बग्ने युवकको परिचय खुल्यो

बग्ने युवकको परिचय खुल्यो

अमर सुनार
दैलेख– १० दिनअघि दैलेखको रतिखोलाले बगाएका युवकको परिचय खुलेको प्रहरीले जनाएको छ । गुराँस गाउँपालिका–४ घाडाबासका १८ वर्षीय लालबहादुर ओली भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक एकीन्द्रबहादुर खड्काले बताउनु भयो ।
नारायण नगरपालिका–६ स्थित भाउजुको माइतीबाट फर्किएर सोझै घोडावास जाने गाडी छोडेर सियाकोट झरेर तल्लोडुंगेश्वर बजार घुम्न गएका थिए । बजार घुमेर फर्किने क्रममा अटो रिक्सा खोला पारी रोकिएको तर लालबहादुरले जिद्दी गरी खोला तर्न खोजेपछि रति खोलाले बगाएको थियो ।
रिक्सावाला र अरुहरुले बगिसकेपछि छोप्न खोज्दा पनि डेढ सय मीटर तल लोहोरे खोलामा मिसिएपछि बाढी आएको धमिलो पानीका कारण कतै नदेखेको प्रत्यक्षदर्शीहरुले प्रहरीलाई सूचना दिएका थिए । रिक्सावाला र अरु यात्रु समेत कसैले नचिनेको कारण बग्ने मानिसको परिचय खुल्न सकेको थिएन ।
त्यतिबेला रतिखोलाले बगाएको २०–२० वर्षको युवक भनिएको र लालबहादुर भाउजुको माइतीबाट फर्किएको दिन पनि असार २२ गते भन्ने खुलेपछि त्यतिबेला खोलामा बग्ने व्यक्ति लालबहादुर ओली नै भएको कुरा आजै मात्र प्रहरीलाई खवर गरिएको स्थानीय रेशम बुढाले बताउनुभयो ।
लालबहादुरका जेठा बुबा रेशम बुढाका अनुसार भाउजुको माइतीमै होलान भनी घर परिवारले ठानेका र भाउजुको माइतीमा समेत घर पुगे होलान भन्ने बिश्वास गरेकामा प्रहरीले बगेका व्यक्तिको हुलिया बारे खोजी गरेपछि त्यतिबेला बग्ने व्यक्ति लालबहादुर भएको प्रष्ट खुलेको प्रहरी निरीक्षक खड्काले बताउनुभयो ।

प्रतिक्रिया