अनुसन्धानपछि २५ दिनमा मुद्दा पेश गर्नुपर्नेमा २ दिन ढिला लिएपछि अदालतद्वारा म्याद नाघी आएको भन्दै मुद्दा फिर्ता

अनुसन्धानपछि २५ दिनमा मुद्दा पेश गर्नुपर्नेमा २ दिन ढिला लिएपछि अदालतद्वारा म्याद नाघी आएको भन्दै मुद्दा फिर्ता

अमर सुनार
दैलेख, साउन ९ – दैलेख जिल्ला अदालतले म्याद नाघी आएको भन्दै मुद्दा चल्न नसक्ने भन्दै आज एउटा मुद्दा दरपीठ गरेको छ । असार ११ गते नारायण नगरपालिका–३ कालिमाटीमा भएको ट्रयाक्टर दुर्घटनामा सहचालक जयबहादु बस्नेतको ज्यान गएको ‘सवारीज्यान’ मुद्दा कानूनले तोकेको भन्दा ढिला गरी ल्याएको कारण दरपीठ गरिएको हो ।
लु १ त ५४८९ नम्वरको ट्रयाक्टर चालक बलबहादुर कटुवाललाई घटना भएकै दिन पक्राउ गरी ल्याइएकोमा अनुसन्धान तहकीकातका लागि ५ पटक गरी २५ दिनको अनुमती दिइएकोमा २७ औं दिनमा जिल्ला सरकारी वकील कार्यालयले अभियोगपत्र ल्याएको कारण निमित्त श्रेस्तेदार सुनिल खाँणले दरपीठ गर्नुभएको प्रवक्ता विनोद आचार्यले जानकारी दिनुभयो ।
जिल्ला सरकारी वकील कार्यालय दैलेखका नयाँ कार्यालय प्रमुख कौशल ढुंगानाले २ साताअघि जिल्लामा हाजिर भई जिल्ला बाहिर गएर हिजो मात्र दैलेख आउनुभएपछि आज दर्ता गराउन दैलेख जिल्ला अदालतमा पेश भएको अभियोगपत्र फिर्ता भएपछि ढुंगाना तनावमा हुनुहुन्छ ।
सरकारी मुुद्दा सम्वन्धी ऐन २०४९ को दफा १५ (४) अनुसार २५ दिनसम्म अनुसन्धान तहकीकात गरी कम्ती २६ औं दिनको दिनमा अभियोग पत्र दायर गर्नुपर्नेमा अदालतमा ढिला पु¥याइएको विषयमा सोध्दा जिल्ला सरकारी वकील कौशल ढुंगानाले सबै कुरा मिडियाले भनिरहनु नपर्ने टिप्पणी गर्नुभयो ।
उहाँले जिल्ला न्यायाधीशको इजलासमा पेश गरिने बताउनुभयो । जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डित अहिले कार्यालयको काममा काठमाण्डौंमा हुनुहुन्छ, उहाँ १ सातापछि मात्र जिल्लामा आउनुहुने बताइएको छ ।
मुद्दा दर्ता गर्न हुन नसक्ने भन्दै दरपीठ भएपछि प्रहरीले बोलाएको बखत हाजिर हुने गरी जमानीमा ट्रयाक्टर चालक बलबहादुर कटुवाललाई प्रहरीले छाडेको छ । कानून तोकेको समय भन्दा ढिला गरी मुद्दा ल्याउदा दरपीठ भई मुद्दा फिर्ता भएको दैलेखमा यो पहिलो मुद्दा हो । दैलेख जिल्ला स्थापना भएको ५२ वर्ष भयो ।

प्रतिक्रिया