शान्त र मर्यादित निर्वाचनका लागि अन्तरक्रिया

शान्त र मर्यादित निर्वाचनका लागि अन्तरक्रिया

अमर सुनार
दैलेख, कात्तिक १४ – मंसिर २१ गते मतदान हुने निर्वाचन कार्यक्रमका लागि ४५ जिल्लामा कात्तिक १६ गते उम्मेदवारी दर्ता गरिंदछ । दैलेख क्षेत्र नं. १ का मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश सनतचन्द्र लवटले निर्वाचन उम्मेदवारी दर्ता गर्दादेखि नै शान्त र मर्यादित बनाउन सहयोगका लागि अन्तरक्रिया गरेको बताएका छन् ।
निर्वाचनलाई शान्त मर्यादित गराउन जिल्ला निर्वाचन कार्यालयको समन्वयमा आज दैलेखमा राजनीतिक दल र पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रममा उनले यस्तो आग्रग गरेका हुन् ।
क्षेत्र नं. २ का निर्वाचन अधिकृत उमाकान्त पौडेलले निर्वाचन आचार सहिंता कडाईका साथ पालना गराउन जुटेको बताउदै आचार सहिंता उलंघनको प्रकृति अनुसार स्पष्टीकरण माग्ने, सचेत गराउनेदेखि उम्मेदवारी खारेजी सम्मको कारवाही हुने जानकारी दिए ।
त्यसबखत प्रमुख जिल्ला अधिकारी बिश्वराज न्यौपानले निर्वाचन सुरक्षाको व्यवस्थापन प्रभावकारी बनाइएको जानकारी गराउदै सूचना समन्वयमा पत्रकार र राजनीतिक दलको सहयोग अपरिहार्यता औल्याए ।
आजको अन्तरक्रियामा दोश्रो चरणको निर्वाचन कार्यक्रम अनुसार मंसिर २१ गते मतदान हुने सन्दर्भमा उम्मेदवारी दर्ता गराउदा दलहरुका जुलुस तथा कार्य व्यवस्थापनका लागि कात्तिक १६ गते दिउँसो १२ राष्ट्रिय जनमोर्चा, १ बजे नेकपा एमाले र नेकपा माओवादी केन्द्र, २ बजे नयाँशक्ति र नेमकिपा, ३ बजे नेपाली काँग्रेस र राप्रपा अनि अपरान्ह ४ बजे नेकपा क्रान्तिकारी माओवादीले उम्मेदवारी दर्ता गराउन समय निर्धारण गरेका छन् ।
दैलेख क्षेत्र नं. १ र सो अन्तरगतका प्रदेशको उम्मेदवारी दैलेख जिल्ला अदालत र क्षेत्र नं. २ तथा सो अन्तरगतका प्रदेशको उम्मेदवारी दैलेख सदरमुकामकै जिल्ला सरकारी वकील कार्यालयमा दर्ता गराउने स्थान तोकिएको छ ।

 

प्रतिक्रिया