निर्बिरोध हुन नदिन काँग्रेसको उम्मेदवारी, जिसस उम्मेदवार छनौटमा एमालेमा भेगीयता

निर्बिरोध हुन नदिन काँग्रेसको उम्मेदवारी, जिसस उम्मेदवार छनौटमा एमालेमा भेगीयता

अमर सुनार
दैलेख, साउन १८ – मतदाता संख्याको आधारमा एकलौटी जिल्ला समन्वय समिति गठन गर्न सक्ने नेकपा एमालेको संख्या भए पनि निर्बिरोध हुन नदिन नेपाली काँग्रेसले समेत ९ सदस्यीय जिल्ला समन्वय समितिको निर्वाचनमा आज उम्मेदवारी दिएको छ ।
नेकपा एमालेले प्रमुख पदमा प्रेमबहादुर थापा, उप्रप्रमुखमा लक्ष्मीदेबी शाही, सदस्यहरुमा सर्बराज महतारा, चन्द्रकला नोपली, नन्दे खड्का, बालकृष्ण केसी, गीता चन्द, ललितजंग माझी र चन्द्रकला रावलको उम्मेदवारी दर्ता गराएको छ ।
त्यसैगरी नेपाली काँग्रेसले प्रमुख पदमा नगेन्द्रबहादुर खत्री, उपप्रमुख निर्मला खड्का, सदस्यहरु भूपाल थापा, सावित्री रेग्मी, सीता बिक, बखत सापकोटा, बलबहादुर शाही, धर्मबहादुर कार्की र कृष्णबहादुर बिष्टलाई उम्मेदवार बनाएको छ ।
जिल्लाका ४ नगरपालिका र ७ गाउँपालिका समेत ११ वटा स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी २२ जना मतदाता रहने जिल्ला समन्वय समितिका १ प्रमुख, १ उपप्रमुख र ७ जना सदस्य निर्वाचन गरिने निर्वाचनमा नेकपा एमालेसंग १४ र नेपाली काँग्रेका ८ जना मतदाता छन् ।
मतदाता संख्याको आधारमा नेकपा एमालेसंग बहुमत भएकोले एमाले नेताहरुले आफ्ना पकेटभित्र व्यक्ति प्रस्तूत पूरा शक्ति प्रयोग गरेका छन् । यो निर्वाचनमा आफ्ना व्यक्ति उभ्याएका आधारमा राजनीतिक प्रभाव दरिलो हुने ठानेर बाहुबल देखाएका छन् ।
एमाले नेताहरुले बाहुबल र प्रभाव प्रदर्शन गर्दा निर्वाचन क्षेत्र नं. २ का नेताहरुले जोडदार तरिकाले भेगीयताको आवाज बुलन्द बनाए । निर्वाचन क्षेत्र १ मा जात र नाताको ताकत देखाए भने पार्टी हित विपरित कुर्लेकाहरुले पनि उच्चतम् कदर भएको देखियो ।
तीन महिना पहिले भएको स्थानीय तहको विर्वाचनमा एमालेको बागी उम्मेदवारलाई सघाएका भगवतीमाई गाउँपालिका–५ का नन्दे खड्का, दुल्लू नगरपालिका वडा नं. १ वडाध्यक्ष जिताउन नसकेर आफू मात्र वडासदस्य जितेकी चन्द्रकला नेपाली, २०७० को संसदीय निर्वाचनमा एमाले छोडेर माओवादी पक्षमा कुर्लेकी नौमूले गाउँपालिका–८ की गीता चन्दलाई जिल्ला समन्वय समितिका सदस्य पदमा उम्मेदवार बनाइएको छ ।
प्रमुखको नामावलीको सिफारिसका लागि १ साता अघि जिल्ला कमिटी सचिवालयमा सबै भन्दा धेरै ११ मत दिलाइएका बालकृष्ण केसी, प्रमुखका अर्का दावेदार सर्वराज महतारा जिल्ला समन्वय समितिको सदस्य बस्न राजी भए ।
त्यसैगरी पार्टी संगठनको नेतृत्वदायी भूमिकामा नआएका चामुणडाबिन्द्रासैनी नगरपालिका–१ की चन्द्रकला रावल र आठबीस नगरपालिका–४ का ललित माझीलाई दलित तथा पिछडिएको जातिको कोटामा जिल्ला समन्वय समितिका सदस्यमा अगाडि सारिएको छ ।
मतदाता संख्याको आधारमा एमालेले प्रस्तूत गरेका सबै ९ जना नै जित्ने निर्विवाद छ । तर उम्मेदवार छनौट प्रक्रियामा पार्टी संगठनमा योगदान, पदको गरिमा र नेतृत्व बहन गर्न सक्ने क्षमता, समावेशीकरण प्रतिनिधित्वमा समुदायको अगुवाई गरिरहेका जस्ता आधारहरु नहेरी नेताका पाकेट भित्रका नाम मात्रका प्रतिनिधित्व गराएबाट खुलेर बिरोध नगरिए पनि कार्यकर्ताहरुको मन कुडिएको छ ।
प्रमुखको आकांक्षीहरुको नाम केन्द्रलाई सिफारिस गर्दा सचिवालयमा चुनाव गराइएको तर धेरै मत ल्याउने व्यक्ति बाहेक अरु ३ जनाको नाम सिफारिस गरिएको घटनावीच नेपाल एमाले स्थायी कमिटीले पार्टी उपाध्यक्ष प्रेमबहादुर थापा र अनेमसंघका केन्द्रीय संगठन कमिटी सदस्य लक्ष्मीदेबी शाहको नाम छनौट गरिएकोलाई केन्द्रले उचित निर्णय गरेको भन्ने चर्चा थियो तर सदस्यहरुको नाम छनौटमा जिल्ला सचिवालयले त्यो विश्वसनीयता सन्तुलन राख्न सकेन ।

प्रतिक्रिया