मध्यपश्चिममा बढ्दै सडक दुर्घटना सडक दुर्घटनामा परी ६ महिनामा ११६ जनाको मृत्यू, २३१ जना घाइते

मध्यपश्चिममा बढ्दै सडक दुर्घटना सडक दुर्घटनामा परी ६ महिनामा ११६ जनाको मृत्यू, २३१ जना घाइते

विश्वराज पछल्डङ्ग्या
नेपालगन्ज, ३ माघ सडक दुर्घटनामा परी ६ महिनाको अवधिमा मध्यपश्चिममा ११६ जनाले ज्यान गुमाएका छन् । मध्यपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरका अनुसार सडक दुर्घटनामा परी आर्थिक बर्ष २०७३÷०७४ को ६ महिनामा २३१ जना घाइते भएका छन् ।
Durghataसडक विस्तारसँगै बढेको सवारी चाप र सडक सूचना एवम् सचेतना अभावका कारण सडक दुर्घटना हुने गरेको मध्यपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कमल प्रसाद खरेलले बताए । उनले सवैभन्दा बढि असोजमा मृत्यू भएको बताए । असोजमा ३३, कार्तिकमा २२, मंसिरमा २५ र पौष महिनामा २० जनाको मृत्यू भएको छ । उनले साउनमा ९ जना र भदौँमा ७ जनाको मृत्यू भएको जानकारी दिए । ‘चिसो समयमा हुस्सु र कुहिरोका कारण सवारी दुर्घटना भएको देखिन्छ,’ प्रहरी उपरीक्षक खरेलले भने ।
सडक दुर्घटनमा परी मृत्यू हुनेमा पुरुष बढि छन् । ६ महिनाको अवधिमा ७५ जना पुरुष, १७ महिला, ९ बालक र ६ बालिका रहेको मध्यपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकल र बाहिर हिड्डुल महिलाको तुलनामा पुरुषले बढि गर्ने भएकोले सडक दुर्घटनामा परी मृत्यू हुने पुरुषको संख्या बढि हुन सक्ने अनुमान ट्राफिक प्रहरीको छ ।
घाइते हुनेमा पनि पुरुषनै धेरै रहेको मध्यपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयको तथ्यांकले देखाउँछ । ६ महिनाको अवधिमा २३१ जना घाइते भएका छन् । ति मध्ये १२८ जना सख्त घाइते र १०३ जना सामान्य घाइते भएका छन् । सख्त घाइते हुने पुरुषको संख्या ७८ रहेको छ भने ५० जना महिला सख्त घाइते भएका छन् ।
बसको तुलनामा मोटरसाइकल दुर्घटनामा परी मृत्यू हुनेको संख्या धेरै रहेको पनि ट्राफिक प्रहरीले जनाएको छ । ६ महिनाको अवधिमा मोटरसाइकल दुर्घटना धेरै भएको छ । यस अवधिमा ३८ वटा मोटरसाइकल दुर्घटना भएको छ भने ३४ वटा ट्रक दुर्घटना भई मानविय क्षति पनि बढि भएको छ । ट्राफिक प्रहरीका अनुसार १९ वटा जिप दुर्घटना र बस दुर्घटना १६ वटा भएको मध्यपश्चिम ट्राफिक प्रमुख प्रहरी उपरीक्षक खरेलले बताए । ‘यस अवधिमा मध्यपश्चिम क्षेत्रमा १५१ वटा सडक दुर्घटना भएका छन्, यो गत वर्षको तुलनामा धेरै हो,’ उनले भने ।
सडक दुर्घटना दाङमा बढ्दो
सडक दुर्घटनाको अनुपात हेर्दा सवैभन्दा बढि दुर्घटना दाङमा भएको देखिन्छ । पौष महिनामा मात्र दाङमा ९ वटा सडक दुर्घटना भई ७ जनाको मृत्यू भएको ट्राफिक प्रहरी उपरीक्षक खरेलले बताए । उनले बाँकेमा पौष महिनामा ७ वटा सडक दुर्घटनामा ३ जनाको मृत्यू भएको जानकारी दिए । बस दुर्घटनमा परी दाङमा ३ जनाको मृत्यू भएको छ । भने, ट्रैक्टर दुर्घटनामा ३, जिप, मोटरसाइकल र साइकल दुर्घटनामा परी एक–एक जनाको मृत्यू भएको ट्राफिक प्रहरीको तथ्यांकले देखाउँछ ।
आर्थिक वर्षको ६ महिनामा सुर्खेतमा ५, बर्दियामा ३, सल्यानमा १, रोल्पामा २, दैलेखमा २, जुम्ला, जाजरकोट र रुकुममा एक–एक वटा सडक दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । पछिल्लो एक महिनामा सडक दुर्घटनामा परी सुर्खेत, बर्दिया र जुम्लामा २–२ जनाको मृत्यू भएको छ भने सल्यान, दैलेख, रुकुम र जाजरकोटमा एक–एक जनाको मृत्यू भएको पनि खरेलले बताए ।
अहिलेको दुर्घटनालाई विश्लेषण गर्दा साँघुरो सडक, असिमित गति, भिरालो र सडक वरीपरि बस्ती भएका कारण दाङमा सवारी दुर्घटना बढि हुने गरेको देखिन्छ, सडक सम्बन्धि सचेतना नहुँदा पनि सडक दुर्घटना बढेको छ,’ खरेलले भने ।
६ महिनामा सवा ३ करोड राजस्व संकलन
मध्यपश्चिम क्षेत्रीय ट्राफिक कार्यालयले ६ महिनाको अवधिमा ३ करोड २८ लाख ५५ हजार ४ सय रुपैयाँ राजस्व संकलन गरेको छ । ट्राफिक प्रहरीका अनुसार मंसिर महिनामा सवैभन्दा धेरै ६३ लाख २० हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ ।
ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको र ट्राफिक नियम उलंघन गरेकाहरुबाट भाद्र महिनामा ५८ लाख ५५ हजार ९ सय, असोजमा ५५ लाख १० हजार, कार्तिकमा ५३ लाख ७ हजार, पौषमा ५१ लाख ७९ हजार र साउन महिनामा ४६ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन गरेको मध्यपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक खरेलले जानकारी दिए ।
उनले मध्यपश्चिमका अन्य जिल्लाका तुलनामा दाङबाट राजस्व संकलन धेरै हुने गरेको बताए । पौष महिनामा दाङबाट १४ लाख १७ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएकोमा बाँकेबाट १३ लाख रुपैयाँमात्र संकलन भएको खरेलले बताए । उनले सुर्खेतबाट ४३ हजार ९ सय र बर्दियाबाट ६० हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको बताए ।
ट्राफिक नियम उलंघनमा दाङ अगाडी
मादक पदार्थ सेवन र ट्राफिक नियम उलंघन गरि सवारी साधन चलाउनेको संख्या दाङमा धेरै छ । मापसे कारवाहीमा मध्यपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले ६ महिनामा एक लाख १२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । उक्त रकमको आधा रकम दाङबाट संकलन भएको छ । मापसे कारवाहीमा दाङबाट ५६ हजार रुपैयाँ संकलन भएको छ । भने, बाँकेबाट ८ हजार रुपैयाँमात्र संकलन भएको खरेलले बताए । ‘दाङमा सडक विस्तारसँगै ट्राफिक नियम उलंघटन गर्नेको संख्या पनि बढ्दै गएको छ, दाङमा ट्राफिक नियमको बारेमा जानकारी गराउनुपर्ने देखिएको छ,’ उनले भने ।

प्रतिक्रिया