दैलेखमा १७ करोडको सुन्तला उत्पादन

दैलेखमा  १७ करोडको सुन्तला उत्पादन

विजय शर्मा

दैलेख पुस ८ । पुस–दैलेखमा यो वर्ष करीव १७ करोड रुपैया वरावरको सुन्तला उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार गतवर्ष १० करोड वरावरको सुन्तला निर्यात भएको दैलेमा यस वर्ष करिव १७ करोड वरावरको सुन्तला उत्पादन भएको अनुमान छ ।
गतवर्ष जिल्लामा १ हजार ५ सय ७६ हेक्टरमा क्षेत्रफलमा सुन्तला खेती गरिएको भएपनि ५ सय ८२ हेक्टर क्षेफलवाट ५ हजार ८ सय ६४ मेक्ट्रिकटन सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ । गत वर्षको तुलनामा जिल्लामा यस वर्ष ०.५ प्रतिशतले मात्र सुन्तला उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय दैलेखका योजना अधिकृत राजु भुजले बताए । उनका अनुसार यस वर्ष ५ सय ८५ हेक्टर क्षेत्रफलमा फलेको सुन्तलावाट ५ हजार ८ सय ८६ मेक्ट्रिकटन उत्पादन भएको हो । विगतका वर्षहरुमा भन्दा तुलनात्मक रुपमा गत वर्ष दैलेखमा सुन्तला उत्पादनमा वृद्धि भएपनि यो वर्ष सुन्तलामा फैलीएको रोगले गर्दा ०.५ प्रतिशतले मात्र वृद्धि भएको अधिकृत भुजले बताए ।
जिल्लामा १७ करोड रुपैया वरावरको सुन्तला उत्पादन भएपनि यस वर्ष करिव १२ करोडको सुन्तला निर्यात हुने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालय दैलेखले जनाएको छ । सो कार्यालयका अनुसार उत्पादनको ६० प्रतिशत सुन्तला जिल्ला वाहिर निर्यात र करीव ४० प्रतिशत जिल्लामै खपत हुने गरेको छ ।
सुन्तला उत्पादनको मुख्य पकेट क्षेत्र र व्यवसायिक रुपमै दैलेखको दुल्लु, छिउँडी, गमौडी र सेर्माकोट क्षेत्रमा सुन्तला बढी उत्पादन भइरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । त्यस्तै जम्भुकाँध, चामुण्डा र विशाला लगाएतका क्षेत्र व्यवसाय उन्मुख क्षेत्र रहेको जनाइएको छ । यसैगरी सुन्तला उत्पादन बढाउन जिल्ला कृषि विकास कार्यालय दैलेखले यस वर्षदेखि १ सय ६० हेक्टर क्षेत्रफलका लागि ५० प्रतिशत अनुदानमा कृर्षकहरुलाई ४८ हजार सुन्तलाको वेर्ना उपलव्ध गराउने तयारी गरेको छ ।
जिल्लामा सुन्तला उत्पादनमा वृद्धि ल्याउन यस वर्षदेखि विभिन्न योजना अगाडि बढाइने योजना अधिकृत भुजले बताए । ‘सुन्तलाको लागि राम्रो हावापानी भएपनि प्रर्याप्त मात्रामा सुन्तला उत्पादन नहुनु पुराना वगैंचाहरुको व्यवस्थापनमा कमिले गर्दा हो’ अधिकृत भुजले भने, ‘उत्पादनमा वृद्धिका लागि यस वर्ष हामिले वाली उपचार शिविर, समस्या निदान अभियान र काँटछाँटको अभियान सञ्चालनमा ल्याउन लागेका छौं ।’ साथै सुन्तला वालीमा क्षेत्र विस्तार तथा वजारीकरणको लागि दैलेखमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना संचालनको तयारी भएको अधिकृत भुजले बताए । जिल्लामा उत्पादित सुन्तला स्थानीय बजारका साथै सुर्खेत, नेपालगञ्ज, वुटवल, काठमाण्डौं लगायतका जिल्लाहरुमा निर्यात हुने गरेको छ ।

प्रतिक्रिया