शिक्षकको वार्षिक तलब १७ हजार ५ सय मात्रै

शिक्षकको वार्षिक तलब १७ हजार ५ सय मात्रै

दैलेख -चामुण्डा गाविस वडा नं २ स्थित पुनडाडामा रहेको सरस्वती आधारभूत विद्यालयका शिक्षकहरुको वार्षिक तलब १७ हजार ५ सय मात्रै रहेको छ । उक्त तलबलाई महिनामा गणना गर्दा प्रतिमहिना १४ सय ५८ हुन आउछ भने प्रति दिनको पारिश्रमिक ४८ रुपैया पर्छ । जिल्ला शिक्षा कार्यालयबाट प्राप्त हुने वार्षिक ७० हजार पिसिएफ अनुदान ४ जना शिक्षकले बाडेर खाने गरेका छन् । उक्त विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययन÷अध्यापन हुने गरेको छ । जिल्ला शिक्षा कार्यालयले अनुदान पनि आर्थिक वर्षको मसान्तमा मात्रै उपलब्ध गराउछ । चालु आवको श्रावण देखि उक्त विद्यालयका शिक्षकहरुले तलब सुविधा लिन पाएका छैनन् । पहिलो चौमासिक भित्र कुनै पनि शिक्षकले तलव खाना नपाए पछि चाडपर्व रमाइलो सँग मनाउन नपाएको उक्त विद्यालयका प्रधानध्यापक टेकबहादुर पुन मगरले बताए । भोको पेटलाई लोकतन्त्र भन्दा पहिला खानाको आवश्यकता पर्छ । शिक्षक कर्मचारीको सुविधा विना विद्यालयमा गुणस्तरीय शिक्षा दिन र सिकाई उपलब्धिमा बृद्धि गर्न असम्भव जस्तै भएको प्रअ पुन मगरको भनाई थियो ।
अधिकाँस जनजातिको वस्ति रहेको उक्त स्थानमा विद्यालयको समस्याको बारेमा बोलिदिने नेतृत्व पनि छैन् । जिल्लाबाट प्राप्त हुने सेवा सुविधाहरु पहुच र शक्तिका आधारमा वितरण गरिन्छ । भवन अभाव हुदाँ २ कक्षालाई एउटै कोठामा राखेर पढाउने गर्दछन् । विद्यालयमा समस्यै समस्य छ । हाम्रो आवाज सुनिदिने कोहि नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थान बहादुर रानाले बताए । अहिले गाउमा विकासे काम गर्ने अदक्ष ज्यामीले प्रतिदिन ३५० र दक्ष ज्यामीले ७ सय सम्म कमाउने गर्छन् । तर जसको हातमा भविश्यका कर्णधार बनाउने बालबालिकाको जिम्मेवारी छ उसले दिनमा १ सय पनि कमाउन पाउदैन् भने कसरी विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सकिन्छ भनी रानाले प्रति प्रश्न गरेका थिए ।
जगनाथ गाविस वडा नं ३ स्थित भगवती आधारभूत विद्यालयको पनि त्यस्तै समस्या भएको विद्यालय व्यवस्थापन समितिका सदस्य गणेश बुढाले बताए । कक्षा १ देखि १० सम्म अध्यन अध्यापन गरिने उक्त विद्यालयमा निम्न माध्यामिक तहका २ जना राहत बाहेक अन्य कुनै शिक्षक दरबन्दिको व्यवस्था नभएको बुढाको भनाई थियो । उनले थपे, कक्षा ६ देखि १० सम्म पढाई शुरु भएकै ७ वर्ष हुन लाग्यो तर अहिले सम्म विद्यार्थी र कक्षाको अनुपातमा शिक्षक दरवन्दिको व्यवस्था हुन सकेन । उक्त विद्यालयमा पनि वार्षिक रुपमा जाने केही अनुदानलाई बाडीचुडी खाने गरेका छन् । सम्बन्धित निकायले विद्यालयप्रति चासो नदिदा अभिभावक मर्कामा परेको बुढाले गुनासो गरे ।
अव्यवस्थित रुपले आफ्नो मान्छेलाई जागिर खुवाउन खोलिएका विद्यालयलाई विद्यार्थी संख्याको आधारमा मर्ज नगरी शिक्षक दरवन्दिको उचित व्यवस्थापन नगर्ने हो भने भविश्यमा शैक्षिक क्षेत्रले ठुलो समस्या झेल्नुपर्ने शिक्षा क्षेत्रका जानकारहरुको भनाई छ ।

प्रतिक्रिया