मोवाइल फोन अवरुद्ध, चुनावका सूचना व्यवस्थापन प्रभावित

मोवाइल फोन अवरुद्ध, चुनावका सूचना व्यवस्थापन प्रभावित

अमर सुनार
दैलेख, मंसिर २० – लगातार ३ दिनदेखि बादल लागेपछि दैलेखको पश्चिम क्षेत्रको अधिकांश ठाउँमा मोवाइल टेलिफोन अवरुद्ध भएको छ । सबै ठाउँमा बिद्युत नपुगेको कारण सोलार प्यानलले चार्ज गर्ने गरी नेपाल टेलिकम र एनसेलका बीटीएस टावरमा पावर सप्लाई नै नभएपछि मोवाइल नेटवर्क पूर्ण रुपमा बन्द भएका हुन् ।
घाम नलागेर सोलार चार्ज हुन नसकेपछि दैलेखको पश्चिम क्षेत्रका आठबीस नगरपालिका, ठाँटीकाँध गाउँपालिका, पूर्वी क्षेत्रका नौमूले र भगवतीमाई गाउँपालिकाको पूरै भाग सञ्चार बिच्छेद भएको छ । दुल्लू नगरपालिका, महाबु, भैरवी र गुराँस गाउँपालिकाको आंशिक क्षेत्रमा समेत बादल लागेसंगै मोवाइल फोन चल्न सकेको छैन । मोवाइल नचल्दा चुनावका सूचना व्यवस्थापन प्रभावित भएको छ ।
आम उपभोक्तालाई त असुविधा भएकै छ मोवाइल सेवा समेत अवरुद्ध भएपछि निर्वाचन आयोगले खटाएको मतदान टोली मतदान स्थलमा पुगी सकेपछि पनि त्यहाँ तयारीका कामको निर्वाचन अधिकृतको कार्यालयलाई खबर गर्न सकेका छैनन् । आठबीस नगरपालिकाको राकमबजारका मतदान अधिकृत बिष्णु जैसी र बेरु पाटाका रेवन्त रावलले १७ गते नै मतदान केन्द्रमा पुगेको जानकारी गराए बाहेक अरु खबर गर्न नपाएको बताउनुभयो ।
मतदान केन्द्रमा पुगेको, सर्वदलीय बैठक बसेको, मतदान केन्द्रको ४ किल्ला तोक्ने, मदिरा तथा हतियार निषेधित क्षेत्र तोक्ने, मतदान स्थलको निर्माण सकिएको लगायतका ११ वटा गधिविधिको सूचना मतदान अधिकृतले मोवाइलबाट एसएमएस गर्ने निर्वाचन आयोगले तयार पारेको एप्सबाट सूचना संकलन कार्य प्रभावित भएको छ ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी राजेन्द्र पौडेलले भने ‘निर्वाचन आयोगको इसीएन एप्सबाट एसएमएस गर्ने तरिका सिकाएका थियौं तर मोवाइल नेटवर्क नै अवरुद्ध भएपछि सूचना अध्यावधिक गर्ने मुश्किल भयो ।’ कुल १ सय ९६ मतदान केन्द्र मध्ये बिद्युत सुविधा पुगेका सदरमुकाममा र दुल्लू आसपासका १ सय भन्दा कम मतदान केन्द्रबाट मात्र सूचना अध्यावधिक भएको पौडेलले जानकारी दिए ।
मतदान केन्द्रमा भइरहेको कामको सूचना सञ्चारमै कठिनाई भएको दैलेख क्षेत्र नं. २ का निर्वाचन अनुगमन प्रमुख रामप्रसाद भट्टराईले स्वीकार गरे । मोवाइल सेवा अवरुद्ध हुँदा टेलिफोनबाट सम्वाद गर्न नसकिए पनि सबै मतदान केन्द्रमा प्रहरी सञ्चारले संकलन गरेको सूचना जिल्ला निर्वाचन कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा जानकारी गराइएको अनुगमन प्रमुख भट्टराईले बताए ।

प्रतिक्रिया