बाल मैत्री स्थानीय शासन गाविस घोषणा पूर्व तयारीका लागि अभिमुखिकरण

बाल मैत्री स्थानीय शासन गाविस घोषणा पूर्व तयारीका लागि अभिमुखिकरण

जिवराज रेग्मी
दैलेख– बालमैत्री स्थानीय शासनको बारेमा जानकारी दिई गाविस घोषणा पूर्व तयारीका लागि पिलाडी गाविसमा सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको साझेदारीमा सञ्चालित सहयात्रा परियोजनाले अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ । उक्त अभिमुखिकरण कार्यक्रममा बाल बचाउ, बाल संरक्षण, बाल विकास र अर्थपूर्ण बाल सहभागितासँग सम्बन्धीत कम्तिमा पनि ३९ वटा सूचकहरुको बारेमा जानकारी गराइएको अभियानकर्ता ललिता वि.सी.ले बताईन । CFLG Piladi
बालबालिकाको सर्बोत्तम हित, सर्वाङ्गीण विकास र सहभागिताको सिद्धान्तमा आधारित भै बाल अधिकारको सम्मान, संरक्षण र सम्वद्र्धन गर्न राज्यको तर्फबाट पहल हुनुपर्ने वि.सी.को भनाई थियो । उनले थपिन, स्थानीय निकायको नीति, संरचना, प्रणाली, कार्यप्रक्रिया र व्यवहारमा संस्थागत गर्न बालमैत्री स्थानीय शासन गाविस घोषणा गर्नुपर्ने आवश्यकता भएको छ ।
महिनामा १ पटक प्रत्येक वडामा यस्तो अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिन्छ । अहिले गाविसमा जन्म, मृत्यु, बसाईसराई, सम्बन्ध विच्छेद दर्ता गराउने संख्यामा बृद्धि भएको छ । हरेकका घर आगनहरु सफा छन् र प्रतिघरधुरी शौचालयको व्यवस्था भएको छ । स्वास्थ्य संस्थाहरुमा गर्भवती जाच गर्ने र सुत्केरी गराउनेहरु बढेका छन् भने बालबालिका लक्षित कार्यक्रमको पालन गर्न स्थानीय निकाय प्रतिवद्ध देखिएको अभियानकर्ता वि.सी.को भनाई थियो ।
गाविस घोषणा गर्नु कठिन कार्य भए पनि बालबालिकाको अधिकारसँग सम्बन्धीत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ऐन, कानुन र कार्यविधिको कार्यान्वयन गर्न र स्थानीय निकायलाई बालबालिकाको हितमा योजना तर्जुमा, स्रोतको विनियोजन, कार्यान्वयन, अनुगमन तथा मूल्याँकन जस्ता कार्यमा सघाउन पु¥याउनका लागि गाविस घोषणा अनिवार्य भएको परियोजना अधिकृत नवराज वि.सी.को भनाई थियो । उनले थपे, बालमैत्री स्थानीय शासन एउटा यस्तो कार्ययोजना हो जसले बालबालिकालाई विकासको केन्द्रमा राखी स्थानीय निकाय, सरकारी निकाय र नागरिक समाज समेतको सुशासन र सवलीकरणमा जोड दिन्छ । परियोजनाले पिलाडी गाविसबाट सुरु गरेको अभियानलाई आगामी दिनमा जिल्ला भरीनै व्यापक बनाउन खोजेको वि.सी.ले बताए ।

प्रतिक्रिया