राउटेलाई सामाजिक सुरक्षा भत्ता वितरण

राउटेलाई सामाजिक सुरक्षा भत्ता वितरण

दैलेख, असोज ८ – लोपोन्मुख जाति अन्तरगतका राउटे समुदायलाई दिंदै आएको सामाजिक सुरक्षा भत्ता नेपाल सरकारकाले पहिलो पटक सोझै गाउँपालिकामा पठाएको छ । यस अघि जिल्ला समन्वय समिति मार्फत पठाउदै आएकोमा पहिलो पटक गाउँपालिकामा पठाएको हो ।
मध्यपश्चिमकामा घुमन्ते जीवन बिताउदै आएका सो समुदायका लागि आउने रकम सम्वधित जिल्ला समन्वय समितिले बितरण गर्दै आएकोमा यस पटक भैरवी गाउँपालिकामा पठाइएको रकम कुसापानीमा पुगी आइतवार गाउँपालिकाले वितरण गरेको छ ।


प्रति महिना २ हजारका दरले साउनदेखि असोजसम्म ३ महिनाको ६ हजार रुपैंयाका दरले वितरण गरिएको छ । कुल १ सय ६८ जनालाई प्रति व्यक्ति ६ हजारका दरले वितरण गर्दा १० लाख ८ हजार रुपैंयाँ वितरण गरिएको भैरवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर वुढाले जानकारी दिनुभयो ।
पहिलो चौमासिकमा ८ हजारका दरले रकम प्राप्त भएपनि अहिले दिंदा सबै सकिहाल्ने र तिहार खर्चको लागि सरकारी निकायमा दवाव दिने पुरानो परम्परा भएकोले अहिलेलाई ३ महिनाको ६ हजार दिइएको र १ महिनाको प्रतिव्यक्ति २ हजार रुपैंयाँ तिहारको समयमा बितरण गर्ने निधो भएको अध्यक्ष थापाले बताउनुभयो ।
राउटे समुदायले सामाजिक सुरक्षा भत्ता र काठका भाँडा बिक्री गरेर कमाएको रकम मदिरामा खर्च गर्ने गरेकोमा यस पटक मदिरामा खर्च नगर्न सचेत गराइएको भैरवी गाउँपालिकाका उपाध्यक्ष पदमकुमारी बिष्टले जानकारी दिनुभयो ।
दशैंको समयमा सामाजिक सुरक्षा भत्ता मिलेकोले खाद्यन्न, कपडा र मासुको प्रवन्ध गर्न सजिलो भएको राउटे महामुखिया महिनबहादुर शाहीले बताउनुभयो । राउटे किशोरी गाजली शाहीले किशोरीले दशैंमा नयाँ कपडा किन्ने योजना बनाएको सुनाउनुभयो ।
बिरामी पर्दा औषधी खाने, गोडामा जुत्ता चप्पल लगाउने लगायतका संस्कार विकास भएकाले विस्तारै राउटेहरु सामान्य जीवनमा आउन सकिने सम्भावनाको संकेत देखिएको पत्रकार बिष्णु रिजालको बिश्लेषण छ । राउटे समुदायको संस्कृति, प्रचलन र मूल्यमान्यताको कदर गर्दै विस्तार आधुनिक प्रविधिमा प्रेरित गर्न सके केही ढिला भए पनि परिवर्तन गर्न सकिने रिजालले व्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया