मैले देखेको धनि दैलेख

        रामहरि अधिकारी   |   प्रकाशित मितिः बुधबार, माघ १७, २०७४     ::: 485 पटक पढिएको   |  

जिवनको रथलाई गुडाउने क्रममा नेपालका विभिन्न जिल्लाहरु घुम्दै जाँदा दैलेख आउने मौका मिल्यो ।. बास्तबमा भन्नु पर्दा हेटौडाको सुविधा सम्पन्न ठाउँमा राम्रै संस्थामा काम गरिरहेको मलाई दैलेखको बारेमा निकै धेरै कुराहरु सुनेकोले यहाँ आउँन मन लागि रहेको थियो र यहि आएर काम गर्ने जागिर पाइसके पछि पैसा नतिरिकन घुम्न पाइने लालसाले यहाँको मध्यकालीन सभ्यता युक्त समाज हेर्ने, यहाँका पुरातात्विक महत्वका बस्तुहरुको अबलोकन गर्ने मौका मेरो जागिरले नै मिलाइदिएको सम्झी म यहाँ आएको थिए आज भन्दा करिब ३ महिना अगाडी ।
नेपालका ५४ जिल्ला घुमी वा पुगी सकेको मलाई दैलेख आउँदा अरु जिल्ला भन्दा फरक अनुभूत हुने विभिन्न कुराहरु देख्ने र अनुभब गर्ने मौका मिल्यो । यहाँका पुरातात्विक सम्पदा, यहाँको मनोरम वातावरण, यहाँको मिलनसार समाज, मिठो भाषा शैली, राम्रा चिटिक्क परेका घर गाउँ, उब्जाउ फाँटहरुले गर्दा यहाँ आएर मैले सहि निर्णय नै गरे जस्तो लाग्यो । मध्यपहाडका अन्य छिमेकी जिल्लाहरुको तुलनामा हरेक कुरामा अग्रणी यस जिल्लामा खास गरि नेपालको इतिहासको मध्यकालीन खस राज्यका इतिहास, सभ्यता र गतिविधिहरु जनाउने धेरै प्रशस्त स्तम्भहरु जताततै देख्न पाइयो ।

जुन नेपालका अन्य कुनै जिल्लामा देख्न पाइन्दैन । दैलेखको पञ्चदेवलका असंख्य देवलहरु, दुल्लु, रावतकोटका देवलहरु, दैलेख बजार, डाँडीमाड़ी, दुल्लु र अन्यत्र यत्रतत्र छरिएका सयौं शिला स्तम्भहरुले जीवित इतिहास बोलि रहेका छन् ।.आज भन्दा १००० वर्ष सम्म पुराना खास गरि खस मल्लकालिन पुरातात्विक सम्पदाहरुले दैलेखको मात्र नभई सम्पूर्ण नेपाल र मानव जातिकै महत्वपुर्ण इतिहासलाई उजागर गर्ने काम गर्न सक्छन । दैलेखमा रहेका सम्पदाहरु समग्र कर्णाली भेगकै गौरबको रुपमा रहेका छन् ।

तर दुःखको कुरा यी स्तम्भमा के लेखिएको छ । किन यी स्तम्भहरु यसरी ठड्याईएका थिए ? यिनले के भन्न खोजेका हुन् ? यिनलाई किन र कसरि जगेर्ना गर्नु पर्छ. ? यी सम्दाहरुले हाम्रो समाजलाई कसरि फाइदा दिन सक्छनु भन्ने कुरा कतै छलफल भएको, चिन्तन मनन भएको मैले देखिन पाइएन । कतिपय स्तम्भहरु भत्किने जिर्ण हुने र हराउनेसम्म भएका छन् । कतिपय ठाउँमा त यस्ता स्तम्भहरु सडकको बिचमा परेको, किला बनाएर भैसी बाँधेको, लुगा सुकाउने, खेल्ने ठाउं.बनाएको र तीनमा लेखिएका कुराहरु मेटीदै र उप्किन्दै गएको देखिएको छ । तर यसले गर्दा मनमा चिन्ता उब्जिने मान्छे कोहि देखिएन । यिनको खोजि र सम्रक्ष्यणका लागि ठोस पहल भएको मैले देखिन ।
यति मात्र होइन यस संगसंगै श्रीस्थान, नाभिस्थान, पादुकास्थान जस्ता पौराणिक दृष्टिले अत्यन्त महत्वपुर्ण ठाउँ यहि छन् । यति मात्र नभएर यि स्थानहरुमा निस्केका ज्वालाहरुले यो जिल्लामा खनिज तेल र ग्यासको ठुलो भन्डारहरू रहेको संकेत गर्दछन । तर यहाँ मानिसहरु ती ग्यासको भण्डार पत्ता लगाउनको लागि पहल गर्ने र दबाब दिने भन्दा यिनीहरुलाई देबी देउताको ज्वाला मानेर पुजा गरेर चित्त बुझाउने तिर लागेको देखिन्छ । . यदि यी ठाउँमा ग्याँसको उत्खनन र उत्पादन गर्न सक्ने हो भने नेपालको अर्थतन्त्रमै कायापलट गराउन सक्छ यस जिल्लाले ।
यस जिल्लाको सदरमुकाममा रहेको कोटगढ़िको ऐतिहासिक किल्ला बन्द अबस्थामा रहेको छ । जुन खुल्ला भएर आगन्तुकहरुलाई स्वागत गर्न पाए हजारौं पर्यटक हरुलाई आतिथ्यता दिन सक्थ्यो होला ।
संग संगै राउटे जस्ता लोपोन्मुख जातिको बसो बास भएको जिल्ला यहि हो । यस कुरालाई प्रचार प्रसार गर्न सक्ने हो भने मानब शास्त्री, समाज शास्त्रिहरुको पनि गन्तब्य हुन सक्छ यो जिल्ला ।
यो सम्बन्धमा यहाका नेताहरु, बुद्दिजिबिहरुसंग कुरा गर्न खोज्दा प्राय सबैको यौटै जबाफ थियो, ” योगी नरहरि नाथले ती शिलालेख सबै पढेका र अर्थ लगाएका थिए ” तर तीनले के पढेका थिए र के अर्थ लगाएका थिए अनि हाम्रो जिम्मेवारी के हो ? ” भन्ने बारेमा कसैलाई थाहा र चासो भएको मैले पाइन । कतिपयले त मैले यी जिज्ञासा राख्दा, ”यसले कुनै प्रोजेक्ट ल्याउन लागेछ क्यारे” भन्ने सोचेर ” तपाइको बजेट कति छ, हामीले के गरि दिनु पर्यो?” भनेर समेत सोध्न भ्याए ।.
बेलायत जस्ता देशमा यस्तै सम्पदा हेर्न नेपाली हजारौं रुपैयाँ बरावरको टिकट काटेको र सो पैसाबाट सो सम्पदाको संरक्षण भएको देखेको मलाई आफ्नो सम्पत्तिको बारेमा भएको उदासिनता देखेर वडो नरमाइलो लाग्यो । अब देशमा संघियता आएको छ । स्थानिय तहहरुको चुनाब सम्पन्न भएर अधिकार सम्पन्न निर्वाचित जना प्रतिनिधिहरुले शासन भार सम्हालेका छन् । उनीहरुलाई आफ्नो क्षेत्रको पुरातात्विक सम्पदाहरुको संरक्षण गर्ने र पर्यटनको योजना बनाउने अनि आफ्नो प्राकृतिक साधन श्रोतको पहिचान र परिचालन गर्ने अधिकार दिएको छ र आफ्नो तहलाई आर्थिक रुपमा सम्पन्न गर्ने र ऐतिहासिक गौरब कायम गर्ने दायित्व पनि सुम्पेको छ ।

यसैले स्थानिय तहहरुलाइ आफ्नो सम्पत्तिको रुपमा रहेका सम्पदाहरुको पहिचान गरि त्यसको संरक्षण र प्रवद्र्धन गर्ने अनि त्यसैको जगमा आफ्नो तहलाई पर्यटकीय गन्तब्य को रुपमा बिकास गर्न अनुसन्धानात्मक कार्य गर्ने अनि आर्थिक रुपमा सम्पन्न बनाउने अवसर र चुनौती दुवै छ । स्थानिय तहहरुले चाहने हो भने यो बारेमा आएर अनुसन्धान गरिदिने, योजना बनाउन सहयोग गरि दिने र समन्धित अनुसन्धान संस्था र दातृ संस्थाहरुलाई यहाँ ल्याई पुर्याइदिने बिभिन्न व्यक्ति र संस्थाहरु छन् । तर तिनको पहिचान गरि आफ्नो प्रतिबद्धता उनीहरु समक्ष ब्यक्त गर्नु पर्यो । अनि इक्षा शक्ति परिदर्शन गरेर काम गर्नु पर्यो । यसको लागि उनीहरुलाई घचघच्याउने,दबाब दिने,उत्प्रेरित गर्ने र सल्लाह सुझाब दिने हाम्रो जिम्मेबारी रहेको छ ।
छाउपडी जस्ता नकारात्मक कुरासंग जोडिएर यो जिल्लाको अत्यन्त धेरै प्रचार भएको छ तर त्यसको तुलनामा यहाँ रहेका सम्पदा र सम्भाबनाहरुको बारेमा खासै प्रचार प्रसार भएको पाइन्दैन । यो समन्धमा यहाँका संचारकर्मी, बुद्धिजिबिहरु र नीतिनिर्माण तहमा पुगेका व्यक्तिहरुको ध्यान जानु पर्ने देखिन्छ ।



Leave a comment

Your email address will not be published.


*