प्रत्यक्ष निर्वाचित कार्यकारी जरुरी : भट्टराई

प्रत्यक्ष निर्वाचित कार्यकारी जरुरी : भट्टराई

सुर्खेत, पुस ६ । नया“ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था नहुञ्जेल मुलुकले राजनीतिक स्थिरता नपाउने बताएका छन् । ‘संविधान संशोधन गर्दा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने प्रावधान राखौं’ उनले भने, ‘विस्तारै जनमत पनि बढिरहेको छ । एमाले, कांगे्रसभित्रका नेताहरुले समेत संविधान जारी गर्दा गल्ती गरिएछ भन्ने अनुभूति गरिसकेका छन् ।’ विगतमा कांगे्रसले नमानेकै कारण प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था हुन नसकेको बताए । ‘कांगे्रसले लोकतन्त्र भनेकै पुरानै संसदीय व्यवस्था बुझ्यो’ उनले भने ।

सुर्खेतको वीरेन्द्रनगरमा बुधबार सञ्चारकर्मीसंग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले कुनैपनि मुलुकको सम्वृद्धि शासकीय प्रणालीमै निर्भर रहने धारणा राखे । सरकारले संविधान संशोधनको प्रस्तावमा प्रतिपक्षी एमालेको राय लिन नसक्दा समस्या बल्झिएको बताए । ‘अहिले दर्ता गरेको प्रस्तावले समस्या समाधान ह“ुदैन् । बरु परिमार्जन गरौं । त्यही भएर मैंले १० प्रदेशमा जानु उपर्युक्त हुन्छ भनेको हु“’ भट्टराईले भने, ‘यदि १० प्रदेशमामा नजाने हो भने कैलाली, कञ्चनपुरदेखि नवलपरासीसम्मको थारु बाहुल्य क्षेत्रलाई एउटै प्रदेश बनाऔं ।’ एक अर्को प्रश्नमा नेता भट्टराईले हरेक परिवर्तनलाई लिएर विदेशीको भूमिकासंग जोड्ने प्रचलन पुरानै भएको बताए । ‘देशभित्रका पश्चगामी शक्तिले हरेक अग्रगामी परिवर्तनलाई स्विकार्न सक्दैनन् । उनीहरुले नै यस्ता आरोप लगाउने गर्छन् । गणतन्त्र भारतले ल्याइदिएको भन्ने सुनिन्छ । यस्तै आरोप पश्चगामी शक्तिले लगाउने गर्छन् ।’

प्रतिक्रिया