स्थानीयका कारण बाँके राष्ट्रिय निकुञ्जमा हात्तीसार निर्माण अलपत्र

स्थानीयका कारण बाँके राष्ट्रिय निकुञ्जमा हात्तीसार निर्माण अलपत्र

विश्वराज पछल्डङ्ग्या
नेपालगन्ज, २१ पौष–हात्तीसार राख्ने विषयमा स्थानीय वीच विवाद बल्झिएपछि बाँके राष्ट्रिय निकुञ्जको योजना अलपत्र परेको छ । बाँके राष्ट्रिय निकुञ्जमा १० वटा हात्तीको दरवन्दी छ । निकुञ्ज प्रशासनका अनुसार हालसम्म ४ वटा हात्ती बर्दिया राष्ट्रिय निकुञ्जबाट ल्याइएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जमा हात्ती सफारी गर्न स्वदेशी पर्यटक हात्तीमा चढ्दै ।
बर्दिया राष्ट्रिय निकुञ्जमा हात्ती सफारी गर्न स्वदेशी पर्यटक हात्तीमा चढ्दै ।
बर्दिया राष्ट्रिय निकुञ्जमा हात्ती सफारी गर्न स्वदेशी पर्यटक हात्तीमा चढ्दै ।
बर्दिया राष्ट्रिय निकुञ्जमा हात्ती सफारी गर्न स्वदेशी पर्यटक हात्तीमा चढ्दै ।

निकुञ्जले बर्दियाबाट ल्याएको हात्ती महादेवपुरी गाविसका बुच्चापुरमा अस्थायी रुपमा राखेपछि स्थानीय वीच नै विवाद बल्झिएको छ । तर, निकुञ्जले बुच्चापुरमा हात्तीका लागि चाहिने पानी र घाँस प्रयाप्त नभएकोले महादेवपुरी गाविसको चुङ्गई नालालाई स्थायी हात्तीसारको रुपमा स्थापना गर्ने निर्णय पहिले नै गरिसकेको छ । ‘बुच्चापुरलाई हालसालका लागि मात्र ब्यवस्था गरिएको हो, तर हात्ती राखिसकेकोले यहाँ पनि हात्तीसार हुनुपर्छ भन्ने माग स्थानीयको छ,’ बाँके राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत लाल बहादुर भण्डारीले भने ।
हात्तीलाई भूँइ घाँस, डाले घाँस, पिउन र नुहाउनका लागि पानी धेरै चाहिने भएकोले चुङ्गई नालालाई केन्द्रले नै छनौट गरेको भण्डारीले बताए । उनले दुवै ठाउँका बासिन्दाले आ–आफ्नो ठाउँमा हात्तीसार हुनुपर्ने अडान राखेपछि निकुञ्ज अलमलमा परेको बताए ।

स्थानीयको सहमतिमा मात्र संरचना निर्माण
बर्दिया राष्ट्रिय निकुञ्जबाट ४ वटा हात्ती ल्याएर हात्ती सफारी गराउने लक्ष्य लिएपनि महादेवपुरी गाविस बुच्चापुर र चङ्गई नालाका स्थानीय वीचको विवादले भौतिक पूर्वाधार निर्माणमा समेत बाधा पुगेको छ । ‘स्थानीयले आ–आफ्नो दावी नछोडेकोले भौतिक पूर्वाधार निर्माणमा ढिलाई भएको छ,’ भण्डारीले भने ।
उनले केन्द्रको निर्णय बमोजिम चङ्गई नालामा मचान र हात्ती बस्ने टहरा (सेड घर) निर्माणका लागि रकम विनियोजन भइसकेको भएपनि हात्तीसारका लागि निकुञ्जले काम अगाडी बढाउन सकेको छैन । उनले स्थानीयको मागलाई मध्यनजर गरी दुवै ठाउँको पुनः अध्ययन, स्थानीयसँगको छलफल र अन्तरक्रियापछि मात्र हात्तीसार निर्माण गरिने बताए । ‘के कारणले हात्तीसार उपयुक्त छ भन्ने कुरा हामीले स्थानीयलाई बुझाएर मात्र भौतिक पूर्वाधार निर्माण गर्छौैैं,’ संरक्षण अधिकृत भण्डारीले भने, ‘स्थानीयको सहमतिमा मात्र पूर्वाधार निर्माण गरिनेछ ।’

संरचना निर्माण पछिमात्र हात्तीसफारी
हात्तीका लागि चाहिने पूर्वाधार निर्माण नहुँदासम्म हात्ती सफारी गराउन नसकिने निकुञ्जले जनाएको छ । यसै आर्थिक वर्षमा भौतिक पूर्वाधार निर्माण गरिसक्नु पर्ने छ । तर, अहिलेसम्म भौतिक पूर्वाधारका लागि कुनै काम अघि नबढेको बाँके राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत भण्डारीले जानकारी दिए । ‘हात्तीको लागि खाने र बस्ने ब्यवस्था नहुँदासम्म सफारी गराउन सकिदैन, काम लगाएपछि राम्रोसँग खाने र बस्ने ब्यवस्था हुनुपर्छ,’ उनले भने ।
उनले यसै आर्थिक बर्षको अन्त्यतिर भौतिक पूर्वाधार निर्माण भइसक्ने बताए । यहि आर्थिक बर्षको जेष्ठसम्म भौतिक पूर्वाधार निर्माण गरेर असारदेखि सफारीको ब्यवस्था गर्ने तयारी गरेका छौँ, स्थानीयले साथ दिए त्योभन्दा अघि सफारी गराउन सकिन्छ,’ भण्डारीले भने ।

खड्गवारको संरचना निर्माण पनि अलपत्र
बाँके राष्ट्रिय निकुञ्जले कोहलपुरको खड्गवारमा पनि हात्तीसार राख्ने निकुञ्जको योजनामा छ । तर, उक्त स्थानमा पनि निकुञ्जले भौतिक पूर्वाधार स्थापना गर्न सकेको छैन । दुवै ठाउँमा सँगसँगै मचान र हात्ती बस्ने टहरा निर्माण गर्ने योजना भएकोले खड्गवारमा पनि भौतिक संरचना निर्माण नगरिएको भण्डारीले जानकारी दिए ।
उनले दुवै ठाउँमा जेष्ठ मसान्तभित्र भौतिक संरचना निर्मार्ण पूरा हुने दावी गरे । खड्गवारमा विवाद नभएकोले छिट्टै निर्माण हुने बताउँदै उनले महादेवपुरीको समस्या पनि छिट्टै समाधान हुने स्पष्ट पारे । ‘पर्यटकले असार–साउनदेखि बाँकेको दुई ठाउँबाट हात्ती सफारी गर्न पाउने छन्,’ उनले भने ।

प्रतिक्रिया