प्रदेश ६ प्रमुख भन्छन्– ‘अभिभावकीय भूमिका निर्वाह गर्छु’

          |   प्रकाशित मितिः शुक्रबार, माघ ५, २०७४     ::: 272 पटक पढिएको   |  

सुर्खेत  प्रदेश ६ को प्रमुखमा नियुक्त दुर्गाकेशर खनालले संविधान र कानुनको परिधिमा रही कुशल अभिभावकीय भूमिका निर्वाह गर्ने बताएका छन् । उनले संविधान र कानुनले तोकेको काम गर्नु नै आफ्नो मुख्य कर्तव्य भएको बताए ।

 ‘संघीय नेपालकै पहिलो प्रदेश प्रमुखजस्तो सम्मानित पद सम्हाल्ने अवसर पाएको छु,’ उनले भने, ‘व्यक्तिगत र दलीय स्वार्थभन्दा माथि उठेर सरकारले दिएको जिम्मेवारी पुरा गर्छु ।’ ६ नम्बर प्रदेशको सम्वृद्धि र विकासका लागि आफूले प्रदेश र केन्द्र सरकारबीच पुलको रुपमा काम गर्ने बताए । ‘पिछडिएको प्रदेशको प्रमुखमा नियुक्त भएको छु । यो अवसरसंगै चुनौती पनि हो,’ खनालले भने ।
सरकारले प्रदेश प्रमुख नियुक्त गरेसंगै खनाललाई घरमै पुगेर बधाई तथा शुभकामना दिनेहरुको भीड लागेको छ । वीरेन्द्रनगर ७ इत्रामस्थित उनको निवासमा बधाई दिन बिहीबार पनि आफन्त/शुभेच्छुकहरुको लस्कर थियो । प्रदेश प्रमुख नियुक्ति लगत्तै प्रहरीले सुरक्षाको बन्दोबस्त मिलाएको छ । प्रहरी हवल्दारसहित दुई प्रहरीले खनालको घरमा सुरक्षा दिइरहेका छन् ।
क्षेत्रीय प्रशासन कार्यालयले प्रमुख प्रमुखको कार्यालय तथा आवासका लागि मध्यपश्चिम क्षेत्रीय तालिम केन्द्र तथा वन निर्देशनालयमा व्यवस्थापन गर्ने तयारी गरेको छ । प्रशासनद्वारा गठित कार्यदलको सिफारिस र प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको अनुमतिमा क्षेत्रीय वन परिसरमा व्यवस्थापन गर्न लागिएको हो ।
कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधनपछि पार्टी राजनीतिमा निष्क्रिय थिए । उनी सुर्खेत कांग्रेसका संस्थापक हुन् । २००३ सालमा सुदुरपश्चिम डोटीको दिपायलमा जन्मिएका खनाल सुर्खेतमै हुर्किए । विद्यार्थी कालदेखि उनको संगत प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग थियो । नेपाल विद्यार्थी संघ गठन हुनुपूर्व काठमाडौं अध्ययनरत सुदुरपश्चिेमली विद्यार्थीहरुको संगठन ‘सुदुरपश्चिमाञ्चल छात्र संघ’का देउवा अध्यक्ष हुँदा उनी उपाध्यक्ष थिए । विपी कोइराला सुन्दरीजल जेलबाट छुटे लगत्तै उनी विपीलाई भेट्न वनारस पुगेका थिए । विपीकै अनुरोधमा २०२८ सालमा उनले सुर्खेतमा कांग्रेसको जिल्ला कमिटी विस्तार गरेका हुन् ।
०३६ देखि ०४८ सालसम्म उनी कांग्रेसको जिल्ला सभापति भए । उनलाई पार्टीले ०४८ सालमा राष्ट्रिय सभा सदस्य बनायो । प्रजातन्त्र प्राप्तिको आन्दोलनमा पटकपटक जेल जीवन बिताएका खनालको स्थानीय राजनीतिमा इमान्दार नेताको परिचय बनाएका थिए । बिए/बिएड अध्ययन पुरा गरेका उनले तत्कालिन पब्लिक हाइस्कूल (अहिलेको जनउच्च मावि) मा प्रधानाध्यापकको रुपमा काम गरेका थिए ।
Kantipur.


Leave a comment

Your email address will not be published.


*