रेमिट्यान्स आप्रबाहमा सुधार, शोधनान्तर पनि बचतमा, मुद्रास्फीति घट्यो

रेमिट्यान्स आप्रबाहमा सुधार, शोधनान्तर पनि बचतमा, मुद्रास्फीति घट्यो

 नेपाल राष्ट्र बैंकले  चालु आर्थिक वर्षको पहिलो तीन महिनासम्म लगातार घाटामा रहेको चालु खाता बचतमा फर्केको र शोधनान्तर स्थिति बचतमा रहेकोले २०७४ मा मुलुकको समग्र आर्थिक स्थिति सुदृढ रहने आँकलन गरेको छ । चालु आर्थिक बर्षको कात्तिक मसान्तसम्मको विवरण सार्वजनिक गर्दे राष्ट्र बैंकले मुद्रास्फिर्ति कमी आएको र विप्रेषण आप्रबाहमा सुधार आएको जनाएको छ ।

राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक बर्षको पहिलो चार महिना अर्थात कात्तिक मसान्तसम्मको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सार्वजनिक गर्दै अघिल्ला तीन महिनाहरुमा लगातार घाटामा रहेको चालु खाता २०७३ कात्तिकमा १ अर्ब ८६ करोडले बचतमा फर्केको जनाएको छ ।

त्यसैगरी, अघिल्लो वर्षको चार महिनासम्ममा ८३ अर्ब ७० करोडले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा २१ अर्ब ९८ करोडले बचतमा रहेको छ ।

२०७३ असार महिनादेखि घट्दो क्रममा रहेको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २०७३ असोज महिनामा ६.७ प्रतिशत रहेकोमा २०७३ कात्तिक महिनामा ४.८ प्रतिशतमा ओर्लेको छ । अघिल्लो महिनाको तुलनामा मुद्रास्फीति १.९ प्रतिशतले झरेको हो ।

यस्तो मुद्रास्फीति २०७३ असार महिना र २०७२ र कात्तिक महिना दुबैमा १०.४ प्रतिशत रहेको थियो । गत वर्षको तुलनामा समीक्षा अवधिमा खाद्य तथा गैर–खाद्य मुद्रास्फीति दुबैमा सुधार आएकोले समग्र उपभोक्ता मुद्रास्फीति घट्न गएको राष्ट्र बैंकको भनाई छ ।

त्यस्तै समीक्षा अवधिमा विप्रेषण आप्रवाह ७.८ प्रतिशतले वृद्धि भई २ खर्ब ३२ अर्ब १४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.४ प्रतिशतले वृद्धि भएको थियो । तर विप्रेषण आप्रवाहलाई प्रत्यक्ष प्रभाव पार्ने वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकहरुको संख्यामा कमी आएको छ ।

२०७४ मा मुलुकको समग्र आर्थिक स्थिति सुदृढ रहने  कारण

भूकम्प पछिको पुनर्निर्माण अन्तर्गत आवसीय घर निर्माणको लागि दिइएको अनुदान, उर्जा आपूर्तिमा भएकोसुधार र कृषि, उद्योग तथा पर्यटन क्षेत्रमा देखिएको सुधारबाट आर्थिक वर्ष २०७४ मा समग्र आर्थिक स्थिति सुदृढ रहने अपेक्षा राष्ट्र बैंकले गरको छ । बर्षे बालीको उत्पादन उत्साहप्रद रहेकोले कृषि क्षेत्र अपेक्षा गरिए भन्दा सुदृढ हुने आँकलन पनि राष्ट्र बैंकको छ ।

विकास आयोजनाहरुको सफल कार्यान्वयन, सरकारको नेपाल राष्ट्र बैंकसँग रहेको नगद मौज्दातको उपयोग र वाह्य क्षेत्रको अवस्थामा मुलुकको आर्थिक वृद्धिको परिदृष्य निर्भर रहने छ । हालसालै भारत सरकारले उच्च दरका भारतीय बैंक नोटको अमौद्रिकरण गरेबाट पर्यटन तथा कृषिजन्य बस्तुहरुको निर्यातमा तत्कालिन असर पर्ने देखिन्छ ।

मुद्रास्फीतिमा आएको क्रमिक सुधारले सर्वसाधारणलाई राहत पुग्ने तथा औद्योगिक उत्पादन तथा व्यवसायका लागि सकारात्मक वातावरण वन्ने अपेक्षा गरिएको छ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनासम्म लगातार घाटामा रहेको चालु खाता बचतमा फर्केको र शोधनान्तर स्थिति बचतमा रहेकोले मुलुकको वाह्य क्षेत्र स्थिति सुदृढ भएको छ ।

मेराेलगानीवाट साभार गरिएकाे हाे

प्रतिक्रिया