समुदायकै सहभागितामा विकास योजना

समुदायकै सहभागितामा विकास योजना


दैलेख, पुस २८ – जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले समुदायकै सहभागितामा विकास योजनाको प्राथमिकीकरण गरिनुपर्ने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा दैलेख सदरमुकाममा भएको इएलपी कार्यक्रमको सम्वाद बैठकमा बोल्दै थापाले समुदायमै श्रोत समेत गएकोले समुदायको आवश्यकताको आधारमा योजना छनौट गर्ने सरकारको नीति तथा कार्यक्रम रहेको औल्याएका छन् ।
विकास योजनालाई प्रभावकारी गराउन स्थानीय तहले समन्वय बढाउन पर्ने र समुदायले पनि विकास कार्यक्रम र सररकारी सेवा प्रवाह प्रक्रियामा सहकार्य हुनुपर्ने बताउदै जिल्ला समन्वय समितिका प्रमुख थापाले यस्तो सहकार्यले सुशासन र पारदर्शिता प्रभावकारिता बढ्ने बिश्वास व्यक्त गरे ।
कार्यक्रममा नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले इन्सेकको मानवअधिकार प्रवद्र्धन अभियानलाई शिक्षा, स्वास्थ्य र कृषिको विकास तथा सेवा प्रवद्र्धनमा बढावा दिएकोमा धन्यवाद दिंदै पहिचान भएका स्थानीय आवश्यकताहरु समयमा प्राप्त भए नगरपालिकाको योजनामा समावेश गर्ने प्रतिवद्धता गरेका छन् ।
त्यसबखत जिल्ला शिक्षा कार्यालयका नासु हरी खत्रीले शैक्षिक गुणस्तर सुधारका लागि आफूहरुले तत्परता जनाइरहेको उल्लेख गर्दै समयमा आउने सुझाव र सूचनाका आधारमा शिक्षण सिकाई र व्यवस्थापकीय सुधारका लागि अझै प्रभावकारिता बढाइने बताए ।
जिल्ला स्तरीय मानवअधिकार निगरानी समूहका संयोजक ज्योती कटुवालको अध्यक्षतामा भएको सम्वाद बैठकमा इएलपी कार्यक्रम अन्तरगत गठित मानवअधिकार निगरानी समूह, बालअधिकार चेतना समूह र युवा समूहका प्रतिनिधिहरुले समुदायका स्थानीय आवश्यता र त्यसका आधारमा बनाइएका कार्ययोजना कार्यान्वयनमा सघाउन स्थानीय तहका जनप्रतिनिधिहरुसंग आग्रह गरेका थिए ।
समुदायको आवश्यकताका आधारमा बनाइएका कार्ययोजना र स्थानीय तहसंगको अपेक्षा बारे मानवअधिकार निगरानी समूहकी संयोजक पार्वती खत्री, मानवअधिकार निगरानी समूह डुंगेश्वरकी संयोजक पिपला शाही, सरस्वती मावि तर्ताङ्गकी छात्रा सुनिाता बिक, त्रिबेणी मावि चुप्राकी छात्रा सिर्जना भण्डारी लगायतले विचार राखेका थिए ।

प्रतिक्रिया