नेपाली बिउबिजन मासिँदैछ

नेपाली बिउबिजन मासिँदैछ

६ पुस, काठमाडौं । नेपाली समाजमा एउटा पुरानो लोकोक्ति छ- ‘असारैमा बिउजति निलेर पछि फेर् के खानु मंसिरैमा !’ शायद यो पद्यात्मक लोकोक्ति बनाउनेहरुले आजको दिनको कल्पना शायदै गरेका थिए । नेपालमा अहिले विभिन्न बालीनालीका स्वदेशी बिउबिजनहरु मासिने अवस्थामा पुगेका छन् । नेपाल हरेक क्षेत्रमा परनिर्भर बन्दै गइरहेको छ । ‘हरियो वन नेपालको धन’ भनिने देशमा काठपात पनि विदेशबाटै आउने गरेको छ ।

जलस्रोतको धनी देशमा विजुलीसमेत भारतबाट आयात गर्नुपर्ने अवस्था छ । र, अब नेपालको बिउ बिजन नै मासिने र बिदेशी बिउको हस्तक्षेप बढ्ने क्रम चुलिएको छ । नेपाली बिउ बिजन मासिने क्रम कतिसम्म बढेको छ भन्ने तथ्य यो चार्टबाट स्पष्ट हुन्छ

नेपाल कृषि अनुसन्धान परिषदले बिउ उत्पादनमा देखाएको निष्क्रियता र बिउका बिक्रेता एवं वितरकहरुमा पलाउँदै गएको कमिसनको मोहका कारण देशल यसरी बिउ गुमाउँदै जान थालेको हो ।

स्थानीय स्तरमा उपलब्ध हुने नेपाली बिउ बिजनहरु लोप भएर जान थालेका छन् । कृषकहरुमा हाइब्रिड बिउको मोह बढ्दै जान थालेपछि स्थानीय स्तरमा कैयन जातका बिउहरु लोप नै भइसकेका छन् ।

बिउका लागि बिदेशिने रकम बढ्यो

बिउको आयातकै लागि पनि देशबाट ठूलो मात्रामा रकम बिदेशिने गरेको देखिएको छ । यस्तो बिदेशिने रकम प्रत्येक वर्ष ठूलो मात्रामा बृद्धि भएको छ ।

बिउगुणस्तर केन्द्रले उपलब्ध गराएको आकँडा अनुसार आर्थिक वर्ष ०७१/०७२ मा मात्रै बिउ आयातका लागि देशबाट १ अर्ब २ करोड ५४ लाख रुपैयाँ बिदेशिएको छ । यसमध्ये मुख्यतः मकै र धानको बिउको आयातबाट ठूलो रकम बाहिरिने गरेको छ । आर्थिक वर्ष ०७१ /०७२ मा ३७ करोडको मकैको बिउ उत्पादन गरिएको थियो भने ३८ करोडको धानको बिउ उत्पादन गरिएको थियो ।

देशमै उत्पादन गर्न सकिने यस्ता बिउमा समेत परनिर्भरता बढ्दै गएको छ । परनिर्भरतासँगै देशमा बिउहरु समेत लोप हुन थालेका छन् । स्थानीय स्तरका बिउबिजनहरु छायामा परेका छन् भने भारत तथा चीनबाट आयात हुने हाइब्रिड बिउ प्राथमिकतामा परेका छन् ।

तरकारीजन्य वस्तुहरुमा हाइब्रिडको प्रयोगले उत्पादन त निकै बढेको छ । तर, यस्ता बिउको आयातमा भने भारतमा नै भर पर्नुपर्ने स्थितिको सिर्जना भएको छ ।

भोलिका दिनमा देशमा बिउको लोप र अन्तर्राष्ट्रिय मुलुकहरुले बिउको मूल्य बढाएसँगै देशबाट बाहिरिने रकम झनै बृद्धि हुने देखिन्छ ।

देशमै रहेका विभिन्न जातका बिउहरुको संयोजन गरी नयाँ खालका बिउहरु अर्थात हाइब्रिड बिउको उत्पादन गर्ने भनी गठन भएको कृषि अनुसन्धान परिषदले पनि आवश्यक मात्रामा बिउ उत्पादन गर्न सकेको छैन ।

धान र मकैको अधिकांश बिउ अहिले भारतबाट आयात हुने गरेको बिउ गुणस्तर नियन्त्रण केन्द्रले जनाएको छ ।

बिउ गुणस्तर केन्द्रका बरिष्ठ बिउ बिकास अधिकृत महेन्द्रप्रसाद खनालका अनुसार बर्षेनी बिउ आयात बढेको छ ।

धान र मकैको बिउमा भारतको भर

बिशेषगरी आर्थिक वर्ष ०६७ /०६८ देखि सुरुवात भएको बिउ आयातले अहिले पूरै देशलाई नै गाँजिसकेको छ । विज्ञहरुका अनुसार अनदी, काला नामक र साठिया नामक धानका बिउँहरु झन्डै लोप हुने स्थितिमा पुगेका छन् ।

अहिलेका हाइब्रिड धानभन्दा कैयन छिटो पाक्ने बिशेषता रहेको साठिया धान अहिले लोप हुने स्थितिमा पुगेको छ । साठीयालाई अन्य धानको बिउसँग मिलाएर नयाँ जातको अर्थात हाइब्रिड बिउ निकाल्न सकिने भए पनि यसमा सरकारले चासो बढाएको छैन । कृषि अनुसन्धान परिषद धानको बिउ उत्पादनमा उदास रहेका कारण नेपालमा हालसम्म हाइब्रिड धानको बिउ नै उत्पादन भएको छैन ।

कृषि अनुसन्धान परिषदले मकैका केही जातका बिउहरु उत्पादन गरेको भए पनि बिउका बिक्री वितरकहरुले भारतीय बिउबिजनको उपयोग गर्न कृषकहरुलाई सुझाव दिने गरेका कारण ती बिउको पनि खासै प्रयोग बढ्न सकेको छैन ।

जापानबाट बिउ आउँछ, नेपाली विज्ञ बेरोजगार छन्

अहिले देशमा भारत, चीन जापान कोरिया तथा युरोपियन मुलका केहि राष्ट्रहरुबाट समेत बिउको आयात हुने गरेको छ ।

बिउ गुणस्तर केन्द्रका अनुसार आर्थिक वर्ष ०७१/०७२ मा देशमा २७ सय ४५ मेट्रिक टन बिउ आयात भएको छ । आर्थिक वर्ष ०६७/०६८ देशमा ५ सय ५४ मेट्रिक टनमात्रै बिउ आयात भएको थियो ।

बिउ गुणस्तर केन्द्रका खनालले भने ‘वर्षेनी बिउको आयात बढेर गएको छ, नेपालमै पनि हाइब्रिड खालका बिउ उत्पादनहरु बढाउन पर्ने हो, तर त्यसो हुन सकेको छैन ।’

सरकारले कृषि अनुसन्धानमा संलग्न बैज्ञानिक तथा प्राविधिकहरुलाई विशेष सुविधा उपलब्ध गराउन नसकेका कारण यस्ता दक्ष जनशक्ति दिनदिनै विदेश पलायन हुने क्रम बढेको छ ।

सवारी साधन आयात तथा तथा यसका लागि आवश्यक इन्धनको समेत आयातका कारण फैलिँदै गएको ब्यापार घाटालाई बिउको आयातले समेत थप बढाउने देखिन्छ ।

बिउका बिक्रेता एवं बितरकहरुले बिदेशी बिउबाट नाफा धेरै पाउने भएपछि कृषकहरुलाई स्वदेशी भन्दा पनि विदेशी बिउको उपयोग गर्न सुझाव दिने गरेको विज्ञहरुको चिन्ता छ ।

प्रतिक्रिया