संविधान कार्यान्वयनका निम्ति स्थानीय तहको चुनाव

संविधान कार्यान्वयनका निम्ति स्थानीय तहको चुनाव

दैलेख, वैशाख ११ – आसन्न स्थानीय तहको निर्वाचनमा संविधान कार्यान्वयन र नागरिकलाई अधिकार प्राप्तीको निम्ति फलदायी हुने दैलेखका राजनीतिक दलका नेताहरुले बताएका छन् । जागरण मिडिया सेण्टर र रेडियो ज्वालाको आयोजनामा दैलेखमा भएको समावेशी नेतृत्व र सामाजिक न्याय सम्वन्धी मिडिया सम्वाद कार्यक्रममा दलका नेताहरुले त्यस्तो बताएका हुन् ।Sambadh
नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक कमिटी सदस्य छवि सुवेदीले माओवादी युद्धको जगमा दलित, महिला तथा पिछडिएको वर्गको उत्थानका लागि प्राप्त पछिल्ला अधिकारको संस्थागत गर्न स्थानीय तहको निर्वाचन आवश्यक भएको बताए ।
त्यसबखत नेकपा एमालेका प्रचार विभाग प्रमुख लोमन शर्माले एमाले नेतृत्व सरकारले सामाजिक सुरक्षा भत्ता सुरु गरेको, जातीय भेदभाव तथा छुवाछू्रत कसूर र सजाय ऐन २०६८ आएको, एमालेकै पालामा दलित गैरदलितवीचको अन्तरजातीय विवाह गर्नेलाई १ लाख प्रोत्साहन अनुदान दिएकोले दलित समुदायले एमालेलाई भोट दिने विश्वस्त व्यक्त गरे ।
नेपाली काँग्रेसका जिल्ला सदस्य झलक भण्डारीले नेपाली काँग्रेसले २००४ सालमै पार्टीको महासचिवमा धनमानसिंह परियारलाई ल्याएको, २०५८ मा काँगेस सभापति शेरबहादुर देउवा नेतृत्व सरकारले राष्ट्रिय दलित आयोग गठन गरेकोले नेपाली काँग्रेस दलितहरुले भोग्दै आएको जातीय विभेद हटाउन उदाहरण देखाएको बताए ।
कार्यक्रममा स्थानीय शान्ति समितिका संयोजक पार्वती बिशुन्केले वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा दलहरुले महिलालाई गाउँपालिकाको उपाध्यक्ष वा नगरको उपप्रमुखमा उम्मेदवार बनाएको असन्तुष्टी पोखिन् । ‘महिलाहरु सक्षम छन्, तर पुरुषवादी राजनीतिक नेतृत्वले स्वीकार गर्न सकेको छैन स्थानीय शान्ति समितिका संयोजक बिशुन्केले टिप्पणी गरिन् ।
कार्यक्रममा अधिकारकर्मीहरु प्रेम भूर्तेल, सरस्वती श्रेष्ठ, हर्क नेपाली, बीरबहादुर नेपाली, मीना उपाध्याय, प्रकाश बीसी, दिलीप बिक, भीमबहादुर नेपाली, बिशाल सुनार र लोकेन्द बिश्वकर्मा लगायतले राजनीतिक दलका नेताहरुले दलित, महिला र पिछडिएको जातजातिलाई समावेशीकरण गर्न तोकिएको बाहेकको पदमा नेतृत्व नदिएकोमा आपत्ति जनाएका थिए ।
स्थानीय तहको निर्वाचनमा दलित तथा महिलाहरुको समावेशीको औचित्य र मिडिया सम्वादको सार्थकता विषयमा जागरण मिडिया सेण्टरका कार्यक्रम संयोजक शिवहरी ज्ञवालीले प्रकाश पारेको कार्यक्रमको सहजीकरण पत्रकार अमर सुनारले गरेका थिए ।

प्रतिक्रिया