जिल्लाका सबै सस्वास्थ्य संस्थामा मृगौला जाँच

जिल्लाका सबै सस्वास्थ्य संस्थामा मृगौला जाँच

दैलेख, माघ ६ । दैलेखका सबै स्वास्थ्य संस्थामा मृगौला परीक्षण सुरु गरिएको छ । मृगौला काम नलाग्ने जस्तो भयानक रोगले पछिल्ला दिनहरुमा धेरैको ज्यान लिन थालेपछि स्वास्थ्यमन्त्री गगनकुमार थापाले हरेक स्वास्थ्य संस्थामा मृगौलाको परीक्षण निशुल्क गराउने घोषणा गरेका थिए । उनको घोषणाअनुसार दैलेखमा पनि मृगौलाको परीक्षण सुरु भएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखले जनाएको छ ।
जिल्लाका सबै स्वास्थ्य संस्थामा मुत्रबाट मृगौला परीक्षण गर्ने किट पुगिसकेको जिल्ला स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डाक्टर शोभित थापाले बताए । उनले सरकारको नीतिअनुसार निःशुल्क मृगौला परीक्षण सेवा जिल्लाका सबै सरकारी स्वास्थ्य संस्थामा सुरु भएको जानकारी दिए । उनले मुत्रबाट मृगौलाको सामान्य परीक्षण भइरहेको भन्दै मृगौलामा कुनै खरावीको शंका लागे थप जाँच गर्नका लागि जिल्ला बाहिर रिफर गर्न मुत्र परीक्षणले टेवा पुग्ने बताए ।

मृगौला काम नलाग्ने रोगका कारण वर्षेनी नेपालमा ठूलो संख्यामा मानिसको ज्यान जाँदै आएको छ । भने यसको उपचार पनि निकै महंगो पर्ने गरेको छ । राजधानीमा मृगौला रोग पीडित संघर्ष समिति नै बनेर आन्दोलन भएको थियो । गगनकुमार थापा स्वास्थ्य मन्त्री बनेपछि उनले मृगौलाको डायलिस निशुल्क गराएका थिए । हरेक हप्तामा डायलिस गराउनुपर्ने भएकाले मृगौला रोग पीडितले निकै महंगो उपचार गराउनुपर्ने बाध्यता थियो । मृगौला रोग अन्तिम अवस्थामा मात्र थाहा हुने भएकाले सरकारले हरेक स्वास्थ्य संस्थामा मृगौलाको परीक्षण सुरु गरेर रोगको सुरुआती अवस्थामै रोगको निदान गर्ने सेवा दिएको हो ।
वसन्तामाला स्वास्थ्य चौकी किमुगाउँमा मुत्रबाट मृगौला परीक्षण गराएका वालकृष्ण खड्काले घर नजिकै यस्तो सुविधा पाएकोमा खुसी व्यक्त गरे । उनले कुनै पनि रोगको सुरुआती अवस्थामै निदान गर्न सुविधा पाउनु खुसीको कुरा रहेको बताए । उनको परीक्षण नतिजा सामान्य थियो । सोही स्वास्थ्य चौकीमा कार्यरत अहेव प्रेम खड्काले निःशुल्क मृगौला परीक्षणबारे सबैलाई जानकारी नभएको भन्दै आफूले स्वास्थ्य संस्थामा आउने प्रायःको परीक्षण गरिदिएको बताए ।
यता जिल्ला स्वास्थ्य कार्यालय दैलेखले सरकारको नीतिअनुसार सबै स्वास्थ्य संस्थामा विरामी दर्ता समय कार्यालय समयलाई नै बनाएको छ । डा. थापाले जिल्ला अस्पताल र प्राथामिक स्वास्थ्य केन्द्रमा कार्यालय समयअनुसार नै विरामी हेर्दै आएको बताए । उनले बहिरंग सेवा ३ बजे सम्म तोकिए पनि विरामी आएपछि हेर्ने गरेको बताए ।

प्रतिक्रिया