निर्वाचन अधिकृतको प्रदेश कार्यालय स्थापना

सुर्खेत-राष्ट्रियसभा सदस्य निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै निर्वाचन अधिकृतको प्रदेश कार्यालय स्थापना गरिएको छ। आगामी माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ६ नम्बर प्रदेश अन्तरगत सुर्खेतको वीरेन्द्रनगरमा शनिबार निर्वाचन अधिकृतको प्रदेश कार्यालय स्थापना गरिएको हो।
स्थानीय तह, प्रतिनिधि र प्रदेशसभाको निर्वाचन सम्पन्न भएसँगै निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचन सम्पन्न गर्न प्रदेशस्तरमा कार्यालय स्थापना गरेको हो।
निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी सीताराम कार्की र
निर्वाचन अधिकृत मेदेनीप्रसाद पौडेल। तस्विर-डिलप्रसाद शर्मा
कार्यालयको उद्घाटन गर्दै जिल्ला न्यायधीस एवम् राष्ट्रियसभा निर्वाचनका ६ नम्बर प्रदेशका निर्वाचन अधिकृत मेदेनीप्रसाद पौडेलले विगतका निर्वाचन जस्तै शान्त वातावरणमा सम्पन्न गर्न सरोकारवालाहरुको सहयोग आवश्यक रहेको बताए।
उनले संविधानको कार्यान्वयनका लागि राष्ट्रिय सभाको निर्वाचनले महत्वपूर्ण रहेको उल्लेख गरे। निर्वाचन कार्यतालिका अनुसार मतदाता नामावली प्रकाशन र नामावली उपर दावी विरोधको उजुरी आगामी माघ ७ गते लिइने छ।
यस्तै, ८ गते अन्तिम नामावली प्रकाशन, १० गते उम्मेदवारको मनोनयन दर्ता र सूची प्रकाशन गरिने छ। उम्मेदवारको विरोधमा कार्यालयले उजुरी ११ गते लिने जनाएको छ। यस्तै, माघ १३ गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, १४ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने र उम्मेदवारी फिर्ता लिनेछ।
अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार माघ १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र निर्वाचन चिन्ह प्रदान गरिने छ। स्थानीय तहका प्रमुख, उप–प्रमुख र प्रदेश सभा सदस्यहरुले मतदान गर्ने पाउने उक्त निर्वाचनबाट ८ जना राष्ट्रिय सभा सदस्यहरु चयन हुनेछन् । निर्वाचनमा ३५ वर्ष पुगेको नेपाली नागरिकले उम्मेदवारी दिन पाउने व्यवस्था छ।
प्रतिक्रिया