दैलेखमा सबै उम्मेदवारहरुले बुझाए चुनावी खर्च विवरण

दैलेखमा सबै उम्मेदवारहरुले बुझाए चुनावी खर्च विवरण

३९ जना उम्मेदवारको चुनावी खर्च १ करोड ४२ लाख

दैलेख ३० पौष- गत मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि दैलेखबाट निर्वाचन लडेका उम्मेदवारहरुले चुनावी खर्च विवरण बुझाएका छन् । दुई वटा प्रतिनीधि सभा निर्वाचन क्षेत्र र चार वटा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र रहेको दैलेखमा ३९ जनाले उम्मेदवारहरुले निर्वाचन लडेका थिए ।

निर्वाचन लडेका सबै उम्मेदवारहरुले चुनावी खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय दैलेखले जनाएको छ । निर्वाचन परिणाम सार्वजनिक भएको ३५ दिनभित्र उम्मेदवारले आफूले चुनावमा गरेको खर्चको विवरण निर्वाचन आयोगलाई बुझाउनुपर्ने कानुनी प्रावधान अनुसार दैलेखबाट चुनाव लडेका ३९ जना उम्मेदावरहरुले समय सिमा भित्रै चुनावी खर्च विवरण बुझाएको निर्वाचन कार्यालय दैलेखले जनाएको छ ।
उम्मेदवारहरुले जिल्ला निर्वाचन कार्यालय दैलेखमा बुझाएको चुनावी खर्च विवरण अनुसार दैलेखबाट प्रतिनीधि सभा सदस्य तथा प्रदेश सभा सदस्यमा चुनाव लडेको कुल ३९ जना उम्मेदवारहरुले १ करोड ४२ लाख १५ हजार ३ सय ४९ रुपैयाँ खर्च गरेका छन् । निर्वाचन लडेको सबै उम्मेदवारहरुले निर्वाचन आयोगको खर्च सिमा भित्र रहेर खर्च गरेको निर्वाचन कार्यालय दैलेखले जनाएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभाका लागि २५ लाख र प्रदेशसभातर्फका उम्मेदवारका लागि १५ लाखसम्म खर्च गर्ने अधिकार दिएको थियो । जस अनुसार दैलेखबाट निर्वाचन लडेका सबै उम्मेदवारले आयोगको क्षेत्राधिकार भन्दा बढी खर्च गरेको विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय दैलेखका निर्वाचन अधिकारी भक्त बहादुर कार्कीले जानकारी दिएका छन् ।
सबैभन्दा बढी खर्च शाहीले गरे
दैलेख निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनीधि सभा सदस्य पदका लागि उम्मेदवार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक कुमार शाहीले सबै भन्दा बढी खर्च गरेका छन् । जिल्ला निर्वाचन कार्यालय दैलेखमा शाहीले बुझाएको खर्च विवरण अनुसार निर्वाचन अवधीभर २१ लाख ७५ हजार ५ सय रुपैयाँ खर्च गरेका छन् । करिब एक महिनासम्म निर्वाचन प्रचार–प्रसारमा व्यस्त बनेका शाहीले सबैभन्दा बढी रकम खर्च गरेका हुन् । नेकपा एमाले दैलेखका जिल्ला अध्यक्ष समेत रहेका रविन्दराज शर्माले निर्वाचन अवधीभर १८ लाख ४८ हजार ४ सय ६५ रुपैयाँ खर्च गरेका छन् । उनि दैलेख क्षेत्र नं. १ बाट प्रतिनीधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

क्षेत्र नं. २ बाट प्रतिनीधि सभा सदस्यमा निर्वाचित राज बहादुर बुढाले १० लाख ९६ हजार १ सय रुपैयाँ खर्च गरेको विवरण बुझाएका छन् । यसैगरि क्षेत्र नं. २ बाट प्रतिनीधि सभा सदस्यका लागि निर्वाचन लडेका नेपाली कांग्रेसका शिवराज जोशिले ११ लाख ९३ हजार रुपैयाँ खर्च गरेको विवरण निर्वाचन कार्यालयमा बुझाएका छन् ।
यस्तै क्षेत्र नं. १ प्रदेश (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित अम्मर बहादुर थापाले १३ लाख २९ हजार ३ सय ६० रुपैयाँ खर्च गरेको विवरण जिल्ला निर्वाचन कार्यालय दैलेखमा बुझाएका छन् भने प्रदेश (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य धर्मराज रेग्मीले ३ लाख ९२ हजार ८ सय ५० रुपैयाँ खर्च गरका छन् । क्षेत्र नं. १ को प्रदेश (क)बाट निर्वाचन लडेका नेपाली कांग्रेसका जगतजंग थापाले १ लाख १५ हजार रुपैयाँ मात्रै खर्च गरेको विवरण जिल्ला निर्वाचन कार्यालय दैलेखमा बुझाएका छन् भने प्रदेश (ख)बाट चुनाव लडेका कृष्ण कुमार विसीले २ लाख ५५ हजार रुपैयाँ खर्च गरेको विवरण बुझाएका छन् । उनि नेपाली कांग्रेस दैलेखका जिल्ला सभापति समेत हुन् ।
क्षेत्र नं. २ को प्रदेश (क)बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका शुसिल कुमार थापाले ६ लाख ८ हजार ९ सय रुपैयाँ खर्च गरेको विवरण बुझाएका छन् भने प्रदेश (ख)बाट प्रदेश सभा सदस्यमा निर्वाचित राज बहादुर शाहीले ६ लाख ५० हजार ३ सय ५० रुपैयाँ खर्च गरेको विवरण बुझाएको निर्वाचन कार्यालय दैलेखले जनाएको छ ।

यस्तै क्षेत्र नं. २ को प्रदेश (क) बाट चुनाव लडेका नेपाली कांग्रेसका मधुविक्रम खनालले ७ लाख ६४ हजार ५ सय तथा प्रदेश (ख) बाट चुनाव लडेका नेपाली कांग्रेसका दिक्पाल कुमार शाहीले ७ लाख ५६ हजार ५ सय रुपैयाँ खर्च गरेको विवरण बुझाएका छन् । दैलेखबाटठ चुनाव लडेका ३९ उम्मेदवारहरु मध्ये क्षेत्र नं. १ बाट प्रतिनीधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका गणेश बहादुर खड्काले सबै भन्दा कम खर्च गरेको विवरण बुझाएका छन् । जिल्ला र्विाचन कार्यालय दैलेखमा खड्काले बुझाएको खर्च विवरण अनुसार निर्वाचन अवधीभर जम्मा २५ हजार रुपैयाँ मात्रै खर्च गरेका छन् ।

प्रतिक्रिया