भूमे गाउँपालिका रुकुमको केन्द्रमा हेरफेर

भूमे गाउँपालिका रुकुमको केन्द्रमा हेरफेर

भूमे गाउँपालिका रुकुम (पूर्व) को गाउँसभा बैठकले गाउँपालिकाको केन्द्रमा हेरफेर गरेको छ । मिति २०७४ पौष ८ गते सिमास्थित श्री शहिद शुक्र माद्यामिक विद्यालय सिमाको हलमा गाउँपालिकाका अध्यक्ष श्री रामसुर बुढा मगरज्यूको अध्यक्षतामा बसेको गाउँसभा विशेष बैठकको कार्यसूची नं १ मा रहेको उक्त प्रस्ताव उपर छलफल गरी गाउँपालिकाको केन्द्र हेरफेर गरेर भूमे गाउँपालिका वडा नं २ स्थित खाबाङ बगरमा तोक्न नेपाल सरकार समक्ष सिफारिश गर्ने निर्णय गरेको हो ।

स्थानीय तह सिमा तथा संख्या निर्धारण आयोगको सिफारिशमा नेपाल सरकारले मिति २०७३ फागुन २७ गते तत्काललाई साविकको मोराबाङ गाविस रहेको स्थानमा गाउँपालिका केन्द्र तोकेको थियो । स्थानीय तहको सेवा सञ्चालन सम्बन्धी गरिएको आदेश २०७४ को दफा १ मा पहिलो निर्वाचन भएको मितिले ६ महिनाभित्र गाउँसभामा तत्काल कायम रहेको सदस्य संख्याको बहुमत संख्याले गाउँपालिका तथा नगरपालिकाको नाम वा केन्द्र हेरफेर गर्न नेपाल सरकार समक्ष सिफारिश गरी पठाएमा उक्त नाम वा केन्द्र हेरफेर गर्न सकिने व्यवस्था गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ (१) मा नेपाल सरकारले प्रदेश सरकारको परामर्शमा गाउँपालिका तथा नगरपालिकाको नाम वा केन्द्र तोक्ने व्यवस्था गरिएको छ। यसरी गाउँपालिका वा नगरपालिकाको नाम वा केन्द्र हेरफेर गर्नुपरेमा सम्बन्धित सभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाई बहुमतले पारित गरेको प्रस्ताव कार्यपालिकाले प्रदेश सरकार मार्फत नेपाल सरकार समक्ष पठाउनुपर्ने व्यवस्था गरेको छ। यद्यपी सोही दफा ४ को उपदफा (५) मा भने गाउँपालिका तथा नगरपालिकाको पहिलो निर्वाचन भएको मितिले छ महिनाभित्र सम्बन्धित सभामा तत्काल कायम रहेको सदस्य संख्याको बहुमतबाट प्रस्ताव पारित गरी एकपटकको लागि गाउँपालिका वा नगरपालिकाको नाम वा केन्द्र हेरफेर गर्न नेपाल सरकारमा सिफारिश गरेमा नेपाल सरकारले सो सिफारिशबोमजिम नाम वा केन्द्र हेरफेर गर्नुपर्नेछ भन्ने व्यवस्था भएकाले सोही व्यवस्था बमोजिम भूमे गाउँपालिकाको गाउँसभाले केन्द्र हेरफेर गरी खाबाङबगरलाई तोक्न नेपाल सरकारसमक्ष सिफारिश गरी पठाउने निर्णय गरेको हो ।

भूमे गाउँपालिका वडा नं ९ का वडाध्यक्ष तथा विधेयक समितिका संयोजक श्री प्रवेश पुनले प्रस्तुत गर्नुभएको गाउँपालिका केन्द्र तोक्नेसम्बन्धी प्रस्ताव उपर छलफलमा भाग लिने सदस्यहरुले भूमे गाउँपालिकाको केन्द्रका विषयमा विगतदेखि आपसी विवाद र असहमतिहरु भए पनि यस पटकको बैठकले भावी पुस्ताले समेत सिक्ने गरी गर्व गर्न लायक ढङ्गले आपसी सहमतीय ढङ्गले कसैले पनि नहार्ने वातावरण बनेको कुरामा जोड दिनुभयो । भित्री मनभित्र गाउँपालिकाको केन्द्र राख्ने इच्छा र चाहना आफूहरुमा भएको भएता पनि एउटा केन्द्र एक स्थान बाहेक अन्य स्थानमा तोक्न सम्भव नहुने भएकाले किट्टाकाट गरेर आपसी दूरी बढ्ने भएकाले आपसमा मिलेर समृद्ध भूमे निर्माणमा हातेमालो गर्ने उद्देश्यले सभाका सदस्यहरमा संयमता र विवेकशीलताको विकास भएकोमा सबैले गर्व गर्नुपर्ने कुरामा जोड दिनुभयो। गाउँसभा बैठकको अध्यक्षता श्री रामसुर बुढाले गर्नुभएको थियो भने उपाध्यक्ष श्री मनकुमारी बुढा (विष्ट) प्रमुख प्रशासकीय अधिकृत श्री चन्द्रसिंह श्रेष्ठ लगायत ४५ जना गाउँसभा सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया