क्याम्पसमा अनिश्चितकालिन तालाबन्दी

क्याम्पसमा अनिश्चितकालिन तालाबन्दी


दुई दशक देखि दैलेख सदरमुकाममा संचालजनमा रहेको नारायण क्याम्पस रामपुरमा अनिश्चितकालिन तालाबन्दी गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियनले विभिन्न १० बुँदे माग राख्दै क्याम्पसमा तालाबन्दी गरेको हो । स्ववियू पदाधिकारीहरुले सोमवार क्याम्पसमा तालाबन्दी गरेका हुन् । यस अघि स्ववियु कमिटिले पटक पटक मौखिक रुपमा विभिन्न मागहरु राख्दा समेत क्याम्पस प्रशासनले आफ्ना मागहरु सम्बोधन नगरेको भन्दै क्याम्पसमा तालाबन्दी गर्न बाध्य भएको नारायण क्याम्पस स्ववियू सभापति रेखा थापाले जानकारी दिनुभएको छ । क्याम्पसमा तालाबन्दी पछि जारि गरिएको प्रेश विज्ञप्तीमा भनिएको छ ‘यस अघि पनि पटक पटक क्याम्पस प्रशासनलाई ज्ञापन पत्र मार्फत माग राख्दा समेत क्याम्पस प्रशासनले वेवास्ता गरेकोले स्ववियू कमिटि आन्दोलन स्वरुप क्याम्पसमा तालाबन्दी गर्न बाध्य भएको हो । ’


स्ववियूले क्याम्पसमा बृद्धि गरिएको परिक्षा शुल्क ५० प्रतिशत घटाउनु पर्ने माग राखेको छ । यस्तै क्याम्पसबाट प्रकाशित गर्नुपर्ने बार्षिक छात्रबृति नियमित प्रकाशित गर्नुपर्ने तथा त्यसलाई बढाएर १५ प्रतिशत पुर्याउनु पर्ने माग राखिएको स्ववियू सचिव प्रकाश शर्माले जानकारी दिए । क्याम्पस प्रशासनले २०६८ देखि स्ववियू शुल्क भनी विद्यार्थीबाट उठाएको रकम स्ववियूको खातामा जम्मा गर्नुपर्ने, क्याम्पसको पुस्तकालयमा नयाँ पाठ्यक्रम अनुसारको पुस्तक व्यवस्था गरिनुपर्ने, पुस्तक वितरणका लागि एक निश्चित मापदण्ड बनाई क्याम्पसका अध्ययनरत दलित जनजाती, अपांग तथा निम्न वर्गका विद्यार्थीहरुलाई थप ५० प्रतिशत पुस्तक उपलब्ध गराउनुपर्ने माग राखिएको छ ।
यसैगरि प्रयाप्त मात्रामा शैक्षिक र खेलकुदका सामग्री व्यवस्थापन गर्नुपर्ने, कक्षा कोठाहरुमा बैकल्पीक उर्जाको व्यवस्थापन गरिनुपर्ने, क्याम्पसमा अध्ययन गर्नुपर्ने ऐच्छिक विषयको अध्ययनका लागि विषयविशेषज्ञको व्यवस्थापन गर्नुपर्ने माग राखिएको छ । क्याम्पसमा शुद्ध खानेपानीको व्यवस्था, शौचालयको उचित सरसफाईको व्यवस्थापन, क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखहरुको दोहोरो पेशाका कारण पढाई प्रभावित भएकोले यस्तो समस्या समाधान गरिनुपर्ने तथा क्याम्पसको आय व्यय तथा लेखा परिक्षण प्रतिवेदन तत्काल सार्वजजिक हुनुपर्ने माग राखिएको छ ।
क्याम्पस प्रशासन संग पटक पटक मौखिक र लिखित रुपमा राखिएको माग सम्बोधन नभएपछि क्याम्पसमा तालाबन्दी गरिएको बताउदै आफ्ना मागहरु पुरा नभए सम्म क्याम्प्समा लगाएको ताला नखोलिने स्ववियू सभापति रेखा थापाले बताइन् । क्याम्पसमा तालाबन्दी पछि क्याम्पसको पढाई प्रभावित भएको छ ।

प्रतिक्रिया