति’ रहेको थियो भने अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका लागि चाहिं ‘व्यक्तिको अधिकारको लागि आजैबाट उठौं’ तय गरिएको थियो ।

प्रतिक्रिया