विद्यालय निरीक्षक बिष्टले भनिन् – भित्तेपत्रिकामा शिक्षाकै कमजोरी लेख्नुस्

विद्यालय निरीक्षक बिष्टले भनिन् – भित्तेपत्रिकामा शिक्षाकै कमजोरी लेख्नुस्

दैलेख, चैत १९ – जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक शान्ति बिष्टले बालबालिकाले प्रकाशित गर्ने भित्ते पत्रिकामा शिक्षाकै समस्या र कमजोरी औल्याउन आग्रह गरेकी छिन् । डुङ्गेश्वर गाउँपालिका १ नं. वडा बेलपाटा र २ नं. वडा लाँकुरीको आर्थिक सहयोगमा बालअधिकार चेतना समूहको आयोजनामा दैलेख सदरमुकाममा सञ्चालित ३ दिने भित्तेपत्रिका प्रकाशन तालिमको आज समापन कार्यक्रममा यस्तो बताएकी हुन् । Wall Magagin (1)
समाजमा भए गरेका सकारात्मक विकास गतिविधि सार्वजनिक गरिदिंदा स्थानीय स्तरमा पारदर्शिता र सुशासन प्रवद्र्धनमा सघाउ पुग्ने विद्यालय निरीक्षक बिष्टले विश्वास व्यक्त गरिन् । त्यसबखत मानवअधिकार निगरानी समूह लाँकुरीका सदस्य सुनिता थापाले भित्तेपत्रिका प्रकाशनले गाउँसमाजमा विकृति, विसंगति हटाउन सहज हुने आशा व्यक्त गरिन् ।
तालिमका सहभागीहरु लक्ष्मी बिष्ट, रचना बिक, टिकारा खत्री, प्रतीक्षा बिक, होमप्रकाश खत्री, निर्मला सोनी, सम्झना डाँगी लगायतले तालिममा सिकेको सीपले सामाजिक विकासमा सघाउन समेत प्रोत्साहित गरेको बताए ।
तालिम प्रशिक्षक पत्रकार अमर सुनारले आफूले सहजीकरणमा गरेको मेहनत र बालबालिकाको जागरुकताले ५ वटै विद्यालयका सहभागीले भित्तेपत्रिका निरन्तरता दिन सक्ने क्षमता विकास भएको बताए । अभ्यासको क्रममा प्रकाशित भएका २–२ वटा भित्तेपत्रिकामा अघिल्लो भन्दा पछिल्लोको धेरै गुणस्तर सुधार भएको भन्दै खुशी प्रकट गरे ।
कुल २८ जना बालबालिकाहरुको सहभागिता रहेको तालिममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष नमनकुमार शाही र पत्रकार हिक्मत नेपालीले भित्तेपत्रिका प्रकाशनका आधारभूत विषयबस्तु बारे अभिमुखीकरण गरेका थिए । महिला विकास अधिकृत अनिता ज्ञवाली लगायतका सरकारी अधिकारी र सामाजिक व्यक्तिहरुले तालिम अवधिको सैद्धान्तिक प्रशिक्षण र बालबालिकाले प्रकाशित गरेका भित्तेपत्रिका अभ्यासको अवलोकन गरेका थिए ।

प्रतिक्रिया