गाउँपालिकाले दियो विदेशिने युवालाई गाउँमै रोजगार

गाउँपालिकाले दियो विदेशिने युवालाई गाउँमै रोजगार

मासिक २४ हजार तलव

१०० जनाको निर्माण कार्यदल, महिनाको २४ दिन काम गर्नुपर्ने

जिल्लाको पलाँता गाउँपालिकाले युवाहरुलाई विदेशिनबाट रोक्न युवामैत्री नीति तथा कार्यक्रम ल्याएको छ ।

युवाहरु खाडीमुलुक जानु पर्ने समस्याबाट उन्मुक्ति दिन बिभिन्न् युवा लक्षित कार्यक्रम बनाएर गाउँपालिकाले युवाहरुलाई रोजगार दिन सुरु गरेको हो ।गाउँपालिका भित्रका भौतिक पूर्वाधारका कामहरुमा युवाहरुलाई संगठित रुपमै लगाउने जिम्मा गाउँपालिकाले लिएको छ ।स्थानीय तहमा जनप्रतिनिधि आएसँगै युवाहरु आफ्नो गाउँ आफै बनाउँ, युवाहरु बिकासमा र युवा स्वरोजगार जस्ता कार्यक्रम सञ्चालन भएका छन् ।

गाउँपालिकाले निर्माणका लागि युवा कार्यदल तयार गरेको छ । गाउँमा कार्यदलले उपभोक्ता समितिसँग मिलेर स्थानीय सडक निर्माणका कार्यहरु गर्ने गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बमले जानकारी दिए ।

दक्ष जनशक्ति बाहिरिने र विकासका कार्यमा बाधा आइपर्ने समस्याको अन्त्यका लागि स्थानीय सडक निर्माणमा कार्यदल गठन गरिएको अध्यक्ष बमको भनाइ छ ।

पलाँता सुख्खा खडेरीग्रस्त क्षेत्र हो । यहाँका युवाहरु ६ महिना भारत बसेर ६ महिना मात्रै घरमा बस्ने गर्छन् । अब यो समस्या हट्ने अध्यक्ष बमले दावी गरे । गाउँपालिकाले पहिलो चरणमा १०० युवाहरुलाई डेढ लाखको बीमासहित छुट्टै पोसाक दिएर पहिचानसहित काममा लगाउने तयारी गरेको छ । उनीहरुले दैनिक ८ घण्टा काम गरे बाफत ८ सयका दरले महिनामा २४ हजार नियमित पाउने छन् ।

सामूहिक बिकासको अबधारणा अनुसार युवालाई बिकासमा लगाउने उद्देश्यका साथ भौतिक पूर्वाधार निमार्ण गर्न युवा कार्यदल गठन गरिएको गाउँपालिकाका कार्यकारी अधिकृत लेखबहाुर क्षेत्रीले जानकारी दिए ।

कार्यदलका सदस्यले महिनामा तीन दिन सरसफाइ, तीन दिन सामाजिक कार्य र २४ दिन निर्माण कार्य गर्ने गरेका छन् ।

पुस महिनाको २४ हजार तलब कार्यदलका सदस्यहरुले पाइसकेको कार्यकारी क्षेत्रीले बताए ।

कार्यदलका सदस्यहरुले समाजिक लगानी कोष बाफत महिनामा २ हजार जम्मा गर्ने छन् । साथै वर्षमा २४ लाख कामका लागि युवा सहकारीका नाममा जम्मा हुने छ । उक्त रकमले युवाहरुको सम्बृद्धिको काम र बिपद् जोखिम् न्यूनिकणमा खर्च गरिने छ ।

कार्यदलका सदस्यहरुले पाउने सेवा सुविधा सम्बन्धित सडक निर्माण आयोजनामा नै ब्यवस्था गर्ने सहमति भएको अध्यक्ष बमले बताए ।

विदेशिने युवाहरुलाई रोजगारी दिएर स्थानीय विकास निर्माण प्रक्रियामा सहयोग पुर्याएको त्यहाँका युवाहरुले प्रतिक्रिया दिएका छन् ।

स्थानीय सरकारले सहजै रोजगारी प्राप्त हुने गरी युवा लक्षित कार्यक्रम ल्याएपछि युवाहरु उत्साहित भएको कार्यदलका सदस्य पूर्णबहादुर बमले बताए । पलाँताका प्रत्येक वडा बाट दश-दश जना र गाउँपालिका अध्यक्षको सिफारिसमा दश जना गरी एक सय जनाको कार्यदल निर्माण गरिएको छ ।

उनीहरुलाई कुन दिन के काम दिने भनेर गाउँपालिकामा छलफल हुने र सोही अनुसार काममा लगाउने गरिएको अध्यक्ष बमले बताए ।

‘ बिकासका लागि सक्षम मानिएको युवा शक्ति बिदेश पलाएन हुने आफ्नो ठाउँको बिकासका लागि कामदार पाइएन भन्दै डोजर मालिकलाई पोस्ने काम गाउँपालिकाले गर्दैन,’तिनै बेरोजगार युवाहरुलाई रोजगार दिन गाउँपालिकाले यो वर्षका लागि एक करोड ८० लाख बजेट बिनियोजन गरेको छ।’

प्रतिक्रिया