मानवअधिकारप्रति सचेत हुनु पर्छ ः पन्थी

मानवअधिकारप्रति सचेत हुनु पर्छ ः पन्थी

दैलेख, असोज २७ – स्थानीय विकास अधिकारी डिलाराम पन्थीले मानवअधिकारप्रति सबै क्षेत्र सचेत हुनुपर्ने बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को इएलपी परियोजना सल्लाहकार समितिको वैठकमा उहाँले सेवाप्रदायकहरु मानव अधिकार उलंघनकर्ता भएको बताउनुभयो ।


स्थानीय विकास अधिकारी पन्थीले सेवाप्रदान गर्नु पर्ने निकायले सेवा प्रवाहमा ढिला सुस्ती गर्नु, आलटाल गर्नु वा पक्षपात गर्नु मानवअधिकार उलंघन भएको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो ‘हामी अरुले गरेको गल्ती औल्याउछौं तर आफले निर्वाह गर्नुपर्ने भूमिका भुलेका हुन्छ ।’
कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय नेपालगञ्जका कार्यक्रम संयोजक सरस्वती मल्लले इएलपी परियोजनाले आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार प्राप्तीका लागि इएलपी परियोजनाले लिएका उद्देश्य र समग्र मानवअधिकार पौरवी सवाल विषयमा प्रकाश गर्नुभएको थियो ।
त्यसबखत परियोजनाको कार्यक्षेत्र डुंगेश्वर गाउँपालिका वडा नं. १ र ६ का स्थानीय सेवाग्राहीहरु, जनप्रतिनिधिहरु समेतले आफ्नो क्षेत्रमा कृषि, स्वास्थ्य र शिक्षा सम्वन्धी स्थानीय समस्या दर्शाएका थिए । स्थानीयको जनगुनासोका विषयमा सरोकारवाला सरकारी कार्यालयका अधिकारीहरुले जवाफ दिनुभएको थियो ।
जवाफ दिने क्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. शोभित थापाले सरकारले निशुल्क औषधि, विभिन्न रोगको निशुल्क उपचार जस्ता लोकप्रिय कार्यक्रम ल्याए पनि त्यस अनुसार बजेट व्यवस्था नहुँदा नीति अनुसार सेवासुविधा पु¥याउन नसकिएको बताउनुभयो ।
निमित्त जिल्ला शिक्षा अधिकृत भीमप्रसाद शर्माले सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न अनुगमन प्रणाली प्रभावकारी हुन नसकेको स्वीकार गर्दै विद्यालय व्यवस्थापन समिति र नागरिक समाजको सजगता जरुरी रहेको औल्याउनुभयो ।
त्यसबखत इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले इएलपी परियोजना अन्तरगत अघिल्लो वर्ष गरिएका क्रियाकलाप, चालु आर्थिक वर्षमा गरिने क्रियाकलाप बजेट र आपसी सहयोग समन्वय विषयमा सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया