सुन्दर नगर बनाउने अभियान रोकियो

सुन्दर नगर बनाउने अभियान रोकियो

राज्य पुर्नसंरचनामा गएसंगै गत बैशाष ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचन पछि स्थानीय तहले दुई दशक पछि निर्वाचित जनप्रतिनीधि पाए ।

स्थानीय तहमा नयाँ नेतृत्व आएपछि धेरैले ठानेका थिए, विभिन्न समस्याबाट गुज्रिएको गाउँ तथा नगरमा परिवर्तन हुन्छ । गत पुस दोस्रो साता बाट नारायण नगरपालिकाका १ का वडाध्यक्ष तीर्थनारायण श्रेष्ठले अव्यस्थित टहरा हटाउन पहल गरी त्यसको संकेत पनि दिए । तर, चौतर्फी दबाब आएपछि यसले निरन्तरता भने पाएन ।

दैलेख सदरमुकामका पुराना टहराहरु हटाउने अभियान विचैमा रोकियो । सदररमुकामका मुख्य केन्द्रमा भएका केहि पुरा टहरा र विच सडकलाई प्रभाव पार्ने गरि बनाइएको घरहरु भत्काइएपनि अहिले उक्त अभियान रोकिएको छ ।

सदरमुकाम बजारमा सडकै अवरोध गरी बनेका टहरा तथा अव्यवस्थित संरचना हटाउन नगरपालिकाले थालेको काम राजनीतिक दबाबमा रोकिएको हो । अभियानमा प्रहरी प्रशासन, नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत डोजर लिएर पुग्दा स्थानीय बासी आक्रोसित समेत भए । ‘प्रहरीकै सहयोग लिएर कोसिस गरें तर विरोधले चाहेजस्तो काम अघि बढ्न सकिएन,’ वडा अध्यक्ष तीर्थनारायण श्रेष्ठले समाचारपत्र संग भने ।

स्थानीय प्रशासन नगरपालिका र प्रहरीले सदरमुकामलाई सुन्दर बनाउने अभियान थालेपनि सदरमुकाम जस्ताको तस्तै छ । जथाभावी बनाइएका टहरा र विच सडकमा राखिएका निर्माण सामग्री तथा व्यापारिक समाग्रीले दैलेख बजार कुरूप देखिएको छ । दुई किनारको हस्तक्षेपले मुख्य सडक साँघुरो भएको छ । सुन्दर नगर बनाउने परिकल्पना पूरा गर्न नगरवासीको साथ र सहयोग चाहिएको वडाध्यक्ष श्रेष्ठ बताउछन ।

‘जतिसुकै विरोध र दबाब आए पनि ढिलोचाँडो टहरा हटाउछौं । नगर सुन्दर बनाउने सपना पूरा गछौं,’ उनले भने ‘बजारको मुख्य विवाद भनेकै सडक आसपासका पेटी तथा अस्थायी टहरा हटाउने, ढलको निकासमा अवरोध आउनु हो ।’

जनप्रतिनिधिहरूले निर्वाचित भएको एक महिनामै बजारको स्वरूप परिर्वतन गर्ने प्रतिबद्धता जनाएका थिए । बजारका पसलहरूमा सडक मिचेर राखेका संरचना तथा व्यापारिक सामग्री हटाउन प्रहरीको सहायता लिइए पनि पूरा हुन सकेन । सदरमुकाममा जथाभावी बालुवा, गिट्टी थुपारिएको छ ।

गाडीहरू जथाभावी पार्किङ गरिँदै आएको छ । त्यसैले स्थानीय तहले आँटिलो भएर काम गर्नुपर्ने स्थानीय व्यवसायीहरु बताउछन । ‘बसपार्क छ, प्रयोग हुदैन । दैलेख सदरमुकामका यस अघि पनि यातायात संचालन सम्बन्धि दर्जनौ निणर्यहरु भइसकेका छन् । तर निणर्य काजगमै सिमित बनेका छन् । जथाभावी सडक अतिक्रमण हटाएपछि मात्र बजार खुला र सुन्दर होला,’ उनले भने ।

नगर प्रमुख रत्नबहादुर खडका आफूले नगरवासीको साथ र सहयोग लिएर विकासलाई तीव्रता दिन चाहेको बताउछन । नगरको विकासका लागि आफूले थुप्रै योजना ल्याएको उल्लेख गर्दै खड्काले नगरबासी सबै मिलेर सुन्दर र समृद्ध नगर बनाउनु पर्नेमा जोड दिए ।

प्रतिक्रिया