पाठेघर खस्ने समस्या न्युनिकरण गर्न ध्यानाकर्षण

पाठेघर खस्ने समस्या न्युनिकरण गर्न ध्यानाकर्षण

दैलेख ४ पौष
महिलाहरुको पाठेघर खस्ने समस्या न्युनिकरणका लागि गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाइएको छ । दैलेखको डुङ्गेश्वर गाउँपालिकाको वडा नं. ५ मा रहेका महिला संजालले गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर मल्ल समक्ष ध्यानाकर्षण पत्र बुझाएका हुन् । संजालले डुङ्गेश्वर गाँउपालिकामा रहेका महिलाहरुको पाठेघर खस्ने समस्या र यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्वन्धी ध्यानाकर्षणपत्र मार्फत ध्यानाकर्षण गराएको हो । बाल विवाह न्युनिकरणका लागी वडा स्तरमा विशेष कालका कार्यक्रम तय गर्नुपर्ने, बाल बालिका र महिला शसक्तिकरण शिर्षकमा आएको रकम अन्य शिर्षकमा खर्च गर्न नपाइने जस्ता ५ बुद्धे मागहरु राख्दै ध्यानाकर्षण पत्र बुझाइएको हो ।

नेपालको सन्दर्भमा सानै उमेरमा विवाह गर्ने, दक्ष स्वास्थ्यकर्मीहरुको अभावमा सुत्केरी गराउने,गर्भवती तथा सुत्केरी अवस्थामा उचित पोषण तथा स्याहारको कमीका कारण पाठेघर खस्ने समस्या जटिल बन्दै गएको अबस्थामा गाउँपालिकालाई ध्यानाकर्षण गराइएको जनाइएको छ । यस्तै समग्रमा महिलाहरु माथी जन्मदेखी नमरुन्जेल सम्म गरिने भेदभावका कारणले पाठेघर खस्ने समस्या बढ्दै गइरहको भन्दै त्यस्ता क्रियाकलाप रोक्नका लागि प्रयास थाल्न गाउँपालिकालाई अनुरोध समेत गरिएको छ । ध्यानाकर्षण पत्रमा भनिएको छ “पाठेघर खस्नु महिलाहरुको कुनै दोष वा रोग होइन, पितृसतात्मक परिवार समाज र राज्य संरचनाको उपज हो ”।
ध्यानाकर्षण पत्र बुझाउदै महिला संञ्जालकी अध्यक्ष रत्ना वाक्लेले समाजिक समस्या भएका कारण न्युनिकरणको दायित्व वडा कार्यालय, गाँउपालिका,नगरपालिकालाई महत्वपूर्ण भुमिका रहेको बताइन् । आगामी वर्षमा पाठेघर खस्ने समस्याका लागी नितिगत निर्णय गर्ने गाउँपालिकाका अध्यक्ष नगेन्द्र मल्लले बताए । महिला ,बालबालिका लागी आएको रकम अन्य शिर्षकमा खर्च नगर्ने,स्क्यानिङ्ग शिविर संचालन गर्ने लगाएतका प्रतिबद्धता अध्यक्ष मल्लले गरे ।
दैलेखको सन्दर्भमा बस्ती गाँउ स्तरमा विभिन्न दातृ निकायहरुले पाठेघर खस्ने समस्यालाई न्युनिकरणका लागी विभिन्न कार्ययोजना तयार गरी लागु गरेका छन् । जिल्ला स्तरमा पनी केही संस्थाहरुले हात हालेको छ । बढ्दो बाल विवाह नै यसको उपज बनेको छ । स्वास्थ्य सेवा विभागको वार्षिक प्रतिवेदन अनुसार २०७२÷०७३ अनुसार नेपालमा २५ प्रतिशत महिलाहरुको पाठेघर खस्ने समस्याबाट पिडित छन् भने दैलेख जिल्लामा महिला शसक्तिकरण मञ्च,मायाकोष समिती, जिल्ला स्वास्थ्य कार्यालय दैलेखले जिल्लाका ६ वटा स्थानमा गतवर्ष गरेको पाठेघरको जाँच सम्वन्धी स्क्यानिङ्ग शिविरमा सेवा लिन आएका ६ सय ६५ जना महिलाहरु मध्ये २७ प्रतिशत महिलाहरु पाठेघरको समस्याबाट पिडित रहेका छन् । अहिले पनि पाठेघर खस्ने समस्याबाट १५ देखी ८० वर्षका महिलाहरु पिडित छन् ।

 

प्रतिक्रिया