पारदर्शिताका लागि सार्वजनिक सुनुवाइ

पारदर्शिताका लागि सार्वजनिक सुनुवाइ

ग्रामिण क्षेत्रमा रहेका कृषि समूहहरुमा गएको सानो रकमबाट सञ्चालित योजनाहरुको दिगो विकास र पारदर्शिता बृद्धि गर्न सार्वजनिक सुनुवाइको आयोजना गर्ने अभ्यासको सुरुवात भएको छ । यस अघि नत समुदायले योजनामा सम्झौता भए अनुसारको बजेटको जानकारी पाउथे नत बजेट खर्च शिर्षकहरुनै । अहिले योजनामा अपनत्वको विकास गर्न र सूचनाको हकको प्रत्याभूति गराउनका लागि पनि सार्वजनिक सुनुवाइको आयोजना गर्ने गरिएको छ ।
नारायण नगरपालिका वडा नं ८ स्थित सिरसैनी कृषि कृषक समूहले लाभान्वित सेवाग्राहीको उपस्थितीमा सार्वजनिक सुनुवाइको आयोजना गरेको छ । समूहमा आवद्ध कृषकहरुलाई दिइएको सेवाको प्रभावकारीता बृद्धि गर्न र गुनासो समाधानका लागि सुनुवाइको आयोजना गरिएको समूहका अध्यक्ष पदम सुनारले बताए । कृषि समूह अन्तर्गत ढकाने सिरसैनी ताजा तरकारी उत्पादन उप आयोजनाले कृषकहरुलाई सिचाई पोखरी, विउ, मल खाद, क्यारेट, पाइप लगाएतका कृषि सामाग्रीमा सहयोग गरेको सुनारले बताए । उनले थपे, पहिला गाउकै एउटा घरले मात्रै तरकारी खेती गर्थे अहिले घर घरमा तरकारी खेती लगाउने गरिएको छ । मासिक बैठक, नियमित बचत, टमाटर, बन्दा, काउली खेती, प्लास्टिक घर निर्माण लगाएतका क्रियाकलापमा समूहका सदस्यहरु सक्रिय बनेका सुनारको भनाई थियो । उक्त उप आयोजनाका लागि कुल खर्च भएको ७ लाख ८२ हजार ५ सय ५ मध्ये साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाको ६ लाख २५ हजार लगानी रहेको सुनारले बताए ।
तरकारी खेतीबाट समूहका सदस्यहरुको आय आर्जनमा बृद्धि भएको छ । समूहका सदस्य बिमला खड्काले २ क्विन्टल र डम्बर सुनारले करिब ३ क्विन्टल टमार उत्पादन गरे । उत्पादित वस्तुको विक्रि वितरणबाट भएको आम्दानीले मासिक बचत गर्ने गरेको खड्काले बताईन् । मिहिनेत गरेर कमाएको पैसा बाल बालिकाको कापी, कलम किन्न, सामान्य घर खर्च चलाउन लगानी गरिएको उनको भनाई थियो । अधिकाँस दलित समुदायको बाहुल्यता रहेको उक्त वस्तिमा कृषि खेतीले गर्दा उनीहरुको जीवनस्तरमा सुधार आएको छ ।

प्रतिक्रिया