जोखिम पूर्ण काममा बालबालिका

जोखिम पूर्ण काममा बालबालिका

हिक्मत नेपाली
पौष १५, दैलेखको पश्चिममा पर्ने आठवीस नगरपालिका पिपलकोट छामका १३ बर्षिया चक्र बहादुर नेपाली एका विहानै उठ्छन् । ब्रस गर्छन अनी सुक्का रोटी र नुन खुर्सानीको धुलो संग रोटी खाएर पलाष्टिकको नाम्लो र बारो बोकेर नजिकैको सल्ला घारीमा पुग्छन् । खोटो कम्पनीका कर्मचारीले भरेर राखेको खोटोका कन्टर बोकेर ओराला लाग्छन् । दुई घण्टा ओराला झरेर आठवीस नगरपालिकाको खिड्किजिउला सम्म खोटोको कन्टर पुर्याउछन् । उनले एक बट्टा खोटोको कन्टर बोकेर पुर्याए बापत १ सय ३० रुपैयाँ पाउछन् । उनले नगद पैसा भने अहिले सम्म पाएका छैनन् । खोटो बोकेर ल्याइदिए बापत पाउने रकमको सामान लिएर उकालो लाग्छन् । दुई घण्टाको उकालो सकेर घर पुग्छन् र हतार हतार स्कुल जान्छन् ।
उनि जस्तै उनकी बहिनीको दिनचर्या पनि उस्तै छ । चक्र नेपालीका बहिनी आठवीस नगरपालिका पिपलकोट छामकी १० बर्षिया अस्मिता नेपालीको दिनचर्या पनि उस्तै छ । १३ बर्षिया चक्र नेपाली जस्तै अस्मिता पनि एका विहानै उठ्छिन् । ब्रस गर्छन अनी सुक्का रोटी र नुन खुर्सानीको धुलो संग रोटी खान्छिन् । दाई संग पलाष्टिकको नाम्लो र बारो बोकेर सल्ला घारीमा राखिएका खोटोका कन्टर सकि नसकी बोक्छिन् । खोटो कम्पनीका कर्मचारीले भनेअनुसार खोटोका कन्टर बोकेर ओराला लाग्छिन् । दुई घण्टा ओराला झरेर आठवीस नगरपालिकाको खिड्किजिउला पुर्याउछिन् ।
एक बट्टा खोटोको कन्टर बोकेर पुर्याए बापत १ सय ३० रुपैयाँ पाउछन् । उनले पनि खोटो बोके बापतको नगद पैसा पाएको भने कुनै दिन छैन् । पाउने रकम बापतको सामान लिएर उकालो लाग्छिन् । दुई घण्टाको उकालो सकेर घर पुग्छिन् र हतार हतार स्कुल जान्छिन् ।
चक्र र अस्मिता मात्र होइन सोही ठाउँ निवासी ५५ बर्षिया नन्द कामीको दिनचर्या पनि उस्तै उस्तै छ । एका विहानै खोटोको कन्टर बोकेर ५ बहिनी छोरी सहित आरालो लाग्छिन् । ७ जनाको परिवार रहेको नन्द कामीको साना छोरीहरु छन् । छोरीहरुलाई अगाडी लगाएर खोटोको कन्टर बोकेर ओरालो लागेकी नन्द एका विहानै खिड्किजिउलामा भेटिइन् । उनि खोटो बोकेको ज्याला वापतका सामानहरु किन्दै थिइन् । चक्र र अस्मिता प्रतिनीधि पात्र मात्रै हुन् । सोहि ठाउँका दर्जनौ बालबालिका खोटो व्यापारमा जोखिमपूर्ण काम गरिरहेका छन् ।
आठवीस नगरपालिका भित्रका विभिन्न वडामा निकालीएको खोटो सडकको पहुँच भएको स्थान सम्म पुर्याउनका लागि कलिला बालबालिका, महिला र बृद्ध बृद्धा खटिदै आएका छन् । जिल्लामा बाल अधिकारको चर्को भाषण गरिदै आएको भएपनि कलिला बालबालिका अहिले पनि जोखिम पूर्ण कामगर्न बाध्य भएका हुन् ।
खोटो बोकेरै पढाई खर्च र घरायसी खर्च बेहोर्दै आएका छामका चक्र नेपाली भन्छन् “खोटो नबोकी पढ्न जान पाउदैनौ ।” उनका अनुसार खोटो बोक्ने बालबालिकाहरुले नगद रकम नपाउने र पैसाले चाहिएको सामान लिने गरेको बताए ।खोटो संकलनका लागि बसेका कम्पनीले पनि स्थानीय व्यक्तिलाई खोटो संकलन र ओसार पोसारको जिम्मा दिने गरेका छन् । खोटो कम्पनीबाट जिम्मा लिएका व्यक्तिहरुले दोहोरो फाइदा गरिरहेको पाइएको छ । एक तर्फ खोटो बोकाएर व्यापार गरिरहेका छन् भने अर्को तर्फ खोटो बोकेको रकम बापत सामान दिएर व्यापार गरेको छामका एक स्थानीय व्यक्तिले बताए । नाम नबताउने सर्तमाउनले भने “खोटो संकलनको जिम्मा पाएका स्थानीयले बालबालिका लाई काममा लगाउने गरेका छन्, बालबालिकालाई काममा लगाएर ज्यालाको नगद रकम पनि दिदैनन् । पसलमा भएका सामानहरु दिएर पठाउछन् । ”

प्रतिक्रिया