चर्चा माथील्लो कर्णाली जलविद्युत आयोजनाको

चर्चा माथील्लो कर्णाली जलविद्युत आयोजनाको

दैलेख माघ ४,
दैलेख जिल्लामा क्रियाशिल पत्रकारहरुसंग माथिल्लो कर्णाली जलबिद्युत आयोजना र आयोजना प्रभावित जिल्लाका विषयमा छलफलका लागि नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइयो) महाप्रसाद अधिकारी सहितको टोली दैलेख आइपुगेको छ । लगानी वोर्डको टोलीले दैलेखका पत्रकारहरु संग दुई दिन सम्म छलफल गर्ने बताइएको छ ।  लगानी वोर्डले दैलेख सदरमुकामका आयोजना गरेको कार्यक्रममा पत्रकार र लगानी वोर्डको टिमले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको विषयमा बृहत छलफल गरेको छ ।
नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइयो) महाप्रसाद अधिकारीले प्रक्रियागत जटिलता र श्रोत व्यवस्थापनको अभावमा जनअपेक्षा अनुसारको गतिमा काम गर्न नसकेको बताएका छन् । लगानी बोर्डले नेपाल सरकारका ठूला विकास कार्यक्रमहरु संयोजन गर्न जिम्मेवारी बहन गरिहेको प्रष्ट पार्दै उनले बोर्डले माथिल्लो कर्णाली जलबिद्युत आयोजनामा नियमनको काम गरिरहेको बताए ।
कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानले पत्रकारहरुका लागि आयोजना गरिएको यो तालिमले माथिल्लो कर्णाली जलबिद्युत आयोजना र ठूला विकास निर्माण आयोजना बारे समाचार संकलन, उत्पादन र प्रकाशन तथा प्रसारणका लागि प्राविधिक ज्ञान बढाउनेमा बिश्वास व्यक्त गरे ।
तालिम उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष चक्र केसीले पत्रकारहरुका लागि जलबिद्युत आयोजना जस्तो प्राविधिक विषयमा ज्ञान, क्षमता बढाउन तालिम व्यवस्थापन गरिएको बताए । उनले तालिम आयोजना गरेकोमा नेपाल लगानी बोर्डलाई धन्यवाद दिए । नेपाल लगानी बोर्डका बाह्य मामिला इकाई प्रमुख घनश्याम ओझाले समाचारको प्रभावले विकास कार्यक्रमहरु सञ्चालनमा सहयोग वा विरोधको अवस्था सिर्जना गर्ने भएकोले पत्रकारले गलत चाहानामा भ्रम फैलाउने तत्वहरुसंग सजग हुन आग्रह गरे ।

दैलेखमा निर्माण गर्न लागिएको माथिल्लो कर्णाली जलबिद्युत आयोजना, मध्यपहाडी राजमार्ग लगायत नेपाल लगानी बोर्डले ठूला आयोजना सञ्चालन गर्ने प्रक्रिया, विधि, श्रोतको खोजी र यसको प्रभावकारिता विषयमा जिल्लाका पत्रकारहरुसंग छलफल गर्नेछ ।
मुख्य गरी माथिल्लो कर्णाली जलबिद्युत आयोजना निर्माण प्रक्रिया, बिद्युत उत्पादन तथा वितरण योजना, ठूला आयोजनाको निम्ति आर्थिक श्रोतको व्यवस्थापन, प्राविधिक पक्ष, वातावरण तथा सामाजिक प्रभाव, सञ्चार माध्यम र सरोकारवालाको दायित्वको विषयमा छलफल गर्ने कार्यसूची छ । तालिम २ दिन सम्म संचालन हुनेछ ।

प्रतिक्रिया