वियाडाखोला माथिल्लो पिरु खानेपानी योजना क्षेत्र (दुल्लु २ र ३) नमुना पूर्ण सरसफाई गाउँ

वियाडाखोला माथिल्लो पिरु खानेपानी योजना क्षेत्र (दुल्लु २ र ३)  नमुना पूर्ण सरसफाई गाउँ

दैलेख, पुस ४ । दुल्लु नगरपालिकाको वडा नम्बर २ र ३ मा पर्ने वियाडाखोला माथिल्लो पिरु खानेपानी योजना क्षेत्रका ३ वटा टोललाई नमुना सरसफाई गाउँ घोषणा गरिएको छ । राले, बड र अमेन टोललाई पूर्ण सरसफाई गाउँ घोषणा गरिएको हो ।

post-odf-biyada शनिबार सियालास्थित भैरव आधारभुत विद्यालयको प्रांगणमा आयोजित एक विशेष कार्यक्रमका बीच जिल्ला विकास समिति दैलेखका प्रतिनिधि शम्शेरबहादुर शाहीले ती गाउँलाई पूर्ण सरसफाई गाउँ घोषणा गरे । उनले ती गाउँका ८५ घरधुरीमा पूर्ण सरसफाईका ६ वटै सूचक पूरा भएको प्रमाणीकरण गर्दै ती गाउँलाई सरसफाई घोषणा गरेका हुन् । जलस्रोत व्यवस्थापन कार्यक्रम हेल्भेटास स्वीस इन्टरकाेअपरेशन नेपाल, गरिवी निवारणा काेष नेपाल, स्थानीय विकास काेषा र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको साझेदारीमा सञ्चालित वियाडा खोला माथिल्लो पिरु खानेपानी तथा सरसफाई आयोजनाले ती गाउँका हरेक घरमा शुद्ध खानेपानी पुर्याएको छ । यस्तै हरेक घरमा फिल्टर गरिएको पानी, हात धुने, गाउँटोल, सार्वजनिक स्थानसमेत सफा राखिएको छ ।

कार्यक्रममा जिविस प्रतिनिधि शाहीले सरसफाई गाउँ घोषणा गरेरमात्र नहुने भन्दै पूर्ण सरसफाईलाई निरन्तरता दिनुपर्ने बताए । उनले पूर्ण सरसफाई गाउँ घोषणा भएकोमा शुभकामना दिँदै गाउँ टोल सफा भए त्यहाको सामाजिक स्तरसमेत माथि उठ्ने बताए । उनले घरेलु उत्पादन उपभाृग गर्नुपर्ने भन्दै चाउचाउको सट्टा आलु खानुपर्ने बताए । उनले गाउ सफा हुँदा सबैतिर राम्रो हुने भन्दै सार्वजनिक स्थानको सरसफाईमासमेत ध्यान दिनुपर्ने बताए । उनले मध्यपश्चिमकै पहिला पूर्ण सरसफाई गाउँ सियाला भएको भन्दै यस गाउँको भ्रमणमा अन्य क्षेत्रबाटसमेत आउने गरेको बताए । उनले आगामी दिनमा सियाला क्षेत्रलाई पर्यटनमत्रै बनाउनुपर्नेसमेत बताए । उनले यो गाउँमा होम स्टेको समेत व्यवस्था हुन सके समुदाय थप लाभान्वति हुने बताए ।

post-odf-biyada-1कार्यक्रममा सोसेसका संस्थापक अध्यक्ष हीरासिंह थापाले सरसफाईलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने भन्दै यो गाउँबाट अन्य गाउले सिक्ने मौका पाएको बताए । उनले सियालामा स्वीस राजदुतलेसमेत भ्रमण गरेको स्मरण गर्दै सियाला क्षेत्र पर्यटकका आकर्षणको केन्द्र बन्न सक्ने बताए । फरक प्रसंगमा हुने यस क्षेत्रलाई बाल विवाह मुक्त बनाउनुपर्नेसमेत बताए । उनले २० वर्ष पूरा नभइ विवाह गरे सो दण्डनीय हुने भन्दै २० वर्ष पुरा नभई विहे गर्न नहुने बताए । उनले वाल विवाह कानुनीरुपमा दण्डनीय भएको भन्दै बाल विवाहले सामाजिक असरसमेत पर्ने बताए । उनले सानै उमेरमा विवाह हुँदा केटा केटीको स्वास्थ्य, शिक्षामा नकरात्मक असर पर्ने बताए । उनले बाल बिबाह हुँदा सम्बन्ध विच्छेदसमेत हुने जोखिम रहने बताए ।

कार्यक्रममा नेपाली काँग्रेस दुल्लु सभापति टंक रिमाल, माओवादी केन्द्र दुल्लु अध्यक्ष हंस खड्का, राप्रपा दुल्लु अध्यक्ष गणेश रेग्मीलगायतले पूर्ण सरसफाईलाई निरन्तरता दिनुपर्ने बताएका थिए । उनीहरुले दुल्लु नगरपालिकालाई नै पूर्ण सरसफाई नगरपालिका बनाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा ती गाउँलाई पूर्ण सरसफाई बनाउन सहयोग गर्ने विभिन्न संघसंस्था तथा व्यक्तिलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया