निर्वाचन अधिकृतको कार्यालय स्थापना

निर्वाचन अधिकृतको कार्यालय स्थापना

दैलेख, कात्तिक ९ – निर्वाचन आयोगको दोश्रो चरणमा निर्वाचन गर्ने कार्यक्रम सूचीका ४३ जिल्लामा मध्ये दैलेखमा पनि मंसिर २१ गते निर्वाचन हुँदैछ । दोश्रो चरणको निर्वाचन हुने जिल्लामा विहीवार निर्वाचन अधिकृतको कार्यालय खुल्ने क्रममा दैलेखमा पनि विधिवत कार्यालय स्थापना गरिएको छ ।
सदरमुकाम रहेको निर्वाचन क्षेत्र नं. १ मा मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश सनतचन्द्र लवट र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन अधिकृतमा न्याय सेवाका उपसचिव उमाकान्त पौडेलले जिल्ला सदरमुकाममै कार्यालय खोली सक्नुभएको छ ।
एकीकृत रुपमा सूचना व्यवस्थापन, निर्वाचनको लागि जनशक्ति व्यवस्थापन, सुरक्षा लगायतका रणनीति बनाउन र सामग्री सप्लाई समेत सहज हुने भएकोले सदरमुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयले नै तत्तत् अनुसारका प्रदेशसभा निर्वाचनको काम समेत एकैसाथ गरिने मुख्य निर्वाचन अधिकृत लवटले जानकारी दिनुभयो ।
दैलेखमा २ जना प्रतिनिधिसभा र ४ जना प्रदेशसभाका साँसद चुन्न जिल्लाका ४ नगरपालिका र ७ गाउँपालिकाका कुल १ लाख ३९ हजार ९ सय ४४ मतदाता छन् । पछिल्लो अध्यावधिक विवरण अनुसार निर्वाचन क्षेत्र नंं. १ मा ७० हजार १ सय ९० र क्षेत्र नं. २ मा ६९ हजार ७ सय ५४ जना मतदाता छन् ।
निर्वाचन क्षेत्र नं. १ को प्रदेश ‘क’ मा गुराँस गाउँपालिका, डुंगेश्वर गाउँपालिका र भगवतीमाई गाउँपालिकालाई समावेश गरिएको छ अनि प्रदेश ‘ख’ मा नारायण नगरपालिका, महाबु गाउँपालिका र नौमूले गाउँपालिकामा पर्दछन् ।
त्यसैगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ को प्रदेश ‘क’ मा समेटिएको दुल्लू नगरपालिका र भैरवी गाउँपालिका छन् भने क्षेत्र नं. २ को प्रदेश ‘ख’ मा आठबीस नगरपालिका, चामुण्डा नगरपालिका र ठाँटीकाँध गाउँपालिकालाई राखिएको छ ।

 

प्रतिक्रिया