गाउँमा के गर्दैछन् दलहरु ?

गाउँमा के गर्दैछन् दलहरु ?

दैलेख, फागुन २४ । सरकारले चुनाव घोषणा गरेसँगै दैलेखमा प्रमुख दलहरु सम्भावित उम्मेदवारको खोजीमा लागेका छन् । चुनाव केन्द्रित गरेर गाउँगाउँ छिरेका दलहरुले सम्भावित उम्मेदवारको पनि सूची बनाईरहेका छन् ।
नेपाली काँग्रेस दैलेखका सभापति कृष्णकुमार विसिले पहिलो चरणमा गाउँजागरण अभियान सम्मपन्न गरिएको जनाउँदै सर्वे पनि गरिएको बताए । उनले जागरण अभियानका क्रममा काँग्रेस एकजुट छ भन्ने सन्देश दिएको भन्दै सम्भावित उम्मेदवार र तिनिहरुको जनमतबारे पनि बुझ्ने गरिएको बताए ।
उता नेकपा एमालेले पनि आफ्ना गतिविधिलाई गाउँ केन्द्रित गरेको छ । दैलेखमा नयाँ संरचनाअनुसार ११ वटा स्थानीय इकाई रहेका छन् । एमालेले हाललाई आफ्ना कार्यकर्तालाई व्यवस्थापन गर्ने नीति लिएको एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले बताए । उनले पार्टीको सम्पूर्ण पंक्तिलाई गाउँमा खटाइएको जनाउँदै त्यसको अनुगमन आफूले गरिरहेको बताए । उनले हाललाई अर्काे पार्टीका मतदातालाई आफ्नो पार्टीमा ल्याउने भन्दा पनि आफ्ना पार्टीका कार्यकर्तालाई व्यवस्थापन गर्नेतर्फ पार्टी केन्द्रित भएको बताए । उनले चनावका लागि पार्टीका सम्पूर्ण तह र तप्कालाई परिचालन गरिएको बताए ।
सरकारले चुनाव घोषणा गरेसँगै दैलेखमा चुनावी माहोल तातिएको छ । दैलेख सदरमुकाम दैलेख बजारमा दिनहुँजसो पार्टीका बैठक बसिरहेका हुन्छन् भने गाउँमा पनि विभिन्न गतिविधि भइरहेका छन् । दलहरुका गतिविधिले अब चुनाव हुन्छ भन्ने पक्का जस्तै भएको छ । नेपाली काँग्रेसले दैलेखका २ वटा नगरपालिका र ४९ वटौ गाविसमा पहिलो चरणमा गाउँजागरण अभियान सञ्चालन गरेको थियो भने हाल दोस्रो चरणको अभियान सुरु गरेको छ । एमालेले पनि पहिलो चरणको अभियान सम्पन्न गरिसकेको छ भने नयाँ रणनीतिका लागि पार्टी बैठक बोलाएको छ । एमाले अध्यक्ष शर्माले बिहीबार पार्टीको बैठक बोलाइएको जानकारी दिए ।
दैलेखमा रहेको अर्काे ठूलो दल माओवादी केन्द्रले पनि गाउँमा अभियान सञ्चालन गरिरहेको छ । उसले संगठन विस्तारलाई जोड दिएको माओवादी स्रोतले बताएको छ ।
कुन संरचनाअनुसार चुनाव हुने भन्ने किटन नभएकाले दलहरुले नयाँ र पुरानो दुबै संरचनालाई ध्यानमा राखेर गतिविधि गरिरहेका छन् । काँग्रेस सभापति विसीले आफ्नो पार्टी दुबै संरचनाअनुसार अगाडी बढिरहेको बताए ।
दैलेखमा नयाँ संरचनाअनुसार ४ नगरपालिका र ७ वटा गाउँपालिका छन् भने पुरानो संरचनाअनुसार २ नगरपालिका र ४९ गाउँविकास समिति रहेका छन् । दैलेखमा काँग्रेस, एमाले र माओवादी केन्द्रबीच त्रीपक्षीय प्रतिस्पर्धा हुने आंकलन गरिएको छ । नयाँ संरचनाअनसारका ११ वटै इकाईमा विषेश गरि काँग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

प्रतिक्रिया