दैलेख सदरमुकामका टहरा हटाउँदै नगर

दैलेख सदरमुकामका टहरा हटाउँदै नगर

हिक्मत नेपाली
दैलेख पौष १६ , दैलेखको नारायण नगरपालिकाले सदरमुकामका घरअगाडीका अस्थायी टहरा हटाउने अभियान सुरु गरेको छ । नारायण नगरपालिकामा रहेको सदरमुकाम दैलेख बजारलाई सुन्दर बनाउने उद्देश्यले नारायण नगरपालिका दैलेखले सुचना जारी गरेसंगै आइतवारदेखि सडक आसपासका पेटी तथा अस्थायी टहरा हटाउन शुरु गरेको हो ।

सदरमुकामका अस्थायी टहरा भत्काउदै जनप्रतिनीधि र कर्मचारीको टोली ।

नारायण नगरपालिकाले शुक्रवार घरदैलो गरेर यस्ता टहरा हटाउन अनुरोध गरेको भएपनि स्थानीय व्यापारी तथा घरधनीहरुले अटेरी गरेपछि नारायण नगरपालिकाका मेयर, उपमेयर र कर्मचारीहरुको टोलीले आइतवारदेखि यो अभियान संचालन गरेको छ । सडक अतिक्रमण गरी बनाइएका टहराका कारण बाटो साँघुरो हुँदै गएको, ठूला सवारी नगर क्षेत्रभित्र प्रवेश गर्न गाह्रो भएको र सदरमुकामको शोभा नै बिग्रिएको भन्दै डोजर लगाएर टहरा भत्काउन थालिएको हो । टहरामा राखिएका होटल, पसलका कारण नगर क्षेत्रमा फोहोर बढ्दै गएकाले अभियान थालिएको नगर प्रमुख रत्नबहादुर खडकाले बताए ।
नगर प्रमुख रत्नबहादुर खड्का, उपप्रमुख सावित्री मल्ल, वडा नम्बर १ का वडा अध्यक्ष तीर्थनारायण श्रेष्ठ, वडा नं ६ का वडा अध्यक्ष प्रकाश न्यौपाने र कार्यकारी अधिकृत जगत बस्नेत तथा प्रहरी इन्सपेक्टर एकेन्द्र्र खड्का लगायतको टोली आइतवार टहरा हटाउने अभियानमा खटिएको कार्यकारी अधिकृत जगत वस्नेतले जानकारी दिए । नारायण नगरपालिकाले सडकमा सामाग्री नराख्न, जथाभावी पार्किंग नगर्न र टहरा हटाउन भन्दै यही पुस १५ गतेसम्मको समयसीमा तोकेको थियो । नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै बजार व्यवस्थित बनाउन आग्रह गरे पनि त्यसको सुनुवाई नगरेकाले वाध्य भएर नगरपालिकाले हटाउन शुरु गरेको नगर प्रमुख रत्नबहादुर खड्काले बताए । ‘नगर स्वच्छ सफा राख्ने सवैको जिम्मेवारी हो’ प्रमुख खड्काले भने, ‘यसको व्यवस्थापन गरी व्यवस्थित सहर निर्माण गर्न टहरा हटाउन लागेका हौं ।’
सडक किनारसँग जोडिएर बनाइएका टहराका कारण फोहोर व्यवस्थापन गर्ने सामग्री राख्नसमेत अप्ठ्यारो भएपछि टहरा हटाउन नगरपालिका बाध्य भएको खड्काको भनाई छ ।
सडकमै सामान राखेर बिक्री गर्न थालेपछि गाडी र मानिसलाई हिँडडुल गर्नै समस्या हुदै आएको थियो । सबै टहरा तथा सडक छेउका पेटी हटाइसकेपछि नगरपालिकाले फोहोर व्यवस्थापन र नगर क्षेत्रको सुन्दरता बढाउने अभियानमा लागेको नारायण नगरपालिकाका कार्यकारी अधिकृत जगत वस्नेतले बताए । ‘बजारका घर अगाडी सडक मिचेर बनाइएका टहरा, छाप्रा, पसल अगाडीको सामान र जथाभावी पार्किंग हटाउन नगरपालिकाले सुचना जारी गरी समयसीमा दिएको थियो’ कार्यकारी अधिकृत बस्नेतले भने, ‘तर स्थानीय व्यापारी तथा घरधनीको अटेरीले यस्ता टहरा हटाउन भन्दै बल प्रयोग गर्ने अवस्था आएको हो ।’ आइतवार मात्रै नगरका दर्जन भन्दा बढि अस्थायी टहराहरु हटाइको छ । उनले यस अभियानमा जिल्ला प्रहरी कार्यालयको राम्रो सहयोग भएकाले पनि शुन्दर नगर वनाउने अभियान सफल हुने विश्वास व्यक्त गरे ।
जथाभावि पार्किङ र सडकका छेउमा व्यपारीक सामानले कुरुप बन्दै गएको सडक यो अभियानले सफा देखिएको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्सपेक्टर एकेन्द्र खड्काले वताए । ‘व्यवस्थित सहर निर्माण गर्ने नगरपालिकाको अभियान सफल बनाउन हामीले पनि यस काममा ऐक्यबद्धता जनाएका छौं ।’ उनले भने, ‘यो अभियानमा सवैले सहयोग गर्नुपर्छ ।’

प्रतिक्रिया