एमालेले तोक्यो निर्वाचन क्षेत्र संयोजक

एमालेले तोक्यो निर्वाचन क्षेत्र संयोजक

दैलेख, असोज ९ – नेकपा (एमाले) जिल्ला संगठन सचिवालयको आज बसेको बैठकले दैलेखका २ प्रतिनिधिसभा क्षेत्र र ४ वटा प्रादेशिक निर्वाचन क्षेत्रका प्रत्यक्ष तर्फका उम्मेदवारहरुको नाम सिफारिस गर्न निर्वाचन क्षेत्र संयोजकहरु तोेकेको छ ।


प्रतिनिधिसभा क्षेत्र नं. १ को संयोजकमा तेजबहादुर चन्द, क्षेत्र नं. २ मा सूर्यबहादुर शाही, त्यसैगरी दैलेखका ४ प्रादेशिक क्षेत्र अन्तरगत क्षेत्र नं. १ को एकमा दानबहादुर थापा, दुईमा जगत हमाल, क्षेत्र नं. २ को एकमा हिक्मत बिक र क्षेत्र नं. २ को प्रादेशिक क्षेत्र २ को संयोजकमा हर्कबहादुर शाहीलाई तोकिएको प्रचार विभाग प्रमुख लोमन शर्माले जानकारी दिनुभयो ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सम्वन्धित निर्वाचन क्षेत्र संगठन कमिटीका सबै सदस्यहरु स्वतः निर्वाचन संयोजन कमिटीका सदस्य हुनुहुनेछ भने प्रादेशिक क्षेत्रमा सम्वन्धित गाउँपालिका र नगरपालिकाका सचिवालय सदस्यहरु प्रादेशिक क्षेत्र निर्वाचन संयोजन कमिटीका सदस्य रहनुहुने बताइएको छ ।
नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष रबिन्द्रराज शर्माको अध्यक्षमा बसेको सचिवालय बैठकमा पार्टीको ६ नं. प्रदेश सचिवालय सदस्य टेकबहादुर खाँण, प्रदेश कमिटी सदस्यहरु अम्मरबहादुर थापा, मयाराम अधिकारी, नेकपा एमाले प्रचार विभाग सचिव बिष्णु रिजाल अतिथिको रुपमा सहभागी हुनुहुन्थ्यो ।
नव गठित निर्वाचन संयोजन कमिटीले दशैं लगतै स्थानीय स्तरमा आकांक्षीहरु मध्येबाट ६ वटै क्षेत्रमा एक महिला सहित ३ जनाको नाम नाम सिफारिस गर्ने जिम्मेवारी तोकिएको बताइएको छ । त्यसका लागि पहिले सर्वसम्मतीको प्रयास गर्ने र सहमती नजुटे तत्तत् कमिटीमा मतदान गरी ३ जनाको नाम छनौट गरिने बताइएको छ ।

प्रतिक्रिया