झोले शिक्षकलाई कार्बाही गर्ने शिक्षक संगठनको निर्णय

झोले शिक्षकलाई कार्बाही गर्ने शिक्षक संगठनको निर्णय

काठमाडौं माघ ४ – एकीकृत अखिल नेपाल शिक्षक संगठन काठमाडौंले दलको झोला बोक्ने तर कक्षाकोठामा नियमित उपस्थित नहुने शिक्षकलाई कार्बाही गर्ने भएको छ ।
बिहिवार काठमाडौंको डिल्लीबजार कन्या माविमा सम्पन्न संगठनको पाँचौं जिल्ला सम्मेलनले नेताको झोला बोक्ने, कक्षाकोठामा नियमित उपस्थित नहुने, शिक्षकको कर्तव्य प्रति इमान्दार नहुने शिक्षकहरुलाई कार्बाही गर्ने निर्णय गरेको हो । कार्बाहीको शुरुवात पहिले संगठनकै सदस्यहरुबाट गर्ने र पछि दायरा बढाउँदै लगिने संगठनले जनाएको छ ।
कार्यक्रममा माओवादी केन्द्रका नेता एवं पूर्व शिक्षामन्त्रीले दिनानाथ शर्माले नेपालको सार्वजनिक शिक्षा माथि चौतर्फी हमला भइरहेकाले देशभक्ति र गणतान्त्रिक शिक्षकहरु त्यसको बचाउमा लाग्नुपर्ने बताए । शिक्षकहरुले असल शिक्षा दिए शिक्षा सुधार हुने र शिक्षा सुधार भएमात्रै मुलुक समृद्ध बन्ने शर्माले दावी गरे ।

सार्वजनिक शिक्षा कमजोर हुँदा शिक्षामा अन्तर्राष्ट्रिय हस्तक्षेप बढेको, दक्ष जनशक्तिको कमी भएकाले सवै मिलेर सार्वजनिक सुधारमा लाग्नुपर्ने शर्माको भनाइ थियो । कार्यक्रममा माओवादी केन्द्रका काठमाडौं जिल्ला संयोजक लेखनाथ न्यौपानेले शिक्षकहरुले बढी राजनीति गरेका, कक्षाकोठामा राम्रो नपढाएकै कारण सार्वजनिक शिक्षा कमजोर बन्दै गएकाले शिक्षकहरु अब गुणस्तरमा केन्द्रित हुनुपर्ने बताए ।

अब शिक्षक नेता आन्दोलनबाट होइन उसको कार्यशैलीबाट छनौट हुनुपर्ने भन्दै न्यौपानेले शिक्षक आन्दोलन कक्षाकोठामा राम्रो पढाएर हुनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष रमेश रुपाखेतीले बामपन्थी शिक्षकहरुको एउटै साझा मञ्च बनाएर एकीकृत रुपमा शैक्षिक विकासमा लाग्नुपर्ने बताए । जनवादी र समाजवादी शिक्षाका लागि शिक्षकहरुकै तहबाट पहल हुनुपर्नै भन्दै रुपाखेतीले अबको शिक्षक आन्दोलन सिकाइ सुधार केन्द्रित हुनुपर्ने बताए ।
नेपाल राष्ट्रिय शिक्षक संगठन काठमाडौंका अध्यक्ष यादव पौडेलले शिक्षकहरुमा अस्थायी, राहत, पिसिएफ, करारलगायतका समस्या रहँदासम्म शिक्षा सुधार नहुने भन्दै पहिले शिक्षकका समस्या समाधान हुनुपर्नेमा जोड दिए । शिक्षकले अधिकार पाएपछि बल्ल कर्तव्यमा मात्रै केन्द्रित हुन सक्ने पौडेलले स्पष्ट पारे ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष शंकर अधिकारीले अहिलेको समयको माग भनेको विगतको जस्तो दलको झोला बोकेर वर्गाीय आन्दोलनमा लाग्ने नभइ शिक्षाको समृद्धिमा लाग्नुपर्ने भएको बताए । ‘हिजो समयको माग त्यही थियो होला तर आन्दोलनको एउटा कोर्स पुरा भइसकेको अवस्थामा अब शिक्षकहरु कक्षाकोठामा केन्द्रित हुनुको विकल्प छैन ।’ अधिकारीले भने ।
शिक्षकहरुलाई कक्षाकोठामा राम्रो प्रस्तुति दिनुबाहेकको अन्य विकल्प नभएको भन्दै एकीकृत अखिल नेपाल शिक्षक संगठनका निर्वतमान अध्यक्ष भीमप्रसाद पोखरेलले संगठनका सदस्यहरुलाई अब दलको झोला बोकेर कक्षाकोठा बिर्सने छुट नभएको स्पष्ट पारे ।

मियाको नेतृत्वमा नयाँ कार्यसमिति

एकीकृत अखिल नेपाल शिक्षक संगठनको पाँचौ जिल्ला सम्मेलनले कमालदीन मियाको नेतृत्वमा ३९ सदस्यीय जिल्ला समन्वय समिति निर्वाचित गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा नानीराम सापकोटा, महिला उपाध्यक्षमा कल्पना पनेरु, उपाध्यक्षहरुमा मचाभाई महर्जन, मधुसुदन रेग्मी र प्रविण न्यौपाने रहेका छन् । त्यस्तै, सम्मेलनबाट सचिवमा कृष्णराज कट्टेल, अर्थ सचिवमा सञ्जिवकुमार सिंह, सहसचिवहरुमा अमृता मजाकोटी, राजु खत्री र जग प्रसाद तिवारी निर्वाचित भएका छन् ।

प्रतिक्रिया