छाउपडी गोठमा महिलाको मृत्यु

छाउपडी गोठमा महिलाको मृत्यु

पुस २४, २०७४ रासस  अछाम — अछामको तुर्माखाँद गाउँपालिका वडा नं ३ भैरवस्थानमा आइतबार राति महिनावारी भएको बेला घरदेखि टाढा छाउपडी गोठमा सुतेकी २२ वर्षीया एक महिला मृत अवस्थामा फेला परेकी छन् । वीरेन्द्र बुढाकी श्रीमती गौरी बुढाको छाउपडी गोठमा एक्लै सुतिरहेको अवस्थामा गएराति मृत्यु भएको परिवारले जानकारी दिएको छ ।

मृतक बुढा तुर्माखाँदस्थित कालिकेश्वरी माविमा कक्षा ११ मा अध्ययनरत रहेको बुझिएको छ । बेलुकीपख खाना खाएर सुतेकी गौरी बिहान अबेरसम्म नउठेको र ढोका फोरेर हेर्दा मृतावस्थामा भेटिएको मृतकका ससुरा डम्बरबहादुर बुढाले जानकारी दिए । मृत्यु हुनु अघिल्लो दिनभर मेलामा खर काटेको र उनी बिरामी नभएको बुढाले जानकारी दिए ।

नेपाल प्रहरीमा जागिरे मृतकका श्रीमान् काठमाडौँबाट फर्केपछि मात्र उनको मंगलबार दाहसंस्कार गरिने परिवारले जानकारी दिएको छ । महिला तथा बालबालिका कार्यालयले सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालन गरेको छाउपडी प्रथा निवारण परियोजनाले भैरवस्थान गाविसलाई दुई वर्ष पहिले छाउपडी गोठमुक्त घोषणा गरेको हो । गत वर्षमात्रै पनि तिमिल्सेनमा डम्बरा उपाध्याय र गाज्रामा रोशनी तिरुवाको छाउपडी गोठमै सुतिरहेको अवस्थामा ज्यान गएको थियो ।

प्रतिक्रिया