प्रदेश ६ः ‘स्थायी राजधानी सुर्खेत, नाम कर्णाली प्रदेश’

प्रदेश ६ः ‘स्थायी राजधानी सुर्खेत, नाम कर्णाली प्रदेश’

प्रदेश नं. ६ का प्रदेशसभा सदस्यहरुले प्रदेशलाई समृद्ध बनाईछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार वीरेन्द्रनगर नगरपालिकाले आयोजना गरेको प्रदेससभा सदस्यलाई बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरुले त्यस्तो प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा माओवादी केन्द्रबाट निर्वाचित विन्दमान विष्टले आफूहरु स्थानीय र संघीय सरकारसँग सहकार्य गर्दै अघि बढ्ने जानकारी दिए । उनले विगतमा जुनसुकै पार्टीबाट चुनाव लडेर विजयी बनेतापनि अबको बाटो भनेकै ६ नम्बर प्रदेशलाई समुन्नत बनाउने रहेको जनाए ।
प्रदेससभा सदस्य हिमबहादुर शाहीले प्रदेशलाई सबल बनाउन काँग्रेसले कुनै वाधा व्यवधान खडा नगर्ने बताए ।

उनले आफूहरु सरकारमा नरहेपनि सत्तापक्षले गरेका राम्राकामको सदैव सर्मथन गर्ने र सबै दलहरुसँग सहकार्य गर्दे अघि बढ्ने प्रतिबद्धता जनाए । ६ सिट रहेको काँग्रेसले मुख्य मुद्धाका रुपमा विकास निर्माणलाई लगेकाले विकास निर्माणमा काँग्रेस कहिल्यै पछि नहटने उनको संकल्प थियो ।

नेकपा एमालेका नेता तथा प्रदेशसभा सदस्य प्रकाश ज्वालाले अब प्रदेश ६ नभनेर कर्णाली प्रदेश भन्नुपर्ने बताए । उनले भने, ‘सरकारले अस्थायी राजधानी भनेर वीरेन्द्रनगरलाई तोकेपनि यो स्थायी राजधानी नै हो । र प्रदेशको नाम कर्णाली प्रदेश नै रहन्छ । त्यसैले अब कर्णाली प्रदेश भन्न सुरु गरौं ।’ राज्यको मुल प्रवाहबाट कर्णली प्रदेश उपेक्षित भएपनि अब प्रदेश बनाउने जिम्मा आफुहरुको भएको उनले बताए । उनले भने, ‘हामीले गरिवी,भोकमरी, अशिक्षा भयो भनेर गाउनुपर्ने कुनै जरुरी छैन । हाम्रा असिमित प्राकृतिक स्रोत र साधनलाई प्रयोग गरेर आगामी ५ वर्षभित्र नेपालकै धनि, सबल र समृद्ध प्रदेश बनाउन लाग्नेछौं ।’

उनले सबै दल मिलेर समृद्धिको खाका तयार गरिने र त्यसलाई कार्यान्वयन गर्ने जानकारी दिए । उनले भने, ‘यो प्रदेशमा अब कोही सत्ता चलाउने, कोही पिपलचौतारामा विरोध गर्ने हुनेछैनन ।’ यसकालागि सबैदलहरुसँग आफूहरु हातेमालो गर्दै अघि बढने बताए ।
यसैबीच नेता ज्वालाले काँग्रेसलाई पनि सरकारमा आउने आव्हान गरेका छन् । सबै दल मिलेर प्रदेशलाइृ सामाजिक विकृतिरहित, सुशासनयुक्त बनाउनुपर्ने भएको भन्दै उनले यस्तो आग्रह गरेका हुन् ।

नेकपा एमालेका नेता, पूर्वमन्त्री एवम् प्रदेससभा सदस्य यामलाल कंडेलले संघीय सरकारका लागि यो प्रदेशका सबै सदस्य स्थायी प्रतिपक्षको रुपमा रहने बताए । उनले भने, ‘राज्यले जहिल्यै हामीलाई उपेक्षा गरेको छ, हामी आ–आफ्नै दलसँग लडेर मात्रै बढी बजेट पाउन सक्छौं । त्यसैले हामी संघीय सरकारको स्थायी प्रतिपक्ष जस्तै आगामी ५ वर्ष हुनेछौं ।’ नेता कंडेलले वीरेन्द्रनगरमा रहेका केहि संस्थाहरुले सरकारी जमिनको जथाभावी प्रयोग गरेको भन्दै यसबारेमा स्पष्ट धारणा बनाई बढ्दो बेथिति अन्त्य गर्न नगरपालिकालाई आग्रह गरे ।

प्रदेशको राजधानी समेत भइसकेकोले बढ्दो चापलाई थेग्न सक्नेगरी कार्यक्रम बनाउन र शहरलाई शान्त बनाउने तर्फ अग्रसर हुन नगरपालिकालाई सुझाए । यसका साथै उनले शहरमा बढ्दो लागुऔषध र त्यसले बढाएको असुरक्षालाई ध्यानमा राख्दै नगरपालिकलाई विकसित बनाउन आग्रह गरे । यसकालागि प्रदेश सरकार आवश्यक सहयोग गर्न तयार रहेको उनको भनाई थियो ।
कार्यक्रममा प्रदेससभाका अधिकांश सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया