आर्मीद्धारा मारिएका माओवादी पित्तर जागेपछि

आर्मीद्धारा मारिएका माओवादी पित्तर जागेपछि

अमर सुनार
दैलेख, भदौ ८ – माओवादी सशस्त्र युद्धको बेला धर्म, परम्परा र संस्कृति पुरातन कुरा हो भन्दै मरेका मान्छेको काजकिरिजा, श्राद्ध वा यस्ता संस्कार रोक्ने गरेका थिए । तर युद्धकालका घटनामा ज्यान गुमाएका उनै माओवादीका परिवारहरुले अहिले मृतकको आत्मा जागेर पित्तर भएका भन्दै भटाभट एकपछि अर्को काजकिरिया गर्न थालेका छन् ।


१२ वर्ष अघि दैलेखको नारायण नगरपालिका–३ कालीमाटी अरिङ्गालेमा राज्य पक्षबाट मारिएका तत्कालिन नेकपा माओवादीका नगर इञ्चार्ज उदयप्रसाद रेग्मी ‘उत्तम’को कंकाल उनी मारिएकै तिथि अनुसार आज हिन्दू परम्परा अनुसार श्रीस्थानमा दाह संस्कार गरिएको छ ।
सपनामा आएर ‘मेरो काज किरिया गरिदेऊ’ भन्ने गरेको, घरमा पालैपालो बिरामी परिरहने र बेलाबेला घरभित्र सर्प पस्न थालेपछि त्यतिबेला राज्य पक्षले गोली हानी मारेर गाडेको ठाउँबाट कंकाल झिकेर धार्मिक विधि अनुसार आज दाहसंस्कार गरिएको उत्तमकी पत्नी रत्नाले बताउनुभयो ।
कंकाल उदनिएको ठाउँमा जीउमा लगाएको सेतो हाप पैण्ट, सेतो घिउ रंगको कमीज र वाहिर आस्कोट हल्का गलेको अवस्थामा पाइएको थियो । शरीरको मासु गलिसकेको र टाउँकोदेखि गोडासम्मकै सबै हड्डी मात्र पाइएको माओवादी केन्द्रकी कोषाध्यक्ष समेत रहनुभएकी रत्नाले बताउनुभयो ।
२०६२ भदौ २१ गते हरितालिका तीजका दिन कालीमाटीका आफन्त मयाराम कटुवालको घरमा तत्कालिन शाही नेपाली सेनाले उदयप्रसाद रेग्मी ‘उत्तम’संगै गोली हानी मारेका सुकुल सिंहको परिवारले पनि गत वर्ष कंकाल लिएर धार्मिक विधिपूर्वक काजकिरिया गरेका थिए ।
खरिगैराको सुकुल सिंहको पनि घर परिवारलाई सपनामा आफै आएर काजकिरिया गरिदेऊ नत्र मैंले मुक्ति नपाउने भएँ भन्ने गरेपछि अहिले बस्तै गरेको ठाउँ कोहलपुरबाट आएर १ वर्ष अघि कालीमाटीबाट कंगाल झिकेर काजकिरिया गरिएको थियो ।
त्यतिबेला तीजको ३ दिने एकतर्फी युद्धविराम घोषणा गरेको समयमा सदरमुकाम नजिक आएको चाल पाएर तत्कालिन शाही नेपाली सेनाको भवानी बक्स गणको विशेष कार्य समूहले तीज दिन कालीमाटी अरिङ्गालेका मयाराम कटुवालको घरमा बसिरहेको बेला नियन्त्रणमा लिई १९ वटा गोली हानी मारेको थियो ।
उदयराम रेग्मी ‘उत्तम’ मारिएको २ महिनापछि स्थानीय प्रशासनसंग अनुमती लिएर १३ दिनको किरिया गरी सकिएको कारण यसपटक ‘उत्तम’का एक मात्र छोरा २२ वर्षीय देबेन्द्र रेग्मीले ११ दिन किरिया बस्ने तर सन्तानका कोही पनि जुठो बार्नुृ नपर्ने पुरोहितहरुले सल्लाह दिएका छन् ।

 

प्रतिक्रिया