प्रदेश ६ : मुख्यमन्त्रीमा शाहि र भण्डारीको टक्कर

प्रदेश ६ : मुख्यमन्त्रीमा शाहि र भण्डारीको टक्कर

 प्रदेश ६ को मुख्यमन्त्री माओवादीले पाउने सहमति वाम गठबन्धनबीच भइसकेको छ । माओवादी नेताहरू नरेश भण्डारी र महेन्द्रबहादुर शाही मुख्यमन्त्रीका मुख्य दाबेदार छन् । पार्टी नेतृत्वसँग लबिङ गर्न उनीहरू काठमाडौंमै छन् । २१ माघमा प्रदेश सभाको पहिलो बैठक भएकाले अघिल्लो दिन सुर्खेत फर्कने उनीहरूको तयारी छ ।
नरेश भण्डारी र महेन्द्रबहादुर शाही

वाम गठबन्धनको नेतृत्वबीच सहमति भए पनि प्रदेशस्तरमा भने मुख्यमन्त्री निर्वाचित गर्नेबारेमा एमाले र माओवादीबीच संवाद हुन सककोे   छैन् । संवादहीनतका कारण मन्त्रीमण्डल कस्तो बनाउने र क–कसलाई कुन मापदण्डका आधारमा मन्त्री बनाउनेबारेमा छलफल नै हुन सकेको छैन ।

केन्द्रमा पार्टीले मुख्यमन्त्री माओवादीलाई दिने सहमति गरेपछि वाम गठबन्धनभित्र मुख्यमन्त्रीको विषयमा छलफल नभएको एमाले प्रदेश कमिटी सहसंयोजक यामलाल कँडेलले बताए । उनका अनुसार माओवादी नेताहरू अहिलेसम्म मुख्यमन्त्रीका लागि कसरी अगाडि बढ्न सकिन्छ भनेर छलफल गर्न आएका छैनन् ।

अहिले पनि एमालेको प्रदेश कमिटीले मुख्यमन्त्रीको दाबी नछाडेको कँडेलको भनाइ छ । ‘अहिले जे सहमति भएको भन्ने सुनिएको छ, त्यो प्रदेश ६ का लागि अन्यायपूर्ण छ, एमाले एक्लै सरकार बनाउने हैसियतमा छ,’ उनले भने ।

मुख्यमन्त्रीको विषयमा दुई पार्टीले सहमति गरिसकेकाले त्यसैअनुसार प्रदेशमा छलफल हुने माओवादी नेता नरेश भण्डारीले बताए । ‘अहिलेसम्म दुई पार्टीबीच औपचारिक छलफल भएको छैन, अब राष्ट्रिय सभा निर्वाचनपछि छलफल भएर टुंगो लाग्छ,’ उनले भने ।

दुई नेताका दुई शक्ति
ऊर्जामन्त्री बनाउन शाहीलाई महत्वपूर्ण भूमिका खेलेका माओवादी नेता जनार्दन शर्माको साथसहित माओवादीभित्रको पुरानो सैनिक पृष्ठभूमिका नेताहरू महेन्द्रबहादुर शाहीको पक्षमा देखिएका छन् । उनीहरूले अध्यक्ष प्रचण्डलाई प्रदेश ६ को मुख्यमन्त्री बनाउन दबाब दिएका छन् ।

अर्का नेता नरेश भण्डारी पनि प्रचण्डले विश्वास गरेका नेतामा त पर्छन्, तर वैद्य माओवादीबाट भर्खरै आएकाले के गर्ने भन्ने समस्यामा छन् । भण्डारीको पक्षमा महासचिव रामबहादुर थापा बादलले अडान राखेको अवस्थामा मुख्यमन्त्री बन्न सक्छन् । बादलको मान्छे प्रदेश ६ र प्रचण्डको मान्छे प्रदेश ७ मा मुख्य बनाउने गरी माओवादी केन्द्रमा समीकरण बन्ने अवस्थामा भण्डारी प्रदेश ६ को मुख्यमन्त्री हुनेछन् ।

जसरी पनि मुख्यमन्त्री कर्णालीबाट
प्रदेश ६ को मुख्यमन्त्री नरेश भण्डारी वा महेन्द्र शाही जो भए पनि कर्णाली क्षेत्रका हुनेछन् । शाही कालिकोटबाट प्रदेश सभामा निर्वाचित भएका हुन् भने भण्डारी जुम्लाबाट निर्वाचित हुन् । कर्णालीले मुख्यमन्त्री पाउने भएपछि बाँकी रहेका पश्चिम रुकुम, दैलेख, सुर्खेत, सल्यान, जाजरकोटबाट मन्त्री बनाउनुपर्ने तर्क उठेको छ ।

कसका कति मन्त्री
प्रदेश ६ मा जम्माजम्मी ७ सदस्यीय मन्त्रीमण्डल बन्नेछ । प्रदेश ६ सानो प्रदेश भएकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्अन्तर्गतका कार्यदलले तयार गरेको संरचनाअनुसार नै प्रदेश ६ मा ७ सदस्यीय मन्त्रिपरिषद् बन्न लागेको हो । त्यस आधारमा एमाले र माओवादीबीच हुने ७० र ३० प्रतिशतको भागबन्डाअनुसार माओवादीले मुख्यमन्त्री र एउटा मन्त्रालय पाउनेछ भने एमालेले पाँचवटा मन्त्रालय पाउनेछ ।

कस्ता मन्त्रालय बन्दै छन् ?
१) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२) आन्तरिक मामिला तथा कानुन मन्त्रालय
३) आर्थिक मामिला तथा योजना मन्त्रालय
४) भौतिक पूर्वाधार विकास मन्त्रालय
५) सामाजिक विकास मन्त्रालय
६) उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय
७) भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय

मुख्यमन्त्रीका दाबेदार दुई नेताका दुई कमजोरी 

नरेश भण्डारी

१) पार्टी फुटाएको आरोप
माओवादी नेता नरेश भण्डारीमाथि मोहन वैद्य नेतृत्वको पार्टीमा लागेर धोका दिएको आरोप छ । पार्टी फुटाएर जाँदा ०७० को निर्वाचन परिणाममा गम्भीर पराजय भोग्नुपरेको आरोप माओवादीभित्रको एउटा पक्षले उनीमाथि लगाएको छ । भण्डारीकै कारण ०७० को संविधानसभा निर्वाचनमा जुम्लामा पराजित हुनुपरेको उनीहरूको भनाइ छ ।

२) कर्णालीमा केन्द्रित
माओवादीभित्र अहिले भण्डारीमाथि लाग्ने गरेको आरोपमा कर्णालीमा मात्रै केन्द्रित हुने गरेको र जुम्लाको पार्टीलाई समेत सम्हाल्न नसकेको आरोप छ । जुम्लाको पार्टी कमिटी भण्डारीको पक्ष र विपक्षमा देखिएपछि उनले जिल्ला नै मिलाउन नसकेकाले आरोप लागेको हो । त्यसमाथि विकासमा कुरामा पनि भण्डारीले कर्णाली त्यसमा पनि जुम्लामा केन्द्रित गर्ने गरेको आरोप छ ।

महेन्द्रबहादुर शाही
१) सानो गुटमा रमाउने
महेन्द्रबहादुर शाहीमाथि पार्टीभित्रको सानो टिममा रमाउने र बढी गुटबन्दी गर्ने आरोप छ । आफूअनुकूलको टिम बनाउने र त्यसै सुझाब–सल्लाहमा मात्रै चल्ने गरेकाले पार्टीको समग्र पक्षमा शाहीले ध्यान नदिने गरेको एकथरीको आरोप छ । त्यसमा पनि माओवादीको सैनिक पृष्ठभूमिका व्यक्तिलाई बढी साथ लिने गरेका छन् ।

२) घमण्डीपन बढी
स्थानीय माओवादी नेताहरूको भनाइमा शाहीमा ठकुरीपन हाबी छ । एकातिर सैनिक पृष्ठभूमि अर्कातिर ठकुरीको जातीय दम्भले शाही पार्टीभित्र ठूलो घेरामा पुग्न नसकेको माओवादी नेताको भनाइ छ ।

के भन्छन् मुख्यमन्त्रीका दाबेदार

संसदीय अभ्यासमा पुरानो भएकाले मेरो दाबेदारी

नरेश भण्डारी, मुख्यमन्त्रीका दाबेदार

तपाईंको मुख्यमन्त्रीमा दाबेदारीका आधार के–के हुन् ?
पार्टीको निर्णयअनुसार नै प्रदेश ६ मा मुख्यमन्त्री निर्वाचित हुनेछ । वाम गठबन्धनअनुसार प्रदेश ६ मा मुख्यमन्त्री माओवादीले पाउने भइसकेको छ । तर, पार्टीभित्र कसले पाउने भन्ने निर्णय भइसकेको छैन । स्वाभाविक रूपमा मेरो दाबी छ । मेरो नाममा निर्वाचनभन्दा पहिला नै मुख्यमन्त्रीका लागि अनौपचारिक सहमति भएको थियो । साथै, अहिलेको संसदीय अभ्यासमा पनि म पुरानो नै भएकाले स्वतः दाबेदारी हो ।

मुख्यमन्त्री भएपछि तपाईंले प्राथमिकतामा राख्ने मुद्दा के–के हुन् ?
कर्णालीको विकासका लागि मैैले लामो समयदेखि अध्ययन–अनुसन्धान गर्दै आएको छु । त्यस आधारमा कर्णालीलाई मौलिक मोडेलमा विकास गर्नुपर्छ भन्ने छ । यो प्रदेशको विकासका लागि मैले निकै संघर्ष गरेको छु र परिणामा पनि देखिएको छ । त्यसका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनालाई लिन सक्नुहुन्छ । उक्त प्रतिष्ठान बनाउन के–कस्तो भूमिका रह्यो र अहिले त्यसले कति प्रगति गरेको छ सबैको नजरमा छ । त्यसकारण मसँग प्रदेश ६ को विकासका लागि प्रस्ट खाका, भिजन र कार्यक्रम छ । यो क्षेत्रको जलस्रोतको उपयोग, पर्यटनको विकास, भूउपयोगका साथै जडीबुटीको विकासमा जोड दिनेछु । अनि पहिचानसहितको जिल्लाका रूपमा विकास गर्नेछु । जडीबुटी, पर्यटन, कृषि उपार्जनलगायत क्षेत्रलाई सम्बोधन गर्ने गरी ती जिल्लाको पहिचानसहितको सहरको विकासमा जोड दिनेछु । यसका लागि सडक सञ्जालको विस्तार गरिनेछ।

प्रदेश ६ को विकासको मोडेल के हो त ?
विकासको मूल र समृद्धिको सूर्योदय प्रदेश ६ बाट हुनुपर्छ भन्ने मान्यतासहित हामी काम गर्ने तयारीमा छौँ । र त्यो विकासको मोडेल मौलिक हुनेछ । हाम्रो अहिलेसम्मको विकासको मोडेलले कर्णालीसहित यो प्रदेशलाई दुःखका कथामा मात्रै देखायो । गरिबी र असमानताको खाडल सिर्जना ग¥यो । अबको २० वर्षपछि दुःखको होइन सुखको कथा लेख्ने वातावरण बनाउने गरी विकासको गुरुयोजना बनाउनेछौँ ।

पार्टी र देशलाई दिएको योगदान मेरो आधार

महेन्द्रबहादुर शाही, मुख्यमन्त्रीका दाबेदार

तपाईंले मुख्यमन्त्रीमा दाबी गर्नुका आधार के–के हुन् ?
१० वर्षको जनयुद्धमा खेलेको भूमिका, त्यसपछिको चार वर्ष शान्ति–प्रक्रियालाई टुंगो लगाउन ब्यारेकमा बिताएको जीवन र ०७० पछिका चार वर्ष संविधान लेखन प्रक्रियामा खेलेको भूमिकालाई प्रदेशको विकासमा सदुपयोग गर्नुपर्छ भनेर प्रदेशमा आएको हुँ । पार्टीले अहिलेसम्म निर्णय गरिसकेको छैन । पार्टीको निर्णयअनुसार नै मुख्यमन्त्रीको नियुक्त हुने हो । मुख्यमन्त्रीको स्वाभाविक दाबेदार हो, तर भोलि मुख्यमन्त्री नभएको अवस्थामा पनि ४० जना प्रदेश सभा सदस्यको टिममै रहेर प्रदेशको विकासमा लागिपर्नेछु ।

तपाईं मुख्यमन्त्री हुदाँ के–के विषयमा जोड दिनुहुन्छ ?
यो प्रदेशको जिआइएस गरेर विकासको गुरुयोजना बनाउनुपर्नेछ । भूगोल धेरै जनसंख्या थोरै र प्राकृतिक सम्पदा अत्यधिक भएको क्षेत्र हो । त्यसकारणले यो क्षेत्रको विकासका लागि कृषि, जडीबुटी, पर्यटन, जलस्रोतको विकासमा जोड दिनेछु । यस क्षेत्रको उत्पादनअनुसार शिक्षा क्षेत्रको विकास गरी जनशक्ति उत्पादन गरिनेछ । पर्यटनको सम्भावना भएको मानसरोवरदेखि रारा, शे–फोक्सुन्डो, कर्णाली नदीमा र्याफ्टिङ गराउनेसम्मका योजना बनाउन सकिन्छ । भूगोल धेरै भएको क्षेत्र भएकाले पशुपालनमा खसी, च्याङ्ग्रा, चौरीपालनमा जोड दिइनेछ । चुनढुंगा, ग्यास, तामा, सुनखानीहरूको उत्खनन र प्रशोधन गरिनेछन् । सडक सञ्जाल र विद्युत् सबै क्षेत्रमा पुगेको छैन्, त्यसलाई पनि प्राथमिकतामा राखिनेछन् ।

प्रदेश ६ को विकासको मोडेल के हो त ?
यो क्षेत्रको विकासका लागि हामीले एकीकृत नमुना बस्तीको मोडेलको परिकल्पना गरेका छौँ । विकट भूगोल भएकाले बस्तीहरू टाढा अनि सानो–सानो छ । त्यसलाई केन्द्रीकृत गरी विकासको मोडेल तयार गर्नेछौँ । अनि जिल्लामा हुने उत्पादनका आधारमा जिल्लाको विशेष पहिचान कायम गरिनेछन् ।

काठमाडौंतिरै मुख्यमन्त्रीका दाबेदार

माओवादीबाट मुख्यमन्त्रीको दाबेदार नरेश भण्डारी र महेन्द्रबहादुर शाही काठमाडौंतिरै छन् । पार्टीले निर्णय गरेअनुसार दुईमध्ये एक मुख्यमन्त्री हुने भएकाले उनीहरू नेतालाई प्रभावमा पार्न काठमाडौंमा बसेको चर्चा सुर्खेतमा छ । २१ माघमा पहिलो अधिवेशन भएकाले अघिल्लो दिन सुर्खेत आउने भण्डारी र शाहीले जानकारी दिए ।

कस्तो बन्दै छ मुख्यमन्त्रीको कार्यालय

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुरानो क्षेत्रीय प्रशासनको कार्यालयमा राखिने भएको छ । पहिला क्षेत्रीय प्रशासक बस्ने कोठा नै मुख्यमन्त्रीका लागि तयार गरिँदै छ । मर्मतसम्भारको कार्य भइरहेको छ । ‘धेरै मर्मतसम्भार गर्न नपर्ने भएकाले एक दिनमै तयार गर्न सकिन्छ,’ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सुरेश प्रधानले भने ।

मुख्यमन्त्रीका लागि करिब १२ जनाको सचिवालय अटाउने कोठासहित कार्यालय तयार हुँदै छ । गाडीको व्यवस्था भइसकेको छैन । सचिव प्रधानका अनुसार अर्थ मन्त्रालयसँग गाडीको माग भइरहेको छ, तर अहिलेसम्म टुंगो लागेको छैन । सुर्खेतमा भएका गाडी पुराना भएकाले मुख्यमन्त्रीका लागि प्रयोग गर्न सकिने अवस्था छैन ।

नयाँ पत्रिका

प्रतिक्रिया