विहे गर्न हिडेकी ४ बालिका फिर्ता

विहे गर्न हिडेकी ४ बालिका फिर्ता

अन्दाजी १३ देखि १५ वर्षका ४ जना बालिकालाई प्रहरी कार्यालय राकमकर्णालीले फिर्ता गरेको छ । अछामको पञ्चदेवल नगरपालिकास्थित विनायकका ती ४ बालिका विहे गरेर पाल्पा जादै गर्दा प्रहरीले रोकेर फिर्ता गरेको हो ।
पाल्पा घर बताउने अन्दाजी १८ देखि २० वर्षका ४ जना युवाहरु विगत केही समयदेखि विनायकमै खोटो संकलन कार्यमा संलग्न थिए । उक्त युवकहरुले ति बालिकाहरुलाई विहे गर्न फकाएर राकमकर्णाली बाट जादै गर्दा प्रहरीले पक्राउ गरेको थियो ।
अभिभावकले वाल हेल्पलाईन १०९८ (दश नौ आठ) जानकारी र वाल हेल्पलाईनवाट खवरको उजुरीका आधारमा ती बालिकालाई पक्राउ गरिएको प्रहरी बिट बेल्खेतका प्रहरी हवल्दार रामबहादुर बमले बताए । अभिभावक आइनसकेको र घटना अनुसन्धान कै क्रममा रहेकाले थप केही बताउन नसकिने बमको भनाई थियो ।
संयुक्त राष्ट्रसंघिय बालअधिकार महासन्धिले १८ वर्ष मुनिकालाई बालबालिका भनि परिभाषित गरेको छ । त्यसैगरी मुलुकी ऐन २०२० ले विहे गर्नका लागि केटा केटीको उमेर २० वर्ष पुग्नु पर्ने व्यवस्था गरेको छ । राज्यले व्यवस्था गरेको कानुन र त्यसबाट श्रृजित समस्याको बारेमा जानकारी नहुदाँ अहिले पनि जिल्लाको ग्रामिण क्षेत्रमा बालविवाह हुने गरेका छन् ।
चार जना एकै चोटी विहे गर्ने वहानामा घरभन्दा धेरै टाढा जानु संकास्पद भएको बाल अधिकारकर्मीहरुको भनाई छ ।

प्रतिक्रिया