लक्षितवर्गका कार्यक्रम प्रभावकारी बनाइने

लक्षितवर्गका कार्यक्रम प्रभावकारी बनाइने

दैलेख, पुस २९ – डुंगेश्वर गाउँपालिकाका उपाध्यक्ष सीता ज्ञवालीले सरकारले निर्दिष्ट गरेको मापदण्ड अनुसार लक्षित वर्गका कार्यक्रमहरुलाई अझ बढी प्रभावकारी बनाउने प्रतिवद्धता जनाएकी छिन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा डुंगेश्वर बजार शनिवार भएको सेवाप्रदायक र सेवाग्राहीबीचको समन्वय अन्तरक्रिया कार्यक्रममा उनले प्रतिवद्धता जनाएकी हुन् ।
वडा र बस्ती स्तरका योजना छनौट प्रक्रियाको बेला नै महिला, दलित, अपाङ्ग, जेष्ठ नागरिक र बालबालिका लक्षित कार्यक्रमहरु प्रस्तावित गरी पठाए मात्र योजनामा पार्न सकिने प्रक्रियागत बाध्यता बारे उपाध्यक्ष ज्ञवालीले प्रष्ट्याइन् ।
त्यसबखत डुंगेश्वर गाउँपालिका वडा नं. ६ का वडा सदस्य तुलसीप्रसाद आचार्यले इन्सेकको इएलपी परियोजना अन्तरगत गठित मानवअधिकार निगरानी समूह, बालअधिकार चेतना समूह र युवा समूहले बनाएका कार्ययोजनालाई सघाउन वडा कार्यालय तत्पर रहेको बताए ।
वडा नं. १ की वडा सदस्य कमला केसीले गाउँपालिकाका उपाध्यक्ष र हरेक वडामा २ जना महिला सदस्य निर्वाचित भई आएको कारण महिला क्षेत्रमा विकास कार्यक्रम प्राथमिकता पार्न आफूहरु जुटिरहेको जनाइन् ।
अन्तरक्रिया कार्यक्रममा बालबालिका, जेष्ठ नागरिक, दलित, महिला र अपाङ्गता भएका वर्ग समुदायका लागि आएको बजेट तथा कार्यक्रम लक्षित वर्गका पनि अतिविपन्नलाई पु¥याउनुपर्ने र गाउँपालिकाका सबै वडामा समान रुपमा बाँडफाँड गरिनुपर्ने विषयमा जिज्ञासा, प्रश्न र सेवा प्रवाहमा नागरिक समाजका प्रतिनिधि तथा सर्वसाधारण सरलता ल्याउन सुझाव दिएका थिए ।
उठेका प्रश्न, सुझाव र प्रतिक्रियालाई सम्वोधन गर्न साझा प्रतिवद्धता समेत पारित गरिएको छ । विकास बजेट समान बितरण र इएलपी कार्यक्रमले वकालत गर्दै आएको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको विकास तथा सेवा प्रभावलाई गाउँपालिकाले सघाउने प्रतिबद्धतामा उल्लेख छ ।
साझा प्रतिबद्धतामा डुंगेश्वर गाउँपालिकाका उपाध्यक्ष सीता ज्ञवाली, वडा नं. १ का वडासदस्य कमला केसी, वडा नं. ६ का वडासदस्य तुलसीप्रसाद आचार्य, मानवअधिकार निगरानी समूह डुंगेश्वरका संयोजक पिपला शाही, बेलपाटाकी संयोजक पार्वती खत्री, युवा समूहकी संयोजक मनीषा केसीले दस्तखत गरेकी छिन् ।

प्रतिक्रिया