कर्णालीको पहिचान बदल्ने गरी विकासको नयाँ मोडेल लागू गर्छौ

कर्णालीको पहिचान बदल्ने गरी विकासको नयाँ मोडेल लागू गर्छौ

‘कर्णाली मोडेल' कार्यान्वयन प्रतिबद्धता

शपथका लागि हेलिकोप्टर चार्टर

माघ ८सुर्खेत :

प्रदेशसभाका सांसदले विकासको ‘कर्णाली मोडेल’ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रदेश ६ को भूगोल सुहाउँदो, गरिबी र अभावले थिचिएको कर्णालीको पहिचान बदल्ने गरी विकासको नयाँ मोडेल लागू गर्ने उनीहरूको भनाइ छ। आइतबार वीरेन्द्रनगरमा पद तथा गोपनीयताको शपथ खाएपछि यो प्रदेशका सांसदले यहाँको विकास र समृद्धिका लागि मिलेर काम गर्ने बताए।

देशको सबैभन्दा गरिब र भौतिक विकासमा समेत पछाडि रहेको यो प्रदेशको समृद्धिका लागि कुनै कसर बाँकी नराख्ने सांसदहरूको भनाइ छ। कर्णालीको भोक, अशिक्षा, गरिबी र सामाजिक विभेद अन्त्यका लागि विकासको नयाँ ‘कर्णाली मोडेल’ कार्यान्वयनमा ल्याउने प्रदेश सांसदहरूले अठोट गरेका हुन्। ‘कर्णाली अभाव र गरिबीले थलिएको छ, यहाँको विकासबिना प्रदेशको समृद्धि सम्भव छैन’, आइतबार सपथ ग्रहणपछि प्रदेश सांसद विमला केसीले भनिन्, ‘हामी अब कर्णालीको भौतिक विकास र सामाजिक रूपान्तरणमा जुट्नेछौं। यसका लागि विकासको नयाँ कर्णाली मोडेल लागू गर्नेछौं।’ पाँच वर्षको अवधिमा कर्णालीको समृद्धि र विकासको मोडेल हेर्न मान्छेहरू यो प्रदेशमा आउने उनको दाबी छ।

कर्णालीको मुहार फेर्ने गरी प्रदेशसभाले काम गर्ने प्रदेशसभामा हुम्लाबाट विजयी सांसद जीवनबहादुर शाहीले बताए। ‘मैले पद र गोपनीयताको मात्र शपथ खाएको छैन, कर्णालीको मुहार बदल्ने कसम पनि खाएको छु’, उनले भने, ‘तत्काल हुम्ला र डोल्पामा सडक पुर्याउन प्रदेशसभामा आवाज उठाउनेछु। रोजगारीका लागि कर्णालीका जनताले कालापहाड जानुपर्ने बाध्यताको अन्त्यका लागि आवश्यक नीति बनाउन पहल गर्नेछु ‘ शपथलगत्तै सबै सांसदले पाँच वर्षको अवधिमा कर्णालीको समृद्धि र विकासको मोडेल हेर्नलायकको हुने दाबी गरेका छन्।

गर्भवतीले बाटोमै ज्यान गुमाउनुपर्ने बाध्यता रहेको र सडक नहुँदा सुत्केरी गराउन अस्पतालसम्म लैजान सक्ने अवस्था नरहेको सांसद पद्मा खड्काले बताइन्। ‘प्रदेशका अधिकांश स्थानमा सडक पुगेको छैन, म सडक निर्माण र विस्तारको एजेन्डालाई अगाडि बढाउन संसदमा भूमिका खेल्नेछु’, उनले भनिन्। यस्तै प्रदेशसभा सांसद प्रकाश ज्वालाले हालसम्म पछाडि पारिएको प्रदेश ६ सम्भावनाको खानी भएको दाबी गरे। पूर्वाधारमा कमजोर भए पनि स्रोतको धनी रहेकाले समग्र प्रदेशको समृद्धिका लागि एकजुट भएर काम गर्ने उनको प्रतिबद्धता छ। ‘प्रदेश ६ कर्णालीको प्रतिबिम्ब हो, यसको विकास नगरी प्रदेशको विकास हुन सक्दैन। हामी यसका लागि प्रतिबद्ध छौं, जलविद्युत् र जडिबुटीको उत्पादन तथा प्रशोधनबाटै समृद्ध प्रदेश बनाउनेछौं’, उनले भने।

शपथका लागि हेलिकोप्टर चार्टर

प्रदेश ६ का प्रदेश सांसदले हेलिकोप्टर चार्टर गरेर पद तथा गोपनीयताको शपथ लिएका छन्। आइतबार बिहान नेपाली सेनाको हेलिकोप्टर चार्टर गरेर काठमाडौंबाट सुर्खेत पुगेका सांसदले दिउँसो शपथ लिएका हुन्। काठमाडौंमा रहेका २४ जना सांसद र प्रदेश प्रमुख दुर्गाकेशर खनाल समयमै आउन नसकेपछि शपथको कार्यक्रम पनि ढिला सुरु भएको थियो।

हेलिकोप्टरबाट आएपछि आइतबार मात्र प्रदेश प्रमुख खनालले आफ्नो पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गरेसँगै उनले प्रदेशसभाका सांसदलाई पनि पद तथा गोपनीयताको शपथ दिलाएका हुन्। खनालले प्रदेश सभाका ज्येष्ठ सदस्य हिमबहादुर शाहीलाई सपथ दिलाए। जिल्ला समन्वय समितिको हलमा आयोजित समारोहमा शपथ लिएपछि ज्येष्ठ सदस्य शाहीले बाँकी सांसदलाई शपथ दिलाएका हुन्। कार्यक्रममा प्रत्यक्षतर्फका २४ र समानुपातिकतर्फका १६ गरी ४० जना सासंदले शपथ लिएका छन्। Annpurna post.

प्रतिक्रिया