निर्वाचितलाई इमान्दारिता जोगाउन सुझाव

निर्वाचितलाई इमान्दारिता जोगाउन सुझाव

दैलेख, जेठ २२ – पूर्वसभासद् एवं नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य राजबहादुर बुढाले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई पार्टीहरुले चुनेको र जनताले विश्वास गरेको पदको इमान्दारिता जोगाई राख्न सुझाव दिएका छन् । Raj Bdr Budha
जिल्ला समन्वय समिति दैलेखले आज आयोजना गरेको जिल्लाका ४ नगरपालिका र ७ गाउँपालिकाका नवनिर्वाचित प्रमुख तथा उपप्रमुखहरुको स्वागत तथा बधाई ज्ञापन कार्यक्रममा राजनीतिक सुझबुझले जनउत्तरदायी तरिकाले काम गर्न पूर्वसभासद् बुढाले आग्रह गरे ।
त्यस बखत पूर्व जिविस सभापति टेकबहादुर खाँणले स्थानीय तहको बजेटलाई कृषि पर्यटन प्रवद्र्धनको आवश्यकता औल्याए । कार्यक्रममा पूर्व जिविस उपसभापति खड्गबहादुर सिजापतिले विधि, प्रक्रिया र नीति नियमलाई पालना गर्न सुझाव दिए ।
नवनिर्वाचित जनप्रतिनिधिहरुका तर्फबाट चामुण्डाबिन्द्रासैनी नगरपालिकाका प्रमुख सूर्यबहादुर शाही र आवबीस नगरपालिकाकी उपप्रमुख दीपा बोहराले जनताको विश्वास र स्थानीय आवश्यकताका आधारमा योजना बनाउने कार्यान्वयनमा सबै पक्षको सहयोग लिने बताए ।
स्थानीय विकास अधिकारी डिलाराम पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी गंगाराम गिरी, राजनीतिक दलका प्रमुखहरु, नागरिक समाजका अगुवाहरु समेत नवनिर्वाचित प्रमुख तथा उपप्रमुखहरुलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

प्रतिक्रिया