खाडाचक्र ‘छाउप्रथा मुक्त नगर बनाइने’

खाडाचक्र  ‘छाउप्रथा मुक्त नगर बनाइने’

कालीकोटको खाडाचक्र नगर प्रमुख जसीप्रसाद पाण्डेले सदरमुकाम मान्मसहित समेटेर बनेको नगरपालिकालाई ५ वर्षभित्र छाउपडी प्रथा मुक्त नगर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

छाउप्रथाले महिलाको स्वास्थ्यमा नकारात्मक असर परेको ठहर गर्दै सबै महिलालाई सम्मानपूर्वक बाँच्न र सामाजिक जीवनका सबै पक्षमा समान सहभागिता गराउन नगरलाई छाउपडी प्रथा मुक्त बनाएने बताए । ‘अबको ५ वर्षपछि कसैले पनि छाउप्रथा अगालेका हुने छैनन्,’ नगरप्रमुख पाण्डेले भने, ‘खाडाचक्र सामाजिक न्याय भएको नगरका रूपमा परिचित हुनेछ ।’

उनले नगरभित्र कसैले पनि बालविवाह, बहुविवाह नगरेको, जातीय विभेद अन्त्य भएको अवस्था रहने बाचा गरे । उनले सामाजिक विकास नभएसम्म भौतिक पूर्वाधार जति भए पनि विकास मान्न नसकिने भएकाले समाज रूपान्तरणको अभियानमा लाग्ने निर्वाचित सबै पदाधिकारीलाई निर्देशन दिए ।

खाडाचक्र नगरपालिकामा महिला सशक्तीकरणलाई अभियानका रूपमा थालनी गरिने सुनाउँदै उपप्रमुख विजया विष्टले नगरभित्र राज्यका हरेक निकायमा महिला सहभागिता ५० प्रतिशत पुर्याइने प्रतिबद्धता गरिन् । खाडाचक्रमा जिल्लाका अन्य नगर र गाउँपालिकाको तुलनामा दलित समुदायको बसोबास बढी छ । जातीय छुवाछूत मुक्त गर्न वडाबाट अभियान थालिने २ नं. वडा अध्यक्ष विर्षसिंह विश्वकर्माले बताए ।

प्रतिक्रिया